साइक्लिङबाट शारीरिक तागत, सन्तुलन र समन्वयमा सुधार हुन्छ।
शारीरिक तन्दुरुस्ती र सकारात्मक सोचको विकासका लागि एउटा उपाय साइक्लिङ हुन थालेको छ। अर्थराइटिस हुनेहरुका लागि त यो आदर्श व्यायाम नै हो।
साइकल चढ्दा तनाव कम हुने, शरीरको अनावश्यक तौल घट्ने, रक्तचाप, मधुमेह लगायतका समस्या नियन्त्रणमा आउने, राति राम्रो निद्रा पर्ने भएकाले पनि नियमित साइकल चढ्नेहरु बढ्न थालेका छन्।
नियमित साइकल चढ्नेमा सरकारी सेवाबाट अवकाश प्राप्त विशिष्ट व्यक्ति, उद्योगी व्यवसायी, पत्रकार, चिकित्सक, वकिललगायत छन्। विभिन्न शारीरिक समस्या भएकाहरु पनि साइकल चढ्न थालेका छन्। फुर्सदको दिन समूह बनाएर लामो दुरीको साइकल यात्रामा निस्कनेहरु पनि छन्।
साइकल चढने पूर्वप्रधानसेनापति
नेपाली सेनाका पूर्वप्रधानसेनापति गौरवशमशेर जबरा साइकलका पारखी हुन्। ६५ वर्षीय राणा सेवामा रहँदा पनि नियमित साइकल चढ्थे।
उनले माउन्टेन बाइक चलाउन थालेको २०४२ सालदेखि हो। त्यतिबेला उनी खरिपाटीमा सेनाको तालिम अधिकृत (मेजर) थिए। जबरा भन्छन्, ‘सेनामा शारीरिक अभ्यास हुन्छ। त्यसका लागि पनि चलाउन थालें।’
केही वर्ष साइकल चढ्न छाडेका उनले दुईतारे जर्नेल (उपरथी) भएपछि फेरि निरतन्रता दिए।
उनी कहिलेकाहीं काठमाडौं बबरमहलस्थित घरदेखि कार्यालयसम्म साइकलमा ओहोरदोहोर गर्थे। विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रमा पनि साइक्लिङ गरेको अनुभव उनको छ।
बलाध्यक्ष रथीमा हुँदा शरीरको तौल बढेपछि साइकल चढ्ने समय बढाएको उनी बताउँछन्।
‘घुँडामा समस्या थियो। तौल अस्वाभाविक बढेको थियो। दौडन र मर्निङवाक गर्न त्यति मन लाग्थेन,’ उनी भन्छन्, ‘साइक्लिङ सहज हुने भएकाले मैले निरन्तर गर्न थालेको हुँ।’
उनी काठमाडौं उपत्यकाभित्र भक्तपुर, भंैसेपाटी, गोकर्ण, नेपालटार क्षेत्रमा साइकल चलाउँछन्।
दैनिक १५ देखि २० किलोमिटर साइक्लिङ गर्ने राणा भन्छन्, ‘स्वस्थ हुन र प्रदूषणबाट बच्न पनि साइकल यात्रा लाभदायक हुन्छ।’
साइक्लिङलाई पर्यटन व्यवसायसँग जोड्नुपर्ने उनको सुझाव छ।
डियर एन्ड गियरका १२ सदस्य
सञ्चारकर्मी प्रकाश लामिछानेले बाल्यकालदेखि नै साइकल चलाउन थालेका हुन्। अचेल भने फिटनेसका लागि नियमित साइक्लिङ गर्छन्।
उनी ‘डिएर एन्ड गियर’ समूहमा आबद्ध छन्। नियमित रूपमा साइकल चढ्ने त्यो समूहमा विभिन्न पेसा व्यवसायमा आबद्ध १२ जना छन्।
‘साइकलले प्रदुषण गर्दैन, स्वच्छ हावामा साइकल चलाउँदा ऊर्जा मिल्छ। मुख्य कुरो त शरीर तन्दुरुस्त बनाउनै हो’, उनले भने। सहरमा साइकलको रुट नहुँदा भने यात्रा जोखिम पूर्ण रहेको उनको अनुभव छ।
उनको समूह दैनिक २०/२२ किलोमिटर यात्रा साइकलमै गर्छ। शनिबार भने अझ लामो यात्रा गर्ने लामिछाने बताउँछन्। त्यसदिन उनीहरू अफरोड क्षेत्रमा साइक्लिङ गर्छन्।
काठमाडौं उपत्यकामा करिब पाँच हजार मानिस शारीरिक अभ्यासकै लागि साइक्लिङ गर्ने उनको अनुमान छ।
सरकारले साइकल लेन व्यवस्थित गर्ने हो भने ट्राफिक जामको समस्या पनि न्यून हुने उनी बताउँछन्। भन्छन्, ‘सडकमा पैदल यात्रु, साइकल लेन र गाडीको अलग–अलग रुट बनाउन सके साइक्लिङ गर्नेको संख्या बढ्छ।’
साइकल चढेर रोग घटाउँदै डाक्टर
नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनौडिया पनि डेढ वर्षदेखि साइकल चलाएरै शारीरिक अभ्यास गरिरहेका छन्।
‘हामी बिहान सधैं समूहमा मर्निङवाक गथ्र्यौं। एकदुईजना साथीले साइकल चढ्न थाले,’ ६७ वर्षीय कनौडा भन्छन्, ‘बिस्तारै हामी सबैले साइकल चलाउन थाल्यौं। मर्निङवाक भन्दा धेरै राम्रो लाग्न थाल्यो।’
उनको समूह बिदाका दिन साइकल चढेर नेपालगन्जदेखि बर्दियाको ठाकुरद्वारासम्म पुग्ने गरेको छ।
अचेल दैनिक १५/२० किलोमिटर साइक्लिङ गरिरहेकोे उनले बताए। ‘शरीर दुःख्ने, जोर्नी र खुट्टामा समस्या भएकाका लागि साइकल चढ्नु लाभदायक हुन्छ’, उनले भने, ‘साइकल चलाएर अभ्यास गर्दा शरीरमा ऊर्जा थपिन्छ।’
उनलाई सुगर र रक्तचापको समस्या छ। नियमित औषधि खान्छन्। ‘तर नियमित साइक्लिङ गर्ने भएकाले नियन्त्रण छ। असहज हुँदैन,’ कनौडिया भन्छन्।
वजन घटाएका केसी
उनी जस्तै नेपालगन्जका प्रेम केसी नियमित साइक्लिङ गर्छन्।
२० महिना अघिसम्म ८९ किलोग्राम तौल भएका केसी मोटोपन र उच्च रक्तचापको समस्या कम गर्न मर्निङवाक र जिम गर्न थाले। त्यसबाट सन्तुष्ट नभएपछि साइकल चढ्न थालेको उनी बताउँछन्।
‘५/६ जना साथीहरुसँग मिलेर दैनिक साइक्लिङ थालें। तीन महिनामै शरीरको तौल घट्यो,’ केसीले अनुभव सुनाए।
मोटोपन बढ्दै जाँदा स्वास्थ्य समस्या देखिन थालेकाले सुरु गरेको साइक्लिङ अहिले बिहान साढे ४ बजेदेखि ८ बजेसम्म नियमित गरिरहेको उनी बताउँछन्।
साइक्लिङ गर्नुअघि ३६ इन्च कम्मरको पाइन्ट लगाउने केसी अहिले ३२ इन्चको लगाउँछन्। उनको तौल ७६ केजीमा झरेको छ।
उनको श्वासप्रश्वास ठिक भएको छ। रक्तचाप पनि ८०/१२० छ। शरीरमा कुनै समस्या छैन।
उनका अनुसार नेपालगन्जमा दैनिक १५० सय जतिले नियमित साइक्लिङ गर्छन्।