शनिबार, जेठ २०, २०८०

अनलाइन प्रतियोगिता : भविष्य छ कि कामचलाउमात्रै ?

राखेपका सदस्यसचिव सिलवाल भन्छन्- विना दर्शकको र भर्चुअल खेल खल्लो हुँदो रहेछ।
 |  सोमबार, जेठ १९, २०७७

विनय सापकोटा

विनय सापकोटा

सोमबार, जेठ १९, २०७७

नोवल कोरोना भाइरस अर्थात् कोभिड–१९ को महामारीले विश्व नै आक्रान्त छ अहिले। आज (सोमबार) दिउँसोसम्मको तथ्यांकअनुसार ६२ लाख ६० हजारभन्दा बढी यो भाइरसबाट संक्रमित भइसकेका छन्। यीमध्ये ३ लाख ७३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने २८ लाख ४७ हजार संक्रमणमुक्त भएका छन्।

Everest Bank

गएको डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको कहर अझै कति झेल्नुपर्ने हो, निश्चित छैन। कोरोनाविरुद्धको भ्याक्सिन वा औषधि बनाउने प्रयास जारी छ, तर सफलता मिलिराखेको छैन। विश्व स्वास्थ्य संगठनले पनि कोरोनाबाट तत्काल मुक्ति पाउन नसकिने बताइसकेको छ।

यस्तो अवस्थामा कोरोनासँग लड्दै अगाडि बढ्नुपर्ने भइसकेको छ। थुप्रै देश जोखिमलाई मध्यजनर गर्दै सावधानी अपनाएर काममा फर्किसकेका पनि छन् । कोरोनाको मारहमा परेको खेलकुद क्षेत्र पनि विस्तारै मैदान फर्किने सुरमा देखिएको छ।

विश्वका प्रतिष्ठित लिगहरु मैदान फर्कने तयारीमा छन्। कोरियाको के लिग र जर्मनीको बुन्डेसलिगा महामारीबीच पनि सावधानीका साथ सुरु भएका छन्। छोटो (टी–टेन) फर्म्याटको क्रिकेट पनि सुरु भएको छ । टेस्ट क्रिकेट खेल्न भारत, वेस्ट इन्डिज लगायतका देश तयार भएका छन्।

अधिकांश देशहरुले महामारी छिटै नसकिने र यसलाई व्यवस्थापन गर्दै अन्य दैनिक कामलाई सँगै लैजाने योजना अघि ल्याएका छन्। त्यसैले नेपाली खेलकुदले पनि यो मूल मन्त्रलाई भुलेर चुप लागेर बस्ने अवस्था छैन।

National life insurance
Metro Mart

केही डाक्टरले त कोरोनालाई साधारण रुघाखोकीको संज्ञा दिएर महामारी भन्न नमिल्ने बताएका छन्। तर पनि संक्रमणको जोखिमलाई सानो रुपमा लिइएको छैन। त्यसैले अधिकांश देशमा अझैसम्म काममा फर्कने वातावरण बन्न सकेको छैन।

पछिल्लो समय खेलकुदलाई विकास गरौं भन्ने भावनाका साथ विकल्पका रुपमा अनलाइन प्रतियोगिताको विकास भएको छ। यसमा खेलाडीले घरबाटै प्रतियोगितामा भाग लिन सक्छन्। यसले लकडाउनको समयमा पनि खेलाडीलाई खेलमा जगाइराख्नका लागि सहयोग गरेको छ।

‘लकडाउनको प्रशिक्षण र प्रतियोगिताले ठूलो उपलब्धि त नदिन सक्छ, तर खेलाडीको सबैभन्दा ठूलो हतियार भनेकै मनोवल हो। त्यसैले मनोवलमा कमी नआओस् भन्नका लागि सम्भव भएसम्मका प्रतियोगिता चाहिँ गर्नुपर्छ जस्तो लाग्छ,’ १३ औं सागमा कराँतेकी स्वर्ण विजेता खेलाडी अनु अधिकारीले नेपाल समयसँग भनिन्।

कराँतेमा मुख्यगरी दुई विधा हुन्छन्– काता र कुमुते। कुमुतेका लागि अनिवार्य दुई खेलाडीको उपस्थिति हुनुपर्छ। त्यसैले लकडाउनमा यो गर्न सजिलो छैन। तर काता विधाका प्रतियोगिता भने अनलाइनका माध्यमबाट गर्न सकिन्छ।

निजी क्षेत्रबाट काताका दुई प्रतियोगिता सञ्चालन भएका छन्। यसलाई अगाडि बढाउनुपर्ने बताउँछिन् अनु। ‘अनलाइन प्रतियोगिता गर्न नितान्त जरुरी छ, किनभने अहिले खेलाप्रति खेलाडीको झुकाव मनोवैज्ञानिक रुपमै हट्दै गएको छ। त्यसैले खेल संघले वा राखेपले प्रशिक्षणका लागि केही मापदण्ड बनाएर काम गनुपर्छ,’ उनले भनिन्।

अनु अहिले पनि जुममार्फत् बच्चाहरुलाई कराँते कक्षा सञ्चालन गरिरहेकी छिन्। भन्छिन्, ‘खेलाडीले लकडाउन छ भनेर निष्क्रिय भएर बस्नु राम्रो होइन । त्यसैले स्कुलका बच्चाहरुलाई क्लास दिइरहेकी छु। यसबाट बच्चाका अभिवावक निकै खुसी हुनु भएको छ।’

पछिल्लो समय नेपालमा अनलाइनबाट हुने काम बढ्दो छ। सरकारी काम पनि इन्टरनेटका माध्यमबाट गर्न थालिएको छ। स्कुल, कलेजले अनलाइन कक्षा सञ्चालन गरेका छन्। आगामी आर्थिक वर्षको बजेटले समेत अनलाइन कारोबार तथा अनलाइन गतिवधिहरुलाई प्रोत्साहन गर्ने भनेको छ।

कराँते, सुटिङदेखि बुद्धिचालसम्मका प्रतियोगिता पछिल्लो समय अनलाइन सञ्चालन गरिँदै आएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल खेल गतिविधि चाँडै सुरु गर्नुपर्नेमा जोड दिन्छन्। भारतले पनि ओलम्पिक अन्तर्गतका विभिन्न खेललाई प्रशिक्षणको मान्यता दिइसकेको छ भने अन्य देशले पनि प्रशिक्षण र प्रतियोगिता सुरु गरेका छन्।

अहिलेको समयमा भने अनलाइन खेललाई नै प्राथमिकता दिनुपर्ने बताउँछन् १३ औं साग र अनलाइन विश्व पुम्से च्याम्पियनका स्वर्ण विजेता कमल श्रेष्ठ। ‘अनलाइन प्रतियोगिताले नयाँ खुसी दिने रहेछ। उर्जा मिल्ने रहेछ। तर यसको प्राविधिक पाटो अलि गाह्रो भने हुन्छ,’ कममले नेपाल समयसँग भने, ‘खेललाई माथि उठाउने हो भने अनलाइनबाट खेल गराउनु पर्छ। यसबाट सुरक्षित तवरले खेललाई अघि बढाउन मद्दत मिल्छ।’ प्रतियोगिताका लागि आशावादी कमल अहिले पनि निरन्तर प्रशिक्षणमै छन्।

सुरक्षित तवरले खेल सुचारु गर्न राखेपले पहल गर्छ : सदस्यसचिव सिलवाल

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल सावधानी अपनाएर गर्न सकियो भने खेलले राष्ट्रिय भावनालाई जगाउन मद्दत गर्ने बताउँछन्। त्यसैले खेललाई सुरक्षित तवरले सुरु गर्न राखेपले पहल गर्ने सिलवालले बताए। तर कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि सरकारले प्रतियोगिताका लागि मान्यता दिन अप्ठ्यरो मानेको उनको भनाइ छ।
सिलवालसँगको छोटो कुराकानी

लकडाउनमा कस्ता–कस्ता प्रतियोगिता गर्न सकिन्छ ?

हामीले एकल किसिमका प्रतियोगिता गर्न खोजका थियौं– थोरै खेलाडी सहभागी हुने खालका। तर फेरि कोरोनाको रेट बढ्यो। त्यसपछि गर्न सकिने अवस्था देखिएन।

लकडाउनमा अनलाइन प्रतियोगिता भइरहेका छन्। अनलाइन प्रतियोगिताबारे राखेपले केही ध्यान दिएको छ ?

अहिले अनलाइन प्रतियोगिता गराउनेबारे सोचेकै छैनौं। अहिले भनेको जुमबाट केही खेलाडीलाई प्रशिक्षण गराउने कार्य भइरहेको छ। त्यो पनि त्यति व्यवहारिक देखिएको छैन। सबै प्रतियोगिता जुमबाट पनि सम्भव हुँदैन। यसो गर, उसो गर, तिम्रो अलिकति मिलेन भन्नेमात्र हो। त्यो भन्दा बाहेक हरु नहुने रहेछ।

सम्भावना कत्तिको छ ?

यो एक प्रयोग हो। आँट देखाउने क्षेत्रमा यो सम्भव हुन सक्छ। तर प्रतिस्पर्धात्मक खेलमा भने सम्भव छैन।

यसको बजार छ कि छैन ?

बजार छैन भनौं भने इलेक्ट्रोनिक खेलको सम्भावना छ। तर विभिन्न देशहरुको अवस्था हेर्दा यस्तो प्रतियोगिताबाट खेलाडीको सन्तुष्टि एकदमै कम छ।

विना दर्शकको र भर्चुअल खेल खल्लो हुँदो रहेछ। र, भुर्चुअल–आर्टिफिसियल खेलमा पनि त्यसको रिजल्ट पोजेटिभ आएन।

अहिले खेल सिधै स्वास्थ्यसँग जोडिएको छ। र, राखेप खेलसँग जोडिएको सरकारी संस्था भएका हिसाबले स्वास्थ्यसँग सम्बन्धित निकायसँग छलफल बढाउनु भएको छ कि छैन ?

छ। तर अहिले सरकारसँग समन्वय नगरी गर्न सक्दैनौं। सरकारले अहिले खेलका लागि अनुमति दिएको स्थिति छैन। अब क्रमशः विस्तारै त्यो वातावरण बनाउन खोज्दैछौं।
एक प्रकारको खेल माहोल तयार भएको थियो। ग्रिन जोनमा खेल गराउने भनेको हो। ह्वात्तै कोरोना संक्रमितको दर बढ्यो। तराईमा मात्र नभएर पहाडमा पनि कोरोना बढ्न थालेकाले कुन कस्तो जोन भन्ने स्थिति पैदा भयो।

अब केही समय हेरौं, अनि निष्कर्ष निकालौंला।

सम्बन्धित समाचारहरु

अनलाइन प्रतियोगिताले जगाएको आशा

पुम्से विश्व च्याम्पियनसिप : पुरुष ३० वर्षमुनिको इभेन्टमा नेपालले जित्यो स्वर्ण, रजत र काश्य

नेपालमै बसेर युरोपमा प्रतिस्पर्धा

'अनलाइन युरोपियन पुम्से च्याम्पियनसिप'को सेमिफाइनलमा पुग्दा नेपाली खेलाडी दंग

अनलाइन चेस च्याम्पियनसिपको छनोट चरणबाटै बाहिरिए नेपाली खेलाडी

 

प्रकाशित: Jun 01, 2020| 12:50. 00 सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसियाली खेलकुद, राखेप परिसरमा व्यवस्थापन सचिवालय स्थापना

आगामी ६ असोजदेखि चीनको होङझावमा आयोजना हुने १९औं एसियाली स्पर्धामा नेपालले २९ खेलमा भाग लिने तयारी।

टी–२० क्रिकेटः नेपालद्वारा मलेसिया २७ रनले पराजित

१११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेटको क्षतिमा ८३ रन मात्र जोड्न सकेको हो।

साफ च्याम्पियनसिप: ३० सदस्यीय प्रारम्भिक टोली घोषणा

मुख्य प्रशिक्षकले घरेलु मैदानमा जारी सहिद स्मारक ए डिभिजनमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेका हुन्।