काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन्। दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल प्रेस युनियनले राजधानीमा सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रेस स्वतन्त्रताको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताए।
'प्रेस स्वतन्त्रता प्रजातन्त्र र लोकतन्त्रको सुदृढीकरणका लागि आवश्यक छ। संविधानले प्रेस स्वतन्त्रतालाई कुनै बन्देज गरेको छैन, वर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई हस्तक्षेप गर्ने छैन,' उनले भने।
प्रेस स्वतन्त्रता नभए देशमा प्रजातन्त्रको विकास र सुदृढीकरण हुन सक्दैन भन्दै स्वतन्त्रताको पक्षमा सरकार उभिने विश्वास उनले दिलाएका थिए।
'प्रजातन्त्रका लागि प्रेस स्वतन्त्रता आवश्यक छ। पार्टी (नेपाली कांग्रेस)ले पनि कुनै बन्देज लगाएको छैन, संविधानले नै प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरेकाले यसको प्रवद्र्धनका निम्ति सबै लाग्नुपर्छ,' देउवाले भने। गठबन्धन सरकारले प्रेस स्वतन्त्रतालाई कुनै हस्तक्षेप र बन्देज नगरेको स्पष्ट पार्दै उनले सञ्चार जगत्ले जनताको पक्षमा कलम चलाउनुपर्ने धारणा राखे।
कार्यक्रममा कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले वर्तमान गठबन्धन सरकारले भ्रष्टाचार रोकेर सुशासन अभिवृद्धि गर्दै अर्थतन्त्रलाई सुधारको दिशामा अघि बढाएको दाबी गरे।
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले प्रतिगमनकारी शक्तिले गठबन्धनका विरुद्ध गलत प्रचार गरिरहेकाप्रति सजग रहँदै सत्यतथ्य सामग्री सम्प्रेषण गर्न सञ्चारमाध्यमको ध्यान जानुपर्ने बताए। नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरही र प्रेस युनियनका पूर्वअध्यक्ष किरण पोखरेलले लोकतन्त्रको सुदृढीकरण र परिवर्तनलाई संस्थागत गर्न कांग्रेस नेतृत्वको सरकार बन्न जरुरी रहेको बताएका थिए।
प्रेस युनियनका अध्यक्ष शिव लम्सालले संविधानको रक्षाका लागि सक्रिय रुपमा लाग्ने प्रतिबद्धता जनाए। आगामी निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको सरकारले मिडियासम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्याउने विश्वास उनको थियो। उपाध्यक्ष नकुल अर्यालले व्यावसायिक पत्रकारिताको विकाससँगै लोकतन्त्रलाई बलियो बनाउन सम्पूर्ण प्रजातन्त्रवादी पत्रकार सक्रिय हुनुपर्नेमा जोड दिएका थिए।