आइतबार, भदौ ७, २०८३

सरकारले दियो २६ वस्तुमा सतप्रतिशत कर छुट

 |  आइतबार, भदौ ७, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०८३

काठमाडौं। सरकारले विभिन्न २६ वटा वस्तु, सेवा तथा उपकरण पैठारीमा लाग्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर, दस्तुर तथा अन्य सम्पूर्ण शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। 

सरकारले मुलुकको जनस्वास्थ्य व्यवस्थापन, प्रतिनिधि सभा निर्वाचन सहजीकरण, शान्ति सेनाको बन्दोबस्ती सामग्री स्वदेश फिर्ता र अमेरिकाबाट बहुमूल्य पुरातात्विक मूर्तिहरूको पुनप्र्राप्ति लगायतमा सतप्रतिशत कर छुट गर्ने निर्णय गरेको हो। 

सरकारले जनस्वास्थ्य तथा मातृत्व सुरक्षालाई ध्यानमा राख्दै विभिन्न अन्तर्राष्ट्रिय साझेदार संस्थाहरू मार्फत प्राप्त प्रसूति तथा परिवार नियोजन सम्बन्धी सामग्रीहरूमा भन्सार शुल्क पूर्ण छुट दिएको छ। 

परिवार कल्याण महाशाखा टेकुका लागि आयातित २४ हजार ४५६.५८ अमेरिकी डलर बराबरका सुरक्षित प्रसूति सेवा उपकरण, ८ हजार ४२४ अमेरिकी डलर मूल्यका २७० वटा नवजात शिशु सघन उपचार सम्बन्धी ’सक्सन क्यानिस्टर होल्डर’, र १२ लाख ४१ हजार १० अमेरिकी डलर बराबरका डिम्पल मेड्रोक्सीप्रोजेस्टेरोन एसिटेट सिरिन्ज, जाडेल इम्प्लान्ट र कन्डमहरूको पैठारीमा लाग्ने सम्पूर्ण कर मिनाहा गरिएको छ। 

सरकारले बर्थिङ सेन्टर सञ्चालनका लागि प्राप्त १८ हजार ८०३।५७ अमेरिकी बराबरका औजार, ७४ हजार २१५।८० अमेरिकी डलर बराबरको सायानाप्रेस इन्जेक्सन तथा फिस्टुला मर्मत किट, र ४ लाख ५१ हजार ९९१।२८ अमेरिकी  बराबरका ओरल पिल्स, कन्डम तथा डिपो सामग्री आयात गर्दा लाग्ने सबै दस्तुर र महसुल पूर्ण रूपमा छुट दिइएको छ।  

सरकारले बालबालिकाको पोषण तथा सरुवा रोग रोकथामका लागि वैदेशिक अनुदानमा प्राप्त औषधिहरूलाई पनि सरकारले शतप्रतिशत राजस्व छुटको दायरामा ल्याएको छ। 

डब्ल्यूएचओ नेपालमार्फत विद्यालयका विद्यार्थीलाई खुवाउन प्राप्त अमेरिकी डलर १ लाख ११ हजार ९०० बराबरको जुकाको औषधि (अल्बेन्डाजोल ४०० एमजी), युनिसेफ नेपालबाट प्राप्त अमेरिकी डलर ५६ हजार १८.८८ र युरो ११ हजार ९८३.६८ मूल्य बराबरका भिटामिन ’ए’ सफ्ट जेल क्याप्सुल तथा कुपोषित बालबालिकाका लागि उपचारात्मक दूध तथा शीघ्र कुपोषण एकीकृत व्यवस्थापनका लागि प्राप्त क्रमशः अमेरिकी डलर ३ लाख ८० हजार (१० हजार वटा) र अमेरिकी डलर ५ लाख ७० हजार १७० बराबरका उपचारात्मक पोषक आहार आयातमा कुनै पनि कर नलाग्ने गरी छुट दिइएको छ 

मुलुकमा विभिन्न महामारी तथा कडा रोगको रोकथामका लागि आयातित प्रयोगशाला किट र औषधिहरूमा पनि भन्सार शुल्क मिनाहा गरिएको छ।  डब्ल्यूएचओबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका लागि प्राप्त जापानी इन्सेफलाइटिस, दादुरा, रुबेला र डेङ्गु परीक्षण किटहरू (क्रमशः अमेरिकी डलर २ हजार ७०, युरो १ हजार ३७२, भारू ३ लाख ४७ हजार ९९१.११ तथा अमेरिकी डलर २ हजार ४८४ र भारू १ लाख १० हजार ७५० बराबर), र कालाजार उपचारका लागि प्राप्त अमेरिकी डलर ६५ हजार मूल्यको ४०० वटा ‘लिपोसोमल एम्पोटेरिसिन’ औषधि तथा अमेरिकी डलर ४० हजार ५०० मूल्यको रेबिज खोपमा भन्सार तथा भ्याट पूर्ण छुट दिइएको छ फिलेरिया सर्भेका लागि प्राप्त अमेरिकी डलर ५४ हजार २१० बराबरको ‘फिलेरियल टेस्ट स्ट्रिप्स’ र कालाजार तथा मलेरिया नियन्त्रणका लागि प्राप्त अमेरिकी डलर १ लाख ३६७।

४९ मूल्यको कीटनाशकयुक्त कागज आयातमा पनि सम्पूर्ण महसुल छुट भएको छ।स्वास्थ्य मन्त्रालय र युएनडीपीको संयुक्त आयोजनामा सञ्चालित ग्लोबल फण्ड कार्यक्रम अन्तर्गत आयातित जटिल रोगका औषधिहरूमा सरकारले पूर्ण कर मिनाहा गरेको छ।

क्षयरोग नियन्त्रणका लागि प्राप्त अमेरिकी डलर १८ हजार ८८१.४४ मूल्यको मोक्सिफ्लोक्सासिन ४०० एमजी ट्याब्लेट, एड्स नियन्त्रण केन्द्रका लागि प्राप्त अमेरिकी डलर १ लाख १५ हजार ४३२.१६ बराबरका एचआईभी भाइरल लोड परीक्षण रिएजेन्ट, अमेरिकी डलर १९ हजार ४२५ मूल्यको ‘आइसेन्ट्रेस ४०० एमजी’ ट्याब्लेट र अमेरिकी डलर २० हजार ८३७.३८ बराबरका एन्टिरेट्रोभाइरल औषधि ‘लोपिनाभिर/रिटोनाभिर’ एवं युरो ६९८.६० मूल्यका प्रयोगशाला सामग्री पैठारीमा लाग्ने सम्पूर्ण दस्तुर, शुल्क र भन्सार महसुल छुट दिइएको छ।

२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन सहजीकरणका लागि भारत सरकारबाट सहायता स्वरूप प्राप्त सुरक्षा सामग्रीहरूमा शतप्रतिशत राजस्व छुट दिइएको छ। भारतबाट अनुदानमा प्राप्त ५३८ सवारी साधनमध्ये १ थान महिन्द्रा स्कोर्पियो पिकअप सीमा क्षेत्रमा दुर्घटनाग्रस्त भएकाले, सोको सट्टा भारत सरकारबाट भारू ७ लाख ४३ हजार ६४५.७९ सोधभर्ना भई आएको नयाँ सवारी साधन आयात गर्दा महसुल छुट दिइएको छ। 

संयुक्त राष्ट्रसंघको सङ्कटकालीन योजना अन्तर्गत वैदेशिक शान्ति मिसनहरूमा कार्यरत नेपाली शान्ति सैनिकहरूको संख्या घटेपछि उनीहरूका बन्दोबस्तीका सामान स्वदेश फिर्ता ल्याउँदा लाग्ने भन्सार शुल्क मिनाहा गरिएको छ। मिसनबाट ’स्क्यान ग्लोबल लजिस्टिक’ मार्फत नेपाल फर्काइएका अमेरिकी डलर २६ लाख २० हजार ८६ मूल्य बराबरका १५ वटा गाडी, १ वटा ट्रेलर र २ वटा कन्टेनर तथा यूएनआईएसएफए मिसनबाट फिर्ता ल्याइएका अमेरिकी डलर ७६ लाख ७ हजार १३८.६६ मूल्य बराबरका २३ वटा गाडी, १३ वटा कन्टेनर, ४ वटा ट्रेलर र ६ वटा जेनेरेटर सामग्री पैठारीमा लाग्ने सम्पूर्ण महसुल र कर छुट दिने निर्णय भएको छ।

गैरकानूनी रूपमा अमेरिका पुगी न्युयोर्क डिस्ट्रिक्ट एटोर्नीको अधीनमा रहेका दुईवटा बहुमूल्य प्राचीन कलात्मक मूर्तिहरू स्वदेश फर्काउँदा लाग्ने सम्पूर्ण भन्सार तथा कर पूर्ण छुट दिने निर्णय गरिएको छ।

१३औँ शताब्दीमा निर्मित, तामामा सुनको जलप लगाइएको पद्मपाणि लोकेश्वरको मूर्ति (अन्तर्राष्ट्रिय बजार मूल्य २५ लाख अमेरिकी डलर अर्थात् करिब ३३ करोड नेपाली रुपैयाँ) र १६औँ शताब्दीमा निर्मित काठको नृत्यदेवीको मूर्ति (अन्तर्राष्ट्रिय बजार मूल्य २ लाख अमेरिकी डलर) नेवाः गुठी न्युयोर्कको आर्थिक सहयोग र नेपाली महावाणिज्य दूतावासको समन्वयमा २०८३ असार १२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएका थिए। पुरातत्त्व विभागले बुझिलिने गरी फिर्ता ल्याइएका यी अमूल्य सांस्कृतिक सम्पदाको भन्सार जाँचपासमा पूर्ण राजस्व छुट दिइएको छ।

प्रकाशित: Aug 23, 2026| 18:27 आइतबार, भदौ ७, २०८३
प्रतिक्रिया दिनुहोस्