बाग्लुङ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आसन्न सङ्घ र प्रदेशको चुनाव पाँच दलीय गठबन्धनले जित्ने दाबी गरेका छन्। निसीखोला गाउँपालिका–४ को चुनावी सम्पर्क कार्यालय उद्घाटनमा उनले मङ्सिर ४ पछि सङ्घ र प्रदेशमा गठबन्धनको सरकार बन्ने बताए।
तीनै तहमा बन्ने गठबन्धन सरकारले मुलुकको विद्यमान अर्थ प्रणाली सुधार्ने र विकास, निर्माणका नयाँ अभियान शुरु गर्ने मन्त्री पौडेलले उल्लेख गरे। संविधानको प्रस्तावनामा उल्लेख भएअनुसार समाजवादको लक्ष्यमा अघि बढ्नुपर्ने धारणा राखे।
'उत्पीडित, श्रमजीवी वर्गको हित र उत्थानसँगै नागरिकलाई गाँस, बास, कपास, रोजगारीलगायतको ग्यारेन्टी राज्यले दिने समाजवादी प्रणाली अबको लक्ष्य हुनुपर्छ,' मन्त्री पौडेलले भने। बागलुङ–२ बाट उम्मेदवार बन्नुभएका मन्त्री पौडेलले संविधानको रक्षाका लागि गठबन्धन बनेको धारणा राखे। उनले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएको राजनीतिक प्रणाली गुम्ने खतरा पैदा भएपछि दलहरूबीच गठबन्धन बनेको स्पष्ट पारे।