धनगढी- महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औं जन्मजयन्तीका अवसरमा सांस्कृतिक पर्व : गौरा पुस्तकको मंगलबार धनगढीमा विमर्श गरिएको छ।
डा. वद्री शर्मा विनाडीले लेखेको सांस्कृतिक पर्व : गौरा पुस्तकको बारेमा चर्चा गर्दे प्रा. डा. हेमराज पन्तले डा. विनाडीको संस्कृति सम्वन्धी अनुसन्धान निक्कै महत्वपूर्ण रहको बताउँदै भविश्यमा पनि यस्ता अनुसन्धान जारी राख्न आग्रह गरे।
सांस्कृतिक पर्व : गौराकै चर्चा गर्दे मदनपुरस्कारका विजेता रामलाल जोशीले सो पुस्तक जस्तै लोकसंस्कृतिमा लेखिएका पुस्तकलाई नेपालका विश्वविद्यालयका पाठ्यक्रममा समेट्नु पर्ने बताए।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अन्तरगतका विभिन्न विश्वविद्यालयमा प्राध्यापन गरेका डा. विनाडीले सो पुस्तक लेख्नुपूर्व गरेको अध्ययन, अनुसन्धानको स्मरण गरेका थिए। 'विभिन्न जिल्लामा फरक तरिकाले गौरा पर्व मनाइन्छ,' उनले भने, 'धेरै ठाउँमा दलित समुदायले गौरा मनाउनु हुन्न भन्ने मान्यता पनि छ। तर डडेल्धुराको अमरगढी नगरपालिकाको कडारा गाउँमा दलित समुदायले गौरा पर्व बृहतरुपमा मनाइने गरिएको छ।'
पहिले डडेल्धुराको निनाली गाउँमा २२ वटा गीत २२ दिन लगाएर गाउने अनि मात्र गौरा पर्व विसर्जन गर्ने चलन थियो डा. विनाडीले भने, माओवादी द्धन्द्धपछि त्यो चलनमा ह्रास आएर २२ गीत ७/८ दिनमा गाएर सक्ने परम्परा छ।
सो अवसरमा भाषा वचाउ अभियानका अभियन्ता गुणाकर पनेरुले सभा समारोहमा आफ्नै भाषामा बोले मात्र भाषा र संस्कृति जोगिने बताए । सांस्कृतिक पर्व : गौरा र महाकवि देवकोटाका बारेमा डा. राजेन्द्रवीर चन्द, डा. पुस्करराज भट्ट, वासुदेव पाण्डेय, पदमराज जोशी, हरिकृण्ण कडायतलगायतले चर्चा परिचर्चा गरेका थिए।
कार्यक्रममा युवायुवती र किशोरकिशोरीले देउसी भैलोका गीत र नृत्य प्रस्तुत गरेका थिए ।
सुदूरपश्चिम साहित्य साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रमको महासचिव गणेश नेपालीले सञ्चालन गरेका ।
२०७९ भदौमा प्रकाशित सो पुस्तक काठमाडौमा विमोचन भएको थियो । २०० रुपियाँ पर्ने सो पुस्तक १०९ पृष्ठको छ।