काठमाडौं- त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)मा चिकित्सा शिक्षा संघर्ष समितिमा आवद्ध विद्यार्थीले लगाएको ताला प्रहरीले फुटाइ दिएको छ ।
बुधबार बिहान महाराजगन्जबाट खटिएको प्रहरी टोलीले ताला फोडेको हो ।
ताला फोडेसँगै टिचिङ अस्पताल क्षेत्रमा नाराबाजी गर्ने संघर्ष समितिका १३ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई महाराजगन्ज प्रहरी वृतमा राखिएको छ।
प्रहरीले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा दमन गरेको भन्दै विद्यार्थीहरुले चर्को स्वरमा नाराबाजी गरेका थिए । उनीहरुले चिकित्सा शिक्षा ऐनले गरेको व्यवस्था कार्यान्वयन हुनु पर्ने, २१ भदौदेखि सञ्चालन हुने एमबिबिएसको प्रवेश परीक्षा रोकिनु पर्ने लगायतको माग राखेका छन् ।
उनीहरूले आइतबारदेखि आइओएम र स्कुल अफ मेडिकल साइन्सेसको डिन कार्यालयमा तालाबन्दी गरेका थिए । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटनमा समेत तालाबन्दी गर्ने उनीहरुको तयारी थियो ।
ऐनविपरीत विभिन्न विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना प्रक्रिया सुरु गरेपछि विद्यार्थी आन्दोलित भएका हुन् । ऐनअनुसार विद्यार्थी सिट संख्या तथा शुल्क निर्धारण गर्ने, एकीकृत प्रवेश परीक्षा गर्नेलगायतका काम चिकित्सा शिक्षा आयोगले गर्ने व्यवस्था छ ।
सरकारले आयोग उपाध्यक्ष नियुक्तिमा ढिलाइ गरिरहेको छ । त्यसको फाइदा उठाउँदै विश्वविद्यालय र प्रतिष्ठानहरूले आफ्नो अनुकूलमा भर्ना प्रक्रिया सञ्चालन गरिरहेका छन् ।
मंगलबार चिकित्सा शिक्षा संघर्ष समिति र आइओएमका अधिकारीबीच वार्ता भएपनि कुनै सहमति हुन सकेको थिएन । छलफल विनानिष्कर्ष टुंगिएपछि विद्यार्थीहरु बुधबार थप आक्रामक रुपमा आन्दोलित भएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४