काठमाडौं- सन् २०१० को चिसो महिना। सिनेमा नगरी बम्बईमा लामो समयदेखि कलाको विविध क्षेत्रमा ख्याति कमाएका नेपालीमूलका प्रतिभामाथि वृत्तचित्र निर्माण गर्न पुगेका थिए, लेखक शेखर खरेल। खरेलको भेट तबलावादक स्व. पण्डित होमनाथ उपाध्यायसँग भयो। त्यसपछि पण्डितमार्फत मनोहरि सिंहसँग भयो। सिंह बलिउड संगीतमा स्याक्सोफोन र क्लारिनेटका पर्याय थिए।
सिंहको सांगीतिक यात्राबारे आफ्नो क्यामेरामा कैद गरे। त्यसैगरी ‘गड फादर इन्डियन जाँच’का नामले प्रसिद्ध लुई (डम्बरबहादुर बुढापिर्थी)सँग भेटे। ब्याङ्क्स पनि पियानोवादक थिए। उनलाई पनि आफ्नो वृत्तचित्रमा कैद गरे। यसरी बलिउड संगीतकार आरडी बर्मनका आरडी अर्केस्ट्राका तीन सदस्य उपाध्याय, सिंह र ब्याङ्क्स भेटे। तर आरडी अर्केस्ट्राका अर्का नेपाली भाषी सदस्य थिए, रञ्जित गजमेर।
यिनलाई पटक–पटक बम्बई यात्रा गर्दा पनि खरेलले भेट्न पाएका थिएनन्। १० वर्षपछि उनै गजमेरको आत्मकथा ‘मोहनी मादल’का लेखक भइगए, खरेल। भन्छन्, ‘आकस्मिकताले जुर्यो उहाँको आत्मकथा लेखन।’
कोरोना महाव्याधिका कारण देशव्यापी बन्दाबन्दी थियो। कोरोनाबाट जोगिन मानिसले बन्दाबन्दीको सही पालना गरेका थिए तर सिजर्नात्मक कर्म गरिरहेकालाई घरमा पनि भ्याई–नभ्याई थियो। उनी भन्छन्, ‘लन्डनमा बस्ने श्रीभक्त खनाल र अस्ट्रेलिया बस्ने सूर्यभक्त खनालले आफ्नी हजुरआमाको नाममा ‘जसोदा फाउन्डेसन’ नामक संस्थामार्फत हजुरआमाको सम्झनामा कला, साहित्य, संगीत क्षेत्रका हस्तीमाथि केही काम गर्न सल्लाह माग्नुभयो ।’
खरेलले लोक कल्याणकारी काममा सहयोग गर्न सल्लाह दिने वचन दिए। खरेल त्यस्ता पात्रहरूको खोजीमा लागे। फाउन्डेसनमार्फत कसैको जीवनी लेख्ने कुरा भएपछि उनले गायक बच्चु कैलाश र रञ्जित गजमेर सम्झिए।
‘कैलाश दाजु बोल्न मान्नुभएन अनि रञ्जित गजमेर दाजुलाई सम्झिएँ’, उनले भने।
तर गजमेरसँग खरेलको भेट भएको थिएन। पारिवारिक सूत्रबाट गजमेर इन्टरनेटको सहाराले भेटे। उसो त, गजमेर नेपाल आउँदा खरेलले नेपाल प्रज्ञाप्रतिष्ठानको हलमा देख्न पाए पनि भेट्न पाएनन्। दोस्रो पटक सन् २०१९ को अन्तिमतिर भएको ‘म्युजिकल जर्नी अफ रञ्जित गजमेर विथ आशा भोसले’ नामक सांगीतिक कार्यक्रममा देखे। भेटे। नमस्ते आदानप्रदान भए पनि धेरै कुरा गर्न पाएनन्, उनले। त्यसपछि उनको तेस्रो भेट वाट्सअपबाट भयो। खरेलले आत्मकथाबारे कुरा राखेपछि गजमेरले सहमति देखाएछन्।
‘दाजुमाथि किताब लेख्नुपर्यो। अब तपाईको सांगीतिक यात्रानुभव नयाँ पुस्ताले पढ्न पाउनुपर्यो भनेको उहाँले खुसीखुसी स्वीकार्नुभयो’, उनले भने।
२०२० बाट गजमेर र खरेलको कुराकानी अगाडि बढ्यो। यसरी खरेलले बिहान १० बजे बम्बई बस्ने गजमेरलाई फोन र वाट्सअपमा कुरा गर्थे। साँझ अबेरसम्म लेख्थे।
सन् १९८१ मा ‘बाँसुरी’बाट नेपाली चलचित्रमा समाहित गजमेरले सयौं गीतमा संगीत भरेका छन्। सम्झना, कुसुमे रुमाल, वासुदेव, साइनो, लाहुरे, चिनो, दुई थोपा आँसु, कोसेली, दर्पण छायाजस्ता चलचित्रका गीतमा उनी एकछत्र छाए। आत्मकथा लेखनमार्फत गजमेरको जीवनीलाई उजिल्याएका खरेल किताबमा उनका संघर्ष र सम्झना भएसम्मका घटनाक्रम उतारिएको बताउँछन्।
खरेल गजमेरसँग सातामा एक–दुई पटक मात्र कुरा गर्थे अनि साताभरि लेख्थे। लेख्दालेख्दै खड्किएका कुरा प्रश्न बनाएर टिप्थे। अर्को साता ती प्रश्नसँगै अन्य नयाँ कुरामा कुराकानी गर्थे।
किताब लेखनका क्रममा गजमेरलाई बुझेका र चिनेकासँग निकै पटक भेटे। अनुराधा कोइराला, तलुसी घिमिरे, स्व. पिटर जे कार्थककी धर्मपत्नी रञ्जना कार्थकलगायतसँग भेटे।
मोहनी मादल एक सिटिङमै पढिभ्याइन्छ। पढ्दापढ्दै ए किताब सकिहालेछ भन्ने भाव पैदा हुने बताउँछन्, खरेल। उनका अनुसार किताबले पाठकलाई होल्ड गर्न सक्छ। २४० पेजको किताब खासै मोटो पनि होइन। तर तीन दशकसम्मका वजनदार संगीतकारको आत्मकथा यति सानो किताब भन्ने प्रश्नमा खरेल भन्छन्, ‘एउटा मानिसको जीवनी पूर्ण हुँदैन। उहाँले गरेको संघर्ष र उहाँलाई सम्झना भएसम्मका घटनाक्रम किताबमा आएको छ। फेरि एउटा मान्छेले बाँचेको सबै समय लेख्न पनि सकिँदैन।’
प्रायः लेखेको कुरा पूर्ण होस् भन्ने हुन्छ। तर गजमेरको सानो भोलममा सिंगो सांगीतिक जीवन अटाए होला भन्ने प्रश्नमा खरेल भन्छन्, ‘हुलाकको टिकट हेर्नुस्, सानो भएर पनि पूर्ण हुन्छ। हामीले गीतका बखान होइन, गीत–संगीतमा योगदान दिने व्यक्तित्वको जीवनी लेखेको हो। यो समय पाठकमा धेरै पढ्ने धैर्य छैन।’ गजमेरको स्मरणमा नयाँ कुरा आए त्यसलाई आगामी संस्करणमा थप्दै लगिने खरेल बताउँछन्। भन्छन्, उहाँ ८० वर्ष पुगिसक्नुभयो। जीवित छँदै यो किताब निकाल्ने सपना थियो। यसमा हामी सफल भयौं।’
कहिलेकाहीँ भन्न खोजेका कुरा लामा हुन्छन् । गजमेरका कुरा लामा हुँदाहुँदै पनि छोटोमा राख्नुपर्ने र राम्ररी स्मरण हुन नसक्दा छोटा कुरा कलात्मक तबरले लेख्नुपर्ने लेखकको जिम्मेवारी पनि हो। खरेल त्यसबाट नचुकेको बताउँछन्।
‘उहाँलाई प्रश्न गरेपछि मात्रै कुरा खुल्थे। उहाँलाई दार्जिलिङको कुरा अलि सम्झिन गाह्रो भयो। जीवन लावतसँग कुरा गरेपछि सजिलो भयो। तर बम्बई (हाल मुम्बई) र नेपालको अनुभव भने बिर्सिनुभएको रहेनछ’, खरेलले आफ्नो अनुभव सुनाए।
गजमेरले मादलसँगै तबला पनि बजाए। अनेक अर्केस्ट्रामा वाद्यवादनका रुपमा काम गरे। सँगसँगै गजमेरले नेपाली गीत–संगीतलाई पनि उत्तिकै समय दिए। माया गरे। यसो गर्नुका कारण गजेमरको आधार नेपाली गीत नै थिए।
‘गजमेरले नेपाली सुगम संगीत र सिनेमाका गीत कम्पोज गर्दा मौलिकता देखिन्छ। लोकलय नै पक्रिएका छन्। लोक भाका, लोक लय, लोक मुर्छाना राखेर नेपाली गीतमा संगीत गर्नुभएको छ’, खरेल भन्छन्।
खरेलका अनुसार गजमेरले वाद्यवादकसँगै नेपाली गीतलाई विभिन्न रागमा समेत संगीतबद्ध गरेका छन्। कुन मन्दिरमा जान्छौं यात्री बोलको गीत भुपाली रागमा कम्पोज भएको बताउँछन्, उनी। खरेल भन्छन्, ‘बलिउडमा वाद्यवादनका रूपमा चिनिनुभयो भने नेपाली गीत–संगीत सिर्जना गर्नुभयो।’
शेखरले बाल्यकालदेखि नै गजेमरका गीत सुन्दै आएका थिए। खरेल गजेमरका गीत आमाको पेटबाटै सुन्दै आएको बताउँछन्। रेडियो नेपालबाट बज्ने नातिकाजी, शिवशंकरका गीत सुनेरै हुर्किएको बताउने खरेल गजमेर पनि त्यसमै अटाएको सुनाउँछन्। सोही प्रभावका कारण गीत– संगीतमा झुकाव बढेको बताउने खरेल भन्छन्, ‘दार्जिलिङबाट काठमाडौं आएर धेरै गायक, संगीतकार जन्मिए। काम गरे र नेपाली गीत–संगीतलाई धनी बनाए। यस्तै पात्रमध्येका एक थिए, गजमेर।’
गजमेर अहिले पनि बाजा बजाउँछन् र नेपाली गीत कम्पोज गरिरहेका छन्। दीप श्रेष्ठका लागि अहिले नयाँ गीत–संगीत गरिरहेका छन्। पुरानादेखि नयाँ गायक–गायिकाजस्तै रियालिटी सोबाट आएकाहरूले पनि गजमेरसँग काम गरिरहेका छन्।
६० को दशकअघिदेखि नै रेडियो नेपालबाट शिवशंकर, नातिकाजीका गीत बजिसकेका थिए। ‘म जन्मिनु सात/आठ वर्षअघि नै गीत ल्याइसक्नुभएको थियो। नौ लाख तारामा उहाँले बाजा बजाउनुभएको हो’, खरेलले भने।
गीत–संगीतकै लागि जन्मिएका गजमेर केवल बाजा बजाउन मात्रै निपुण थिएनन्। उनले सयौंको संख्यामा नेपाली गीतमा कम्पोज गरेका छन्। ४० र ५० को दशकमा त नेपाली चलचित्रमा एकछत्र संगीत गर्ने गजमेरै थिए। तुलसी घिमिरेका सबै चलचित्रमा उनैले संगीत गरेका छन्। खरेल यस्ता बहुप्रतिभाशाली व्यक्तित्वमाथि किताब लेख्न पहिला संगीत नै बुझ्नुपर्ने बताउँछन्।
सन् १९८१ मा ‘बाँसुरी’बाट नेपाली चलचित्रमा समाहित गजमेरले सयौं गीतमा संगीत भरेका छन्। सम्झना, कुसुमे रुमाल, वासुदेव, साइनो, लाहुरे, चिनो, दुई थोपा आँसु, कोसेली, दर्पण छायाजस्ता चलचित्रका गीतमा उनी एकछत्र छाए।
गजमेरको संगीतमा स्वरसम्राट नारायणगोपालदेखि साधना सरगम, उदीतनारायण झासम्मले गाएका चर्चित गीतलाई गायक रामभक्त जोजिजु, कर्ण दास, विनोद बानियादेखि आशा स्वरुपसम्मले गाए।
१९६७ मा गजमेर काठमाडौं आएर रेडियो नेपालमा स्टुडियो संगीतकार पनि बनेका थिए। पछि उनी बम्बईमा संगीतिक करियर बनाउन आरडी बर्मनको सहकार्य गर्न पुगेका थिए।
उनले थुप्रै भारतीय फिल्ममा संगीत भरेका छन्, नेपाली मादल घन्काएका छन्। सन् १९८२ मा उनले आशा भोसलेका लागि नेपाली संगीतको व्यवस्था मिलाइदिएका थिए। खरेल गजमेरका कुरा सुनेर कहिले रोमाञ्चित भए, कहिले द्रवित।
खरेल गजमेरका एक किस्सा सुनाउँछन्।
बम्बईको संघर्षका दिनमा घर किन्न जाँदा २५ हजारमा उनलाई सचिन बर्मन (एसडी बर्मन) ले बेचे। गजमेरले त्यो घर किने।
यस्तै, दार्जिलिङ बसाइमा अम्बर गुरुङ र अगमसिंह गिरीसँगको संगत र किस्सा किताबमा जताततै आउँछ। खरेल अनेकौं किस्सा र घटनाले भरिएको उनको जीवन पढ्न र बुझ्न लायक रहेको ठान्छन्। सबै बाजा बजाउन सक्ने भए पनि बलिउडले उनलाई मादलको पहिचान दियो।
‘उहाँबाट मादल अलग राख्नै सकिन्न’, खरेलले भने, ‘उहाँ मादलले नै बलिउडमा जम्नुभएको हो। एक ठाउँमा आर डी बर्मनले भनेका छन्– कान्छाको मादलबिना मेरो गीत कसरी चल्छ? त्यो त मेरो सिक्नेचर हो।’
बलिउडका चर्चित गुलजार, किशोर कुमार, आनन्द बक्सीका आनीबानी र स्वभावसँग पनि गजमेरले परिचित गराइदिएका छन्। बलिउड संगीतमा ‘कान्छा’ नाम कसरी रहन गयो र आरडी बर्मनले कुन प्रसंगमा गजमेरलाई यो नाम दिए भन्ने कथा पनि रमाइलो छ।
अहिले पनि गजमेरले मादल बजाएको गीतमा कहाँ नेपाली मादल घन्कियो भन्ने खुट्याउन सकिने बताउँछन्, खरेल।
गजमेर अहिले पनि बाजा बजाउँछन् र नेपाली गीत कम्पोज गरिरहेका छन्। दीप श्रेष्ठका लागि अहिले नयाँ गीत–संगीत गरिरहेका छन्। पुरानादेखि नयाँ गायक–गायिकाजस्तै रियालिटी सोबाट आएकाहरूले पनि गजमेरसँग काम गरिरहेका छन्। गजमेरले पोखरामा जारी नेपाल लिट्रेचर फेस्टिबलमा मादल घन्काएर नयाँ पुस्तालाई अझै हौसला र प्रोत्साहन दिएका छन्।
‘त्यतिबेला पैसा हुन्थेन तर गीत आयो। सिर्जना आयो। कालजयी गीत आयो। हिउँद महिना। स्कुलको छुट्टी लिएर, चिसो छिँडीमा सुतेर दुःख गरेर गीत नकाल्नु आफैंमा चुनौती थियो।’
गमजेरको आत्मकथा विमोचन भएसँगै कुसुमे रुमाल विवाद पुनः बाहिर आयो। उनले गोपीकृष्ण हल सञ्चालक उद्धव पौडेलले चलचित्र कुसुमे रुमाललाई लिएर गरेको चलाखीमाथि प्रश्न उठाएका छन्। हुन त, धेरै आत्मकथा प्रकाशन भएपछि विवादमा आउँछन्। खरेल यस्ता विवादलाई सामान्य मान्छन्। उनी भन्छन्, ‘जीवन भएकाहरूले प्रश्न गर्न सक्छन्। धेरै ठाउँमा आत्मकथा प्रकाशन भएपछि विवादमा आएका छन्।’
लेखनीमा आफू माध्यम मात्रै भएको बताउँछन्, खरेल। कतिपय लेखकको भन्दा पनि आत्मकथा जसको हो, तिनको कथा मर्नुहुँदैन भन्ने हो। त्यो मर्न नदिएको बताउँछन्, खरेल।
खरेलका अनुसार मोहनी मादल नेपाली मौलिक बाजाको कथा हो, जसलाई गजमेरले विश्वमा चिनाए। गजमेर पुस्ताका धेरै गायक, संगीतकारका किताब आउन सकेनन्।
‘नातीकाजीदेखि अम्बर गुरुङ कसैको जीवन आएन। त्यो लेबलमा आत्मकथा आएको छैन। अरुणा लामा, नारायणगोपालमाथि जीवनी लेखिनुपथ्र्यो, लेखिएन’, खरेल भन्छन्, ‘कयौं कलाकारको आएन र गजमेरको आयो किनकि धेरै स्रष्टा अल्पायुमै बित्नुभयो । काम गर्दागर्दै बित्नुभयो। उहाँका समकालीन धेरै छुटे। उहाँको नछुटोस् भन्ने लागेरै किताब लेखिहालेको हो। कम्तीमा नयाँ पुस्ताले पढून्, चिनून् भन्ने हो।’
खरेल पुस्तकलाई गजमेरको आत्मकथा मात्रै मान्दैनन्, उनी बाँचेको समयको संगीतको स्वर्णकाल आएको बताउँछन्। भन्छन्, ‘उहाँको आत्मकथाको रमाइलो पक्ष के भने दार्जिलिङ-काठमाडौं र बम्बईसहित तीन वटै ठाउँको संगीतको स्वर्ण युग आउनु पनि हो।’
खरेलका अनुसार गजमेरको दार्जिलिङ, काठमाडौं, बम्बईको संगीतमा ठूलो योगदान छ। तीन वटै भूमिले जन्माएको गीत–संगीतमा उनले काम गरेकाले पनि स्वर्णकाल युग मोहनी मादलमा पढ्न पाइने बताउँछन्, खरेल। दार्जिलिङको किशोर, जसले नौ लाख ताराजस्तो गीत रेकर्ड गर्यो, बाजा बजायो। गजमेर राष्ट्रिय गीतका संगीतकार अम्बर गुरुङसँग कोलकाता गएर गीत रेकर्ड गरी रेडियो बजाउने व्यक्तित्व हुन्।
खरेल भन्छन्, ‘त्यतिबेला पैसा हुन्थेन तर गीत आयो। सिर्जना आयो। कालजयी गीत आयो। हिउँद महिना। स्कुलको छुट्टी लिएर, चिसो छिँडीमा सुतेर दुःख गरेर गीत नकाल्नु आफैंमा चुनौती थियो।’
खरेल यस्ता स्रष्टाको किताब र डकुमेन्ट्री बनाएर राज्यले ‘अर्काइभिङ’ गर्नुपर्ने बताउँछन्। उनलाई कयौं स्रष्टाको किताब नआउनुको कारण त्यो बेला राज्यले प्रभावकारी भूमिका वहन नगरेको लाग्छ। नेपाल प्रज्ञा प्रतिष्ठानजस्ता सरकारी संस्थाले पुराना स्रष्टालाई नचनिकाले धेरै स्रष्टाका किताब आउन नसकेको बताउने खरेल भन्छन्, सरकारी संस्था छन्। प्रज्ञा छन्। राज्यले ध्यान दिनुपर्ने हो। यस्ता स्रष्टाका किताब लेख्नुपर्थ्यो। लेखेनन्। हामीले व्यक्तिगत तर्फबाट गर्नुपर्यो। सरकारले गर्नुपर्ने काम पनि व्यक्तिगत गर्दा खुसी छौं।’