काठमाडौं– ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि हिमालयन बैंकको अगुवाइमा ६ वटा बैंकले लगानी गर्ने भएका छन्।
अपि पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको सो आयोजनामा ६ वटा बैंक तथा वित्तीय संस्थाले पाँच अर्ब १८ करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।
हिमालयन बैंकको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेड सहभागी भई आयोजनाको सह–वित्तियकरण बनाई ऋण प्रवाह गर्ने गरी आइतबार सम्झौता भएको छ।
माथिल्लो चमेलिया निर्माणका लागि ७ अर्ब ४० करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । कुल लागत मध्ये ३० प्रतिशतले हुने रकम अर्थात् २ अर्ब २२ करोड कम्पनीले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गरी २ चरणमा रकम संकलन गर्ने अपि पावर कम्पनीका अध्यक्ष गुरु न्यौपानेले जानकारी दिए ।
अपिले आफ्नो तेस्रो जलविद्युत आयोजनाका रुपमा माथिल्ला चमेलिया जलविद्युत आयोजना निर्माण गर्न लागेको हो । हाल अपि पावरले ८.५ मेगावाट क्षेमताको नौगड गाढ जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना निर्माण गरी राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गरिरहेको छ ।