काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानको संख्या वृद्धि गर्न वायुसेवा कम्पनीहरूलाई अनुमति दिएको छ।
यात्रुको चाप बढेपछि भोलि, बिहीबारदेखि लागू हुने गरी प्राधिकरणले हवाई उडानको संख्या बढाउन अनुमति दिएको हो।
यसअघि प्राधिकरणले ५ असोजदेखि सुरु भएको आन्तरिक उडानको लागि सिमित उडान गर्न अनुमति दिएको थियो।
प्राधिकरणले उडान थप्न अनुमति दिएसँगै १८ उडान गर्दै आएको बुद्ध एयरले दैनिक २५ उडान गर्ने भएको छ।
यती एयरलाइन्सले दैनिक १८ उडान गर्न सक्ने छ। यसअघि यतीले ११ उडान गरिरहेको थियो।
त्यसैगरी ६ उडानको अनुमति पाएको श्री एयरले भोलिदेखि दैनिक १२ उडान गर्न पाउने छ।
यसअघि एक, एक उडान गर्दै आएका सिम्रिक र सौर्य एयरलाइन्सले दैनिक दुई, दुई उडान गर्ने भएका छन्।
समिट, तारा र सीता एयरले दैनिक चार, चार उडान गर्न सक्ने छन्। दुर्गम क्षेत्रमा उडान गर्ने यी तीन वायुसेवा कम्पनीले तीन, तीन उडान भर्दै आएका थिए।
आन्तरिक उडान सुरु भएसँगै वायुसेवा कम्पनीहरूले ९० प्रतिशत यात्रु पाएका छन्।