बिहीबार, भदौ ११, २०८३

पहाडी र हिमाली जिल्लामा उडान सुरू गर्ने तयारी

सरकारले पहिलो चरणमा काठमाडौंबाट पहाडी र हिमाली क्षेत्रका विमानस्थलमा आन्तरिक उडान गर्ने तयारी गरेको छ।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

काठमाडौं– सरकारले पहिलो चरणमा काठमाडौंबाट पहाडी र हिमाली क्षेत्रका विमानस्थलमा आन्तरिक उडान गर्ने तयारी गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रगति पुस्तिका सार्वजनिक कार्यक्रममा मन्त्री योगेश भट्टराईले यस्तो जानकारी दिएका हुन्।

‘अहिले नै सबै क्षेत्रमा आन्तरिक उडान सुचारु भइहाल्ने स्थिति छैन। देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञाको अवस्था छ,’ उनले भने, ‘तर, मन्त्रालयका तर्फबाट हामीले पहाडी र हिमाली जिल्लाबाट सुचारु गर्न सकिन्छ कि भनेर तयारी गरिरहेका छौं।’

तराईका जिल्लाहरुमा कोरोना भाइरसको संक्रमण बढिरहेकाले त्यहाँ तत्काल खोल्न सक्ने स्थिति भने नरहेको उनले प्रष्ट पारे।

पहाडी र हिमाली जिल्लामा सुचारु गर्ने विषयमा वायुसेवा सञ्चालकहरुसँग छलफल गरेर निष्कर्षमा पुग्ने उनले बताए। मन्त्री भट्टराईले सञ्चालकहरुसँगको छलफलपछि मन्त्रिपरिषद्मा आफूले उक्त प्रस्ताव लैजाने बताए।

‘दसैं, तिहारलगायत चाडबाड नजिक आउँदै छन्। एक ठाउँबाट अर्को ठाउँमा सहज रुपले जान पाउनुपर्छ। त्यसैले हामी छलफल गरिरहेका छौं,’ उनले भने।

उनले सबै क्षेत्रमा आन्तरिक उडान पनि छिट्टै सुरू गरिने विषयमा पनि निर्णय लिइने जानकारी दिए। मन्त्रालयको एक वर्ष कोभिडका कारणले बितेको भन्दै उनले स्थिति सहज भएपछि थप गति लिने बताए। ‘कतिपय काम गर्दा पनि हुन सकेको छैन। कति अपेक्षाहरु प्रतिकूलताका कारणले त्यो ठाउँमा पुग्न सकेनौं,’ उनले भने।

सरकारले १६ भदौबाट निश्चित देशका लागि भने अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरिसकेको छ। पीसीआर परीक्षण सहज हुने देशहरुमा मात्र पहिलो चरणमा उडान अनुमति दिइने छ। विदेशमा अलपत्र रहेका नेपालीहरुको भने चार्टर्ड विमानबाट उद्धार गरिने छ।

सम्बन्धित समाचार :

कहिले खोल्ने आन्तरिक उडान?

प्रकाशित: Aug 25, 2020| 17:12 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्