शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ रंगशालाः १० वर्षमा साढे ९ करोड सकियो, १० प्रतिशत काम 

सिद्धार्थ रंगशालाः १० वर्षमा साढे ९ करोड सकियो, १० प्रतिशत काम 

भैरहवास्थित सिद्धार्थ रंगशालाको काम १० वर्षमा १० प्रतिशत मात्रै भएको छ।
 |  बुधबार, असोज १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०७७

लुम्बिनी– भैरहवास्थित सिद्धार्थ रंगशालाको काम १० वर्षमा १० प्रतिशत मात्रै भएको छ।

क्रिकेट मैदानमा अहिलेसम्म ९ करोड ५९ लाख खर्च भए पनि निर्माणको गति भने अत्यन्तै सुस्त छ। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को न्यूनतम मापदण्डअनुरुपको मैदान बनाउन कम्तीमा ५० करोड रुपैयाँ लाग्ने जनाइएको छ। तर सरकारले हरेक वर्ष थोरैथोरै बजेट छुट्याउँदै आएको छ। 

हरेक वर्ष थोरै बजेट आउने र ससाना काम गर्दा सकिने भएकोले निर्माणमा ढिलाइ भएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले जानकारी दिए। 

२०६८ सालमा एक करोड १९ लाख खर्च गरेर प्याभेलियन भवन बनाइएको थियो। त्यसपछि मैदान सम्याउन तीन वर्ष लाग्यो। 

अहिलेसम्म प्याभेलियन भवनसहित मैदान सम्याउने, तारजाली, ढल व्यवस्थापन, पिच, प्याभेलियन अगाडि टायल बिच्छ्याउने, गार्ड र स्टोर रुम बनाइएको छ। 

२०७५/०७६ मा आएको तीन करोड ५० लाख बजेट समयमा बोलपत्र हुन नसक्दा फिर्ता भएको थियो। 

रंगशालाका लागि चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ छुट्याइएको छ। ११ हजार दर्शक क्षमताको रंगशालाले ६ बिघा क्षेत्रफल ओगटेको छ।
रासस

प्रकाशित: Sep 30, 2020| 08:22 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्