शनिबार, वैशाख ८, २०८१

मधेस प्रदेशका बलिया बागी

मधेस प्रदेशका प्रतिनिधिसभा र प्रदेशसभामा आधाभन्दा बढी स्वतन्त्र उम्मेदवार रहेका छन्। यीमध्ये पनि केही स्वतन्त्र उम्मेदवार भने शक्तिशाली देखिएका छन्।
 |  बिहीबार, कात्तिक २४, २०७९

खिला कार्की

खिला कार्की

बिहीबार, कात्तिक २४, २०७९

वीरगञ्ज– मधे प्रदेशका आठ जिल्लामा प्रतिनिधिसभाका ३२ वटा निर्वाचन क्षेत्र र प्रदेशसभाका ६४ वटा निर्वाचन क्षेत्र छन्। ३२ निर्वाचन क्षेत्रका लागि प्रतिनिधिसभा सदस्य पदमा ५९१ जना उम्मेदवार छन्। तीमध्ये २९७ जना स्वतन्त्र छन्। यस्तै, प्रदेशसभाका ६४ सिटमा १ हजार ७ जना उम्मेदवार छन्। यीमध्ये ५४७ जना स्वतन्त्र उम्मेदवार छन्। 

triton college

मधेश प्रदेशका प्रतिनिधिसभा र प्रदेशसभामा आधाभन्दा बढी स्वतन्त्र उम्मेदवार रहेका छन्। यीमध्ये पनि केही स्वतन्त्र उम्मेदवार भने शक्तिशाली देखिएका छन्। मधेश प्रदेशका प्रतिनिधिसभामा राष्ट्रिय राजनीतिमा चर्चा कमाएका नेताहरु पनि स्वतन्त्र उम्मेदवार बनेका छन्। यसरी स्वतन्त्र उम्मेदवार बन्नेमा रौतहट– ३ बाट प्रभु साह, सर्लाही–४ बाट अमरेशकुमार सिंह, सिरहा–१ बाट सरिता गिरी राष्ट्रिय राजनीतिमा चर्चा कमाइसकेका नेताहरु हुन्।

यीमध्ये सिरहा–१ बाट उम्मेदवार बनेकी सरिता गिरीको प्रभाव भने कमै देखिएको छ। सद्भावना पार्टी छोडेर स्वतन्त्र उम्मेदवार बनेकी गिरीको प्रभाव सिरहा–१ मा पुग्दा कमै देखियो। त्यस्तै, नेकपा एमालेका नेता सुमनराज प्याकुरेलले सप्तरी क्षेत्र नम्बर १ मा आफ्नै भान्जीज्वाइँ डा. रोहित पोख्रेललाई मैदानमा उतारेका छन्।

विपक्षी गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार नवलकिशोर साहले टिकट पाएपछि एमालेका कार्यकर्ता रुष्ट थिए। तिनले साहलाई भोट नदिने देखेपछि ‘पहाडे सेन्टिमेन्ट’ भजाउँदै ३ वटा पालिकामा छरिएको पहाडी समुदायको मत तान्न पोख्रेललाई स्वतन्त्र उम्मेदवारको रुपमा अगाडि सारिएको हो। पोखरेलको पनि प्रभाव जित–हारका लागि निर्णायक बन्ने अवस्थाको नभएको स्थानीय पत्रकारहरुले बताएका छन्। 

दुई गठबन्धनलाई चुनौती दिँदै अजय 
नेपाली कांग्रेस पर्साका पूर्वसभापति अजय द्विवेदी पार्टीले पर्सा क्षेत्र नम्बर १ गठबन्धनमा रहेको दल लोकतान्त्रिक समाजवादी पार्टीलाई दिएपछि विद्रोह गरेर चुनावी मैदानमा छन्। अजयले सत्ता गठबन्धनको तर्फबाट उठाइएका लोसपाका नेता लक्ष्मणलाल कर्ण र प्रतिपक्षी गठबन्धनका तर्फबाट तयार पारिएका पूर्व वनमन्त्री समेत रहिसकेका प्रदीप यादवलाई चुनौती दिने मात्र होइन, राजनीतिक समीकरण नै आफ्नो पक्षमा पार्ने सम्भावना रहेको विश्लेषण पनि गर्न थालिएको छ। 

corrent noodles
Metro Mart

कर्णको साविकको निर्वाचन क्षेत्र ४ नम्बरबाट क्षेत्र नम्बर १ मा लगिएकोले उनी त्यहाँ नयाँ भएको र यादवले मन्त्री भएर पनि खास काम गर्न नसकेको फाइदा द्विवेदीलाई पुग्ने देखिन्छ। अहिलेसम्म गठबन्धनका कर्ण र जसपाका यादवभन्दा मतदातासँग भिजेका अजय बलिया देखिएको चुनावी माहोलले देखाएको छ।

सत्ता गठबन्धनका उम्मेदवार कर्ण कांग्रेसको भरमा छन्। तर कांग्रेसका नेताहरु पार्टीको निर्णय स्वीकार गरे पनि कार्यकर्ताहरुलाई नियन्त्रण गर्न सकेका छैनन्। त्यस्तै एमाले र जसपाको गठबन्धनका उम्मेदवार प्रदीप यादवलाई एमालेले उम्मेदवार बनाएपछि एमालेका नेता कार्यकर्ता असन्तुष्ट बनेका छन्। कतिपय एमाले नेताकार्यकर्ताले पार्टी नै परित्याग गरेका छन्। यो क्षेत्रमा चुनाव प्रचार प्रसारलाई हेर्दा पनि द्विवेदी नै अगाडि देखिन्छन्। 

नयाँ प्रयासमा लागेका साह 
माओवादी केन्द्रमा रहेका बेलामा प्रभावशाली नेता प्रभु साहले नेकपाको विभाजनपछि माओवादी छोडेर नेकपा एमाले रोजे। साहलाई नेकपा एमालेले रौतहट ३ बाट उम्मेदवार पनि बनायो। उनले एमालेको टिकट गोजीमा राखेर स्वतन्त्रमा उम्मेदवारी दिए। २०६४ सालयता लगातार यो क्षेत्रबाट चुनाव जितेर सांसद र मन्त्री समेत भइसकेका साहलाई चुनौती दिने कांग्रेस एमाले माओवादी कुनै दलका उम्मेदवार छैनन्। सत्तारुढ गठबन्धनले साहलाई सहयोग गर्ने निर्णय गरिसकेको छ।

प्रभु साह। 
एमालेलाई चुनौती दिएर स्वतन्त्र उम्मेदवार बनेर आफ्नो प्रभाव देखाउने नयाँ प्रयासमा लागेका साहलाई स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाल चुनौती बनेका छन्। नेपाली कांग्रेसका रौतहट सभापति एवं सत्ता गठबन्धनका प्रदेश ‘ख’ का उम्मेदवार जितेन्द्र यादव र सत्ता गठबन्धनका ‘क’ का उम्मेदवार एवं नेकपा एसका नेता एवं मधेस प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन राज्यमन्त्री नागेन्द्र यादवको समर्थन जयसवाललाई हुँदा साहलाई चुनौती थपिएको छ। तर माओवादी नेताहरु भने साहको पक्षमा खुलेर भोट मागेका छन्। 

बागी अमरेश
२०७० र २०७४ सालको निर्वाचनमा लगातार विजयी नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले टिकट नपाएपछि सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धनले कांग्रेसका पूर्व जिल्ला सभापति तथा पूर्वसांसद नागेन्द्रकुमार रायलाई टिकट दिएपछि सिंहले त्यसलाई चुनौती दिँदै आफैं उम्मेदवारी दर्ता गराएका हुन्।

त्यहाँ उनलाई सबैभन्दा बलियो उम्मेदवार मानिएको छ। अर्काेतर्फ गठबन्धनको अर्को दल माओवादी केन्द्रका पूर्वसांसद शिवपूजन यादवले पनि आफ्नी छोरी मधुमालालाई स्वतन्त्रबाट चुनावी प्रतिस्पर्धामा उतारेका छन्। यसअघि अमरेशका प्रतिद्वन्द्वी शिवपूजन रातो पासपोर्ट दुरुपयोग काण्डमा परेकाले उम्मेदवारीबाट बञ्चित भए। तत्कालीन मधेशी जनअधिकार फोरमबाट शिवपूजन २०६४ सालको निर्वाचनमा अमरेशलाई पराजित गरी संसद् छिरेका थिए।

अमरेशकुमार सिंह।
शिवपूजन बीएस्सी नर्सिङ गरेकी छोरी मधुमालाको प्रचारप्रसारमा आफैं कुदिरहेकाले कतिपयले यो क्षेत्रमा अमरेश भर्सेस शिवपूजन हुने अनुमान गरेका छन्। शिवपूजनले आफ्नै छोरीलाई चुनावी मैदानमा उतारेपछि र आफ्नै पार्टीका उम्मेदवारका विरुद्धमा अमरेशले विद्रोह गरेपछि सर्लाही क्षेत्र नम्बर ४ को प्रतिष्पर्धा रोचक बनेको छ। यहाँ गठबन्धनका उम्मेदवार भन्दा बागी उम्मेदवारबीच प्रतिष्पर्धा हुन्छ कि भन्ने अनुमान स्थानीय बुद्धिजीवीहरुको छ। 

ठूला दलको साथ पाएका बागी खड्का 
२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले सर्लाही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। यो क्षेत्रमा सत्ता गठबन्धनबाट लोसपाका रामप्रकाश चौधरी उम्मेदवार छन्। एमाले–जसपाको गठबन्धनले जसपाका निर्वतमान सांसद प्रमोद साहलाई उम्मेदवार बनाएको छ। 

यो क्षेत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का स्थानीय नेताहरूले केन्द्रको गठबन्धनविरुद्ध संयुक्त प्यानल बनाएका छन्। खड्काको प्यानलबाट प्रदेशसभातर्फ ‘क’ मा माओवादी केन्द्रमा रामचन्द्रसिंह कुशवाहा र ‘ख’मा कांग्रेसका राजन श्रेष्ठले उम्मेदवारी दिएका छन्। केन्द्रमा भएको सहमतिअनुसार सत्तारुढ गठबन्धनको प्रतिनिधिसभा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र विपक्षी गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा)को भागमा उक्त क्षेत्र परेको छ। 

मधेश आन्दोलनताका चुरेभावर एकता संघर्ष समितिले भड्काएको पहाडी–मधेशी भावनालाई आधार बनाई चुनाव जित्ने रणनीति तयार पारेको देखिन्छ। उनी त्यस क्षेत्रका प्रभावशाली नेता मानिन्छन्। लोसपाका रामप्रकाश चौधरीलाई टिकट दिइएपछि गठबन्धनबाट टिकटका आकांक्षी कांग्रेसका पूर्व जिल्ला सभापति शम्भु श्रेष्ठले खड्कालाई सघाउन सक्ने हुनाले उनी यहाँ राम्रो अवस्थामा रहेको बताइन्छ। पहाडी मतदाता राम्रो रहेको यस क्षेत्रमा लोसपाका चौधरीलाई मतदान गर्नुभन्दा एमालेका खड्कालाई मत दिनु ठिक भन्ने मानसिकताले खड्का बलियो अवस्थामा रहेको विश्लेषण गरिन्छ।

स्थानीय चुनावको आडमा उम्मेदवारी दिएका थापा 
महोत्तरीको बर्दिवास–११ का स्थायी बासिन्दा पोषण थापाले यातायात व्यवस्था विभाग कार्यालय बर्दिबासको शाखा प्रमुखबाट राजीनामा दिएर महोत्तरी १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। त्यसअघि जलेश्वरको नापी शाखा र कर कार्यालयमा समेत काम गरिसकेका थापा गएको स्थानीय निर्वाचनमा स्वतन्त्रबाट बर्दिवास नगरपालिकाको मेयर पदमा विजयी प्रल्हाद क्षेत्रीको समर्थनमा मैदानमा उत्रिएका हुन्। 

क्षेत्री नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा मेयरको उम्मेदवार नबनाएपछि स्वतन्त्र उम्मेदवार बनेर चुनाव जितेका थिए। थापा पनि कांग्रेस समर्थक हुन्। २०६४, २०७० र २०७४ को निर्वाचनमा यही क्षेत्रबाट संसद्मा पुगिसकेका नेकपा माओवादीका प्रभावशाली नेता गिरिराजमणि पोखरेललाई चुनौती दिन अगाडि आएका थापा स्थानीय तहको चुनावमा मेयर क्षेत्रीले पाएको मत आफूतिर तान्ने योजनामा देखिन्छन्।

तर २०६४, २०७० माओवादीको तर्फबाट र २०७४ मा एमालेको समेत साथमा जितेका पोखरेल यहाँका बलिया उम्मेदवार हुन्। स्थानीय तहको निर्वाचनमा यो क्षेत्रबाट माओवादीको नतिजा खराब निस्किएको थियो। अझ स्थानीय चुनावमा क्षेत्रलाई सहयोग गरेका लोसपाका नेता शरदसिंह भण्डारीको सद्भाव समेत स्वतन्त्र उम्मेदवार थापालाई भएको बताइन्छ। 

प्रकाशित: Nov 10, 2022| 13:22 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...