काठमाडौं- निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई स्पष्टीकरण दिन पठाएको पत्र पार्टी कार्यालयले नबुझी आयोगमै फिर्ता पठाइदिएको छ। नेता नेपाललाई सम्बोधन गरेर आयोगले स्पष्टीकरण पत्र पार्टी कार्यालयमा पठाएको थियो। नेकपा एसले पत्र बुझ्न नमानेपछि आयोगले नेता नेपाललाई हुलाकबाट र पार्टीलाई इमेलमा पत्र पठाउने तयारी आयोगले गरेको छ।
रौतहटमा आयोजित एक कार्यक्रममा मतदातालाई प्रलोभन पार्ने गरी फ्री भिसा दिने वक्तव्य नेपालले दिएका थिए। सोही विषयमा आयोगले नेपाललाई स्पष्टीकरण माग गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटलाई कारबाही प्रक्रिया अगाडि बढाउनसमेत पत्र लेखिसकेको छ।
निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (४) को खण्ड (च) मा कुनै किसिमले लोभ लाल देखाउने वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था छ। उक्त व्यवस्थाविपरीत कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा र २ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।