काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न आवश्यक नरहेको उल्लेख गर्दै जनताको सेवकको रूपमा सधैँ काम गर्ने बताएका छन्। बेनिघाट रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनको बुधबार उद्घाटन गर्दै उनले आफू किसान मजदुरको छोरा रहेको बताए।
गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाले गरेको काम र जनताप्रतिको सेवा भावबाट आफू प्रभावित भएको बताउँदै प्रचण्डले भने, 'म भगवान होइन। तपाईंहरूको सेवाको निम्ति धेरै वर्षदेखि समर्पित जनताको सेवक हुँ। तै पनि कृष्ण थपलिया जीले मलाई जुन रूपमा प्रस्तुत गर्नुभयो, उहाँको भावना र स्पिरिटलाई म कदर गर्छु र उहाँलाई धन्यवाद भन्न चाहन्छु।'
समारोहमा पार्टी नेता राजेन्द्र पाण्डेले आगामी निर्वाचनपछि प्रचण्डलाई फेरि प्रधानमन्त्रीको रूपमा देख्न चाहेको बताएपछि संयोजक प्रचण्डले भने, 'मलाई अब प्रधानमन्त्री नै भएर मात्रै देशको काम गर्न सकिन्छ भन्ने त लागेको छैन। प्रधानमन्त्री बन्ने त्यस्तो धेरै रुचि र त्यसको निम्ति चाहिँ मरिहत्ते इच्छा पनि छैन। तर देशले माग्यो, जनताले माग्यो भने फेरि जिम्मेवारीबाट पन्छिने पनि मेरो प्रकृति होइन।' उनले पाण्डेले व्यक्त गरेको भरोसाप्रति आभार व्यक्त गर्दै जनताले चाहने र देशले आवश्यक ठानेमा जिम्मेवारीबाट कहिल्यै पछि नहट्ने बताए।
सम्बोधनको क्रममा संयोजक प्रचण्डले बुढीगण्डकी जलविद्युत् आयोजनालाई अघि बढाउने विषयमा आफूले प्रधानमन्त्रीका रूपमा गरेको प्रयास र लगानी जुटाउने कोसिसको स्मरण गरे। उनले प्रधानमन्त्री भए पनि नभए पनि परियोजनाप्रति आफ्नो जिम्मेवारी कायमै रहने बताए।
प्रचण्डले गणतन्त्र स्थापनापछि देशले ऊर्जा, भौतिक पूर्वाधार, स्वास्थ्य र जीवन प्रत्याशामा अभूतपूर्व प्रगति गरेको बताए। ९० प्रतिशत घरधुरी विद्युत् पुग्नु, लाखौँ किलोमिटर सडक विस्तार र सरदर आयु ७१–७२ वर्ष पुग्नु जनताको त्याग र राजनीतिक संघर्षको परिणाम भएको उनको धारणा थियो।