लन्डन- संयुक्त अधिराज्य बेलायतको प्रधानमन्त्री कन्जरभेटिभ सांसद ऋषि सुनक नियुक्त भएका छन्। मंगलबार बेलायती राजा चार्ल्सले सुनकलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
यसअघि कन्जरभेटिभ पार्टीको नेताका लागि सुनकको एकल उम्मेदवारी परेको थियो। संसदको तल्लो सदन 'हाउस अफ कमन्स'को सबैभन्दा ठूलो दलको नेतालाई राजाले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ। तल्लो सदनमा सुनक आबद्ध दल कन्जरभेटिभ पार्टीका ३५७ जना सांसद छन्।
दलको नेताका लागि प्रतिस्पर्धामा रहेकी पेन्नी मोर्डन्टले पनि सुनकलाई समर्थन गर्दै उम्मेदवारी नै नदिएपछि सुनकको एकल उम्मेदवारी परेको थियो। कोरोनाकालमा अर्थमन्त्रीको कार्यभार सम्हालेर राम्रो व्यवस्थापन गरेका मानिने ४२ वर्षीय सुनक भारतीय मूलका बेलायती हुन्।
गत साता प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिने घोषणा गरेसँगै कन्जरभेटिभ पार्टीमा नयाँ नेताको खोजी सुरु भएको थियो। ट्रसले प्रधानमन्त्रीमा चयन भएको ४५ दिनमै राजीनामा दिएकी थिइन्। अर्थतन्त्रलाई गति दिने वाचा पूरा गर्न नसकेको भन्दै ट्रसले राजीनाको घोषणा गरेकी थिइन्।
विभिन्न विवादमा परेसँगै त्यसअघिका प्रधानमन्त्री जोन्सनले राजीनामा गरेका थिए। त्यसपछि दलको नेताका लागि ट्रस र सुनकबीच प्रतिस्पर्धा भएको थियो। ट्रसले सुनकलाई पराजित गरी बेलायतको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्।
सुनक बेलायती राजा चार्ल्सले नियुक्त गरेका पहिलो प्रधानमन्त्री बनेका छन्। आमा एलिजाबेथको मृत्यु भएपछि चार्ल्स केही साताअघि मात्रै बेलायतको राजा बनेका हुन्।
बेलायतमा प्रधानमन्त्री बन्ने गैरश्वेत व्यक्तिमध्ये ऋषि पहिलो व्यक्ति बनेका छन्। उनी भारतीय मूलका हिन्दू परिवारका सदस्य हुन्। यसअघि बेलायतमा हिन्दू समुदायका व्यक्ति प्रधानमन्त्री बनेका थिएनन्। सुनकले सन् २००९ मा भारतको बैंगलोरमा भारतीय अर्बपति नारायण मुर्तीकी छोरी अक्षता मुर्तीसँग हिन्दू परम्पराअनुसार विवाह गरेका थिए। २०१७ को आमनिर्वाचनपछि उनले गीतामा हात राखेर सांसदको सपथ लिएका थिए।
बेलायती इतिहासमा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्नेमध्ये सुनक तेस्रो व्यक्ति बनेका छन्। २१० वर्षयता उनी सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने व्यक्ति बनेका छन्। सन् १८१२ मा रोबर्ट जेन्किन्सन ४२ वर्ष १ दिनको उमेरमा बेलायती प्रधानमन्त्री भएका थिए। सुनक ४२ वर्ष ५ महिना १२ दिनको उमेरमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। बेलायतका सबैभन्दा कान्छा प्रधानमन्त्री विलियम पिट हुन्। सन् १७५९ मा जन्मेका उनी २४ वर्षको हुँदा सन् १७८३ मा प्रधानमन्त्री बनेका थिए।