काठमाडौं– राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा ६ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।
विभागले ३ करोड ७३ लाख लाख ६ हजार ९३४ रुपैयाँ बिगो कायम गरी बिगोबराबर जरिवाना असुल उपर र कैद सजायसमेत माग गर्दै मुद्दा दायर गरेको हो।
राजस्व विभागले राजस्व चुहावटमा संलग्न सामान ढुवानीकर्ता नेपाल लजिस्टिकका सञ्चालक राजेन्द्रप्रसाद गुप्ता, बरामद सामानको ट्रक चालक सुनिल कुमार, बाराका रञ्जित कुमार गुप्ताविरुद्ध मुद्दा दायर गरेको छ।
त्यस्तै दिल्ली घर भई हाल ललितपुर महानगरको सनराइज टावर धोवीघाटमा बसोबास गर्ने सृजन शर्मा र उनको नाममा दर्ता भएको पशुपति ट्रान्सपोर्ट सोलुशन नामको फर्मबाट कारोबार गर्ने रजनीश कुमार गुप्ता र राजु थापा भनिने राजेन्द्र थापाविरुद्ध विभागले राजस्व चुहावटको आरोपमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।
प्रतिवादी ६ जनाले भारतीय ट्रकमा फल्स बटम (छुट्टै नदेखिने क्याबिन कोठा) बनाई भारतीय कपडाहरु लुकाई चोरी पैठारी गरी राजस्व चुहावट तथा छली गरेको विभागले जनाएको छ।
उनीहरुले यसअघि पनि पाँच पटक यसैगरी सामान ल्याउने गरेको विभागको अनुसन्धानमा देखिएको विभागका प्रमुख दीर्घराज मैनालीले जानकारी दिए।