काठमाडौं– बिहीबारको केन्द्रीय समिति बैठक बहिष्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेतालाई फकाउने प्रयासमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लागेका छन्। सभापति देउवाले आफू अनुकूल ४१ विभाग खडा गर्ने प्रस्ताव ल्याएपछि वरिष्ठ नेता पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाको गुट बिच्किएको हो।
सभापति देउवाले संस्थापन इतर समूहको मागअनुसार महाधिवेशनको एजेण्डालाई छलफलको विषय बनाउन नमानेपछि उनीहरुले बैठक बहिष्कार गरेका हुन्। बैठकअघि भएको शीर्ष नेताहरुबीचको छलफलमा संस्थापन इतर समूहले महाधिवेशनको एजेण्डा बैठकमा पेस गरिनुपर्ने र महाधिवेशनको कार्यतालिका बनाएर अगाडि बढ्नुपर्ने माग राखेको थियो।
विभाग गठनलाई लिएर असन्तुष्ट बनेको पौडेल र सिटौला समूहलाई फकाउन सभापति देउवाले शुक्रबार बिहान आफ्नो निवासमा छलफलका लागि बोलाएका थिए। तर, दिउँसो कार्यक्रममा सहभागी हुनुपर्ने भन्दै पौडेल छलफलमा उपस्थित भएनन्।
सभापति देउवा निकट स्रोतका अनुसार शुक्रबार साँझ पुनः सभापति देउवाले पौडेललाई छलफलका लागि बोलाएका छन्। साँझ भने पौडेलसहित अन्य नेताहरुको असन्तुष्टि सम्बोधन हुने गरी छलफल हुने बताइएको छ।
उता, नेता सिटौला भने एक कार्यक्रममा सहभागी हुन झापा पुगेका छन्। नेपाल समयसँग टेलिफोनमा कुरा गर्दै सिटौलाले आफूहरु सभापतिको एकलौटी गर्ने शैलीबाट असन्तुष्ट रहेको बताउँदै आफूहरु पनि सहमतिमै अगाडि बढ्न खोजेको स्पष्ट पारे।
वरिष्ठ नेता पौडेलसहित केही नेताहरुले बहिष्कार गरे पनि केन्द्रीय समिति बैठक भने बसेको थियो । बैठकमा सभापति देउवाले आफ्नो प्रस्ताव राखेका थिए।
उनले बैठकमा प्रस्तुत गरेको प्रस्तावमा केन्द्रीय विभागको संरचनात्मक र संख्यात्मक परिमार्जन गर्न आवश्यक रहेको उल्लेख छ। कांग्रेसको विद्यमान विधानमा २८ वटा केन्द्रीय विभाग रहने व्यवस्था छ। देउवाले त्यसमा १३ वटा विभाग थप्ने प्रस्ताव गरेका छन् ।
केन्द्रीय समिति बैठक पुनः आइतबारका लागि बोलाइएको छ। त्यसअघि पौडेल र सिटौला समूहलाई सहमतिमा ल्याउने प्रयासमा देउवा जुटेका हुन्।