काठमाडौं- पश्चिमी वायु प्रणालीको प्रभावसँगै हिमाली क्षेत्रमा हिमपात भएको छ ।
हुम्लामा बुधबार रातिदेखि नै हिमपात भएको छ भने जुम्ला, मुगु, मनाङ, मुस्ताङको उपल्लो क्षेत्रमा पनि हिमपात भएको मौसमविद् बरुण पौडेलले नेपाल समयलाई जानकारी दिए ।
उनका अनुसार अहिलेको बादलले आज (बिहीबार) बेलुकासम्ममा अधिकांश हिमाली क्षेत्रमा हिमपात हुनेछ ।
हिमपातका कारण कर्णालीका उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित भएको छ। अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ ।
हिमपातले गर्दा हुम्लाको सिमकोट विमानस्थलमा हवाइजहाज उडान बन्द भइको छ । नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान गर्दै आएको तारा, सीता, समिट एयरलाइन्सको उडान प्रभावित भएको छ ।
हवाई यातायात बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने स्थानीयवासी समस्यामा परेका छन् । यस्तै हिमपातका कारण हिमाली क्षेत्रमा चिसो अत्यधिक बढेको छ भने जनजीवन कष्टकर बन्दै गएको छ ।
हुम्ला, जुम्ला र उपल्लो मुस्ताङको तापक्रम माइनस ६ डिग्रीभन्दा तल झरेको छ । हिमपातसँगै बढेको चिसोले एक गाउँबाट अर्को गाउँसम्मको आवतजावत समेत रोकिएको छ ।
पश्चिमी वायु प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यका आसपासको क्षेत्रमा समेत हिमपात हुनसक्ने मौसमविद्हरुले बताएका छन् । अझै एक दुई दिन चिसो बढे काठमाडौं आसपासका उच्च पहाडी क्षेत्रमा हिमपात हुनसक्ने मौसमविद् बरुण पौडेलले जानकारी दिए ।
उनका अनुसार तत्कालै हिमपात नभएपनि चिसो यहिक्रमले बढे हिमपातको सम्भावना देखिएको छ ।