काठमाडौं- यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमान्ड) १ हजार ३०५ मेगावाट पुगेको छ। गत वर्ष लक्ष्मीपूजाको दिन विद्युतको पिक डिमाण्ड १ हजार २७० मेगावाट रहेकोमा यस वर्ष ३५ मेगावाट बढी पुगेको हो।
नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन सोमबार साँझ ६.१० बजे पिक डिमान्ड १ हजार ३०५ मेगावाट रेकर्ड गरेको हो।
प्राधिकरणका स्वामित्वका नदी प्रवाहमा आधारित विद्युतगृहरुबाट ४३५.२ मेगावाट, प्राधिकरणका सहायक कम्पनीको स्वामित्वका माथिल्लो तामाकोसी, खिम्ती–१ तथा चिलिमबाट ४८२.२ मेगावाट र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुबाट ७६७.५ मेगावाट विद्युत उत्पादन गरी आपूर्ति गरिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशहरुसहितको टोली स्यूचाटारस्थित भार प्रेषण केन्द्रबाट लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि खटिएको थियो। विनाअवरोध देशभरी विद्युत आपूर्ति गर्न प्राधिकरण सफल भएको छ।
विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले माग धान्ने मात्र हैन खपत हुन नसकेर बढी हुन थालेको छ। प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाको पिक डिमान्ड धान्नको लागि कुलेखानी जलाशययुक्त जलविद्युत केन्द्र समेत सञ्चालन गरेन। कुलेखानी पहिलोबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत उत्पादन हुन्छ।
यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ३८० मेगावाट विद्युत भारत निर्यात गरिएको र २०० मेगावाट विद्युत खपत गर्न नसकिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए। प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गरिरहेको छ ।
‘विगतमा लोडसेडिङ हुँदा लक्ष्मीपूजाको दिनको विद्युत खपतलाई पिक डिमान्ड मानिन्थ्यो भने अहिले त्यो अवस्था छैन, अरु बेला नै पिक डिमान्ड आउने गरेको छ,' कार्यकारी निर्देशक घिसिङले भने। ‘तिहारमा उद्योगकलकारखानाहरु र कार्यालय बन्द छन्। तराइमा गर्मी छैन र काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा जाडो पनि सुरु भइनसकेकोले अहिले विद्युत माग नआउने समय हो।’ उनले आन्तरिक रुपमा विद्युत खपत बढाउनु ठूलो चुनौती रहेको बताए।
प्राधिकरणले गत असार २८ गते देशभित्रको पिक डिमान्ड १७४७.५३ मेगावाट रेकर्ड गरेको थियो। देशभित्रको विद्युत खपत र भारततर्फको निर्यासहित लक्ष्मीपूजाको दिन प्रणालीको पिक डिमान्ड १६८५ मेगावाट रेकर्ड गरिएको छ। यस वर्ष संघीय राजधानी काठमाडौं उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमान्ड ३४२ मेगावाट छ। गत वर्ष ३२०.६४ मेगावाट थियो।
प्राधिकरणले पर्याप्त विद्युत रहेकाले ढुक्कसँग बत्ति बाल्न उपभोक्तहरुलाई आग्रह गरेको थियो । प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युत गृहका प्रमुख र प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो।