काठमाडौं– गाेंगबु हत्याकाण्डकी अभियुक्त कल्पना पौडेल मुडभरीलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बिहीबार थुनछेक बहसपछि कल्पनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो। अदालतको आदेशपछि उनलाई कारागार चलान गरिएको छ।
जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले कल्पनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जानकारी दिए।
कल्पनामाथि रोल्पाको रुन्टीगढी गाउँपालिकाका कृष्णबहादुर बोहराको गत साउन २५ गते हत्या गरेको अभियोग लागेको छ।
कल्पनाले कृष्णबहादुरको योजनाबद्ध ढंगले हत्या गरेको भन्दै प्रहरीले उनीविरुद्ध जन्मकैदको मागदाबी लिएर मुद्दा दायर गरेको छ।
बोहरालाई आफ्नै कोठामा बोलाएर कल्पनाले मासु, चिउरा, निद्रा लाग्ने ट्याब्लेट मिसाएर दही तथा रक्सी खान दिएर विभत्स ढंगले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
कृष्णबहादुरको टाउको नभएको शव एक ठाउँमा र टाउको र खुट्टा अर्को ठाउँमा भेटिएको थियो।
शव व्यवस्थापनमा सहयोग गरेको अभियोगमा कल्पनाकी १५ वर्षीया छोरीविरुद्ध पनि प्रहरीले मुद्दा दर्ता गरेको छ।
सम्बन्धित समाचार