शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • संशोधन भयो निर्यात कार्यविधि: सिमेन्ट, क्लिंकरलगायत थप ६ वटा वस्तु निर्यातमा ८ प्रतिशत अनुदान

संशोधन भयो निर्यात कार्यविधि: सिमेन्ट, क्लिंकरलगायत थप ६ वटा वस्तु निर्यातमा ८ प्रतिशत अनुदान

कार्यविधिमा न्यूनतम अनुदान ४ र अधिकतम अनुदान ८ प्रतिशतसम्म तोकिएको छ।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

काठमाडौं– सरकारले निर्यातमा अनुदान दिने क्षेत्र फराकिलो बनाएको छ। शुक्रबारदेखि सिमेन्ट, क्लिंकर, स्टिलजस्ता थप ६ वटा उत्पादन निर्यातमा ८ प्रतिशत अनुदान दिने भएको छ। चालू आर्थिक वर्षको बजेटमार्फत विभिन्न थप ६ वटा वस्तु निर्यातमा ८ प्रतिशत अनुदान दिने घोषणा भए पनि कार्यविधि नबन्दा कार्यान्वयन भएको थिएन। 

National life

अर्थ मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरी ‘निर्यात अनुदान प्रदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९’ जारी गरेपछि निर्यातकर्ताले अबदेखि ती वस्तुको कुल निर्यात रकमको ८ प्रतिशतसम्म अनुदान पाउनेछन्। 

कार्यविधिअनुसार अबदेखि नेपालमा उत्पादित क्लिंकर सिमेन्ट, स्टिल, कत्था रोजिन तथा तार्पेन, प्लाइडउड, प्रशोधित पानी, फुटवेयर, सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस प्रोसेस आउटसोर्सिङजस्ता सेवा पहिचान गरी निर्यात गर्नेले यस्तो सुविधा पाउनेछन्। 

आयातमा वृद्धि र निर्यातमा कमी भएपछि देशको बाह्य क्षेत्रको अर्थतन्त्रमा दबाब पर्ने र सोको असर आन्तरिक अर्थतन्त्रमा पर्ने भएपछि अर्थमन्त्री जनार्दन शर्माले निर्यात बढाउन ८ प्रतिशत अनुदान दिने बजेटमार्फत कार्यक्रम ल्याएका हुन्। 

वाणिज्य मन्त्रालयले निर्यात कार्यविधि बनाउन ढिलाइ गरेका कारण अर्थमन्त्री शर्माले सोचेको समय नआएपछि शुक्रबारदेखि नै लागू हुने गरी कार्यविधि जारी भएको छ। केही सिमेन्ट उद्योगीले भने कार्यविधिलाई नपर्खीकनै निर्यात सुरु गरिरहेका छन्। 

Shivam cement

कार्यविधिमा न्यूनतम अनुदान ४ र अधिकतम अनुदान ८ प्रतिशतसम्म तोकिएको छ। ८ प्रतिशत अनुदान लिन उत्पादन गरेको वस्तुको कम्तीमा वार्षिक ५० करोड रुपैयाँ  बढी निकासी गरेको हुनुपर्नेछ। त्यस्तै, ४ प्रतिशत अनुदान पाउन निर्यात गरिएको वस्तुले ३० प्रतिशत मूल्यवृद्धि (भ्यालु एडिसन) गरेको हुनुपर्नेछ। 

यदि सोभन्दा कम मूल्य अभिवृद्धि गरेको छैन भने अनुदान पाउन योग्य हुँदैन। यदि मूल्य अभिवृद्धि ५० प्रतिशतसम्म छ भने ५ प्रतिशत अनुदान प्राप्त गर्नेछन्। यस्तै, ७० प्रतिशत मूल्य अभिवृद्धि छ भने ६ प्रतिशत अनुदान पाउनेछन्। 

राष्ट्रिय स्तरको सामूहिक ट्रेडमार्कमा दर्ता भई कुनै कम्पनीले निर्यात गरे ७ प्रतिशतसम्म निर्यात अनुदान प्राप्त गर्न सक्ने कार्यविधिमा व्यवस्था छ। कुनै पनि वस्तुको निर्यात अघिल्लो आर्थिक वर्षको भन्दा २० प्रतिशतले बढे अनुदान लिन योग्य हुनेछ। 

अनुदान लिन उद्योग विभागमा उद्योगीले कार्यविधिअनुसार निवेदन पेस गर्नुपर्नेछ भने अनलाइनबाटै आवेदन दिन पनि सकिने व्यवस्था छ। हालसम्म लागू भएको कार्यविधिअनुसार निर्यात वस्तुमा ५ र ३ प्रतिशत अनुदान दिइँदै आएको छ।

यो कार्यविधिमा १५ वटा वस्तुमा ५ प्रतिशत अनुदान दिइएको छ। जसअनुसार प्रशोधित चिया, कफी, क्रस्ट, पत्थर, पत्थर जडित गरगहना, हस्तकलालगायत वस्तु छन्। 

त्यस्तै, ११ वटा वस्तुमा ३ प्रतिशत  अनुदान दिइएको छ। यसमा स्वदेशी कपडा, तयारी पोसाक, गलैंचा, ऊनका सामान, च्यांग्र्रा पस्मिना तथा सोबाट उत्पादित सामान, जुटका उत्पादन, सुनचाँदीका गरगहना आदि छन्।

प्रकाशित: Oct 14, 2022| 16:52 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्