शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अब डिपार्टमेन्टल स्टोर, क्यासिनो र होटलले पनि विदेशी मुद्रा कारोबार गर्न पाउने

अब डिपार्टमेन्टल स्टोर, क्यासिनो र होटलले पनि विदेशी मुद्रा कारोबार गर्न पाउने

तीनतारेभन्दा माथिका होटल, डिपार्टमेन्टल स्टोर, सरकारी वा गैरसरकारी संस्था र कम्पनीले विदेशी मुद्रा कारोबार गर्न पाउने भएका छन्।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

काठमाडौं– तीनतारेभन्दा माथिका होटल, डिपार्टमेन्टल स्टोर, सरकारी वा गैरसरकारी संस्था र कम्पनीले विदेशी मुद्रा कारोबार गर्न पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली २०६७ लाई संशोधन गरी विदेशी मुद्रा कारोबारमा हदैसम्मको लचकता अपनाएको हो।

तीनतारेभन्दा माथिल्लो तहका होटल, डिपार्टमेन्टल स्टोर र सुपर मार्केटले एक लाख रुपैयाँ तिरेर विदेशी मुद्राको कारोबार लिन सक्ने व्यवस्था विनियमावलीमा गरिएको छ।

यसरी कारोबार गर्न चाहेमा एक लाख रुपैयाँ तिरेर अनुमति लिनुपर्नेछ। यस्तो अनुमति चार वर्षका लागि हुनेछ।

अन्य जुनसुकै मुनाफा आर्जन गर्ने उद्देश्य भएका संघसंस्था, सरकारी निकाय, फर्म कम्पनी वा संस्थाले पनि ५० हजार रुपैयाँ तिरेर कम्तीमा चार वर्षको बैंक ग्यारेन्टी लिई विदेशी मुद्रा कारोबारका लागि इजाजत प्रदान गर्न सक्नेछन्।

विनियमावलीअनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले विदेशी मुद्रा कारोबार गर्न शाखै पिच्छे राष्ट्र बैंकसँग अनुमति लिनरहनु पर्दैन। तीन वर्षसम्म नवीकरण गर्न पनि नपर्ने भएको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सञ्चालन इजाजत दिइसकेपछि शाखैपिच्छे विदेशी मुद्रा कारोबार गर्न अर्को लाइसेन्स लिनुपर्ने व्यवस्था अव्यावहारिक भएको गुनासो बैंकरहरुको छ।

विदेशी मुद्रा कारोबार गर्ने वाणिज्य बैंकहरुले एकमुष्ट पाँच लाख, विकास बैंकहरुले दुई लाख र फाइनान्स कम्पनीले २० हजार रुपैयाँ तिरेपछि जुनसुकै शाखाबाट पनि कारोबार गर्न सक्ने र तीन वर्षसम्म नवीकरण गर्न नपर्ने व्यवस्था विनियमालीमा छ।

क्यासिनोले विदेशी मुद्रा कारोबार गर्ने लाइसेन्स पाउन प्रतिकारोबार वा प्रतिस्थान २५ लाख र शुल्कबापत एक लाख रुपैयाँ राष्ट्र बैंकलाई तिर्नुपर्नेछ । यसको अवधि दुई वर्षको हुनेछ।

आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेलको हकमा प्रति कारोबार वा स्थान १० लाख र नवीकरण शुल्क ५० हजार तिरे पुग्छ।

विनियमावलीमा विदेशी मुद्रा कारोबार गर्ने निकायको निरीक्षणमा जाने अधिकृतहको आचारसंहिता पनि तोकिएको छ।

प्रकाशित: Aug 24, 2020| 11:56 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्