काठमाडौं- नेपाल चिकित्सक संघले गोरखामा आक्रमणमा परेका डा. अविनाश पराजुलीमाथि हातपात गर्नेहरुलाई तत्काल कानुनी कारबाही गर्न माग गरेको छ।
डा. पराजुलीमाथि गत कात्तिक ६ गते गोरखा जिल्ला अस्पतालको बहिरंग विभागमा बिरामी हेरिरहेको अवस्थामा शारीरिक हातपात गरिएको थियो। उक्त घटनाप्रति संघले घोर भत्र्सना र निन्दा गरेको छ।
संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा निरन्तर स्वास्थ्य सेवा प्रवाह गरिरहेको अवस्थामा चिकित्सकमाथि नै शारीरिक हातपात, अभद्र व्यवहार र धम्की दिने जस्तो अत्यन्तै अमानवीय क्रियाकलापले समग्र स्वास्थ्य सेवा प्रवाहमा नकरात्मक असर पर्ने भएकोले सो घटनामा संलग्न दोषीलाई अविलम्ब छानबिन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो) संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाही गर्न र स्वास्थ्य संस्थामा आवश्यक शान्ति सुरक्षा प्रदान गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाउन नेपाल चिकित्सक संघ स्थानीय सुरक्षा निकाय एवं नेपाल सरकार समक्ष जोडदार माग गर्दछ।'