आइतबार, जेठ २५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • पेट्रोल-डिजेलभन्दा मोबाइल आयात बढी, विद्युतीय गाडी शून्य

पेट्रोल-डिजेलभन्दा मोबाइल आयात बढी, विद्युतीय गाडी शून्य

दुई महिनाको अवधिमा नेपालमा सबैभन्दा बढी आयात गरिने वस्तुको सूचीमा मोबाइल एक नम्बरमा छ। यसअघि आयातको सूचीमा पहिलो नम्बरमा पेट्रोलियम पदार्थ हुन्थ्यो।
 |  शुक्रबार, असोज ९, २०७७
nespernesper

शर्मिला ठकुरी

शर्मिला ठकुरी

शुक्रबार, असोज ९, २०७७

vianetvianet

काठमाडौं– कोभिड–१९ कारण भएको लकडाउन र निषेध आदेशका कारण मोबाइल, ल्यापटप र ट्याब आयातमा भारी वृद्धि भएको छ। चालू आर्थिक वर्षको साउन र भदौमा मात्र १० अर्ब ३० करोड रुपैयाँबराबरका मोबाइल, ल्यापटप र ट्याब भित्रिएको भन्सार विभागको तथ्यांक छ।

साउन र भदौमा ल्यापटप र ट्याबमात्र १ अर्ब ३ करोड २२ लाख रुपैयाँबराबरको आयात भएको छ। त्यसैगरी ९ अर्ब २७ करोड रुपैयाँको मोबाइल तथा मोबाइल एक्सेसरिज आयात भएको छ। 

दुई महिनाको अवधिमा नेपालमा सबैभन्दा बढी आयात गरिने वस्तुको सूचीमा मोबाइल एक नम्बरमा छ। यसअघि आयातको सूचीमा पहिलो नम्बरमा पेट्रोलियम पदार्थ हुन्थ्यो। चालू आवको पहिलो २ महिनामा डिजेल ५ अर्ब ५ करोड ५७ लाख ६४ हजार रुपैयाँ बराबरको आयात भएको छ भने पेट्रोल ३ अर्ब ४० करोड रुपैयाँ बराबरको आयात भएको छ।

साउन र भदौमा सबैभन्दा बढी मोबाइल चीनबाट ५ अर्ब १२ करोड ३८ लाख रुपैयाँ बराबरको आयात भएको छ भने भारतबाट २ अर्ब ५४ करोड ४६ लाख ३० हजार रुपैयाँबराबरको भएको छ।

२ अर्ब २९ करोडको चिनी

National life insurance

चालू आर्थिक वर्षको दुई महिनामा २ अर्ब २९ करोड रुपैयाँ बराबरको चिनी आयात भएको छ। व्यवसायीहरुले चाडपर्वलाई लक्षित गर्दै चिनी आयात बढाएका हुन्। 

साउनदेखि बजारमा चिनी अभाव भएको भन्दै व्यवसायीले चिनी ल्याउन थालेपछि आयात बढेको नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाल बताउँछन्। उनका अनुसार सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पर्याप्त मात्रामा चिनी ल्याउन नसक्दा बजारमा चिनीको अभाव भई कालोबजारी भएकाले निजी क्षेत्रले चाडवाडलाई केन्दित गरी चिनी आयात गर्न थालेका हुन्। पर्याप्त मात्रामा चिनी आयात भएकोले अब मूल्य घट्न सक्ने अग्रवालले बताए।

चाडपर्व नजिकिँदा सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १० हजार र साल्ट ट्रेडिङ कर्पोरेशनलाई २० हजार टन गरी ३० हजार टन चिनी आयातको अनुमति दिएको थियो। दुवै कम्पनीले ठेक्का र ढुवानी प्रक्रियाका कारण ल्याउन ढिलो हुने देखिएपछि निजी क्षेत्रले चिनी ल्याएको हो।

नेपालमा वार्षिक करिब २ लाख ५० हजार टन चिनी खपत हुने गरेको छ। दसैंतिहारको अवधिमा बजारमा माग नियमित परिमाणभन्दा थप २५ हजार टनले बढ्ने अनुमान व्यवसायीहरुले पहिले नै गरेर आयात गर्दा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा चिनीको आयात बढेको हो। 

विद्युतीय गाडीको आयात शून्य

गत आर्थिक वर्षको तुलनामा सवारीसाधन आयात भने आधा घटेको छ। गत आर्थिक वर्ष २०७७–०७८ को साउन र भदौमा १८ अर्ब ४४ करोडको सवारीसाधन तथा तिनका पार्ट्स आयात भएको थियो।

चालू आवको सोही अवधिमा ९ अर्ब ७४ करोडको मात्रै सवारीसाधन तथा तिनका पार्ट्स आयात भएको भन्सार विभागको तथ्यांक छ।
सरकारले चालू आर्थिक वर्षको बजेटमा विद्युतीय सवारीसाधनमा ह्वात्तै कर बढाउँदा व्यवसायीले विद्युतीय गाडी नै आयात गरेका छैनन्। विद्युतीय सवारी बिक्री गर्ने अटो व्यवसायीले करमा पुनरवलोकन नभएसम्म विद्युतीय गाडी नेपाल ल्याएर बिक्री गर्न नसकिने बताउँदै आएका छन्। 

सरकारले चालू आर्थिक बर्षको बजेटमार्फत विद्युतीय सवारी साधनमा शत प्रतिशतसम्म विभिन्न नामका कर लगाउँदा विद्युतीय गाडी आयात गरी नेपालमा बिक्री गर्न नसकिने भन्दै व्यापारीहरुले आयात गरेका छैनन्। गत वर्ष साउन र भदौमा ७०१ वटा विद्युतीय गाडी आयात भएका थिए।

सरकारले आर्थिक ऐनमा नै विद्युतीय गाडीमा पहिला १० प्रतिशतसम्म लगाउँदै आएको भन्सार ४० प्रतिशत बनाएको छ भने पहिला अन्तःशुल्क नलाग्नेमा अहिले विद्युतीय गाडीको सिसि अनुसार ३० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क लगाउने व्यवस्था गरेको छ। व्यवसायीले यसलाई संशोधन गर्न सरकारलाई बारम्बार आग्रह गर्दै आएका छन्। 

प्रकाशित: Sep 25, 2020| 14:55 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्