काठमाडौं- आगामी मंसिर ४ गते आइतबार एकै चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरुले तयारी तीव्र पारेका छन्। समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाइसकेका दलहरु प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने अन्तिम कसरतमा छन्।
उम्मेदवार चयन गर्ने मामलामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अगाडि देखिएको छ। एमालेले १६५ प्रतिनिधिसभा र २३० प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवार लगभग टुंगो लगाइसकेको छ। केही नयाँ अनुहारसहित एमालेले उम्मेदवारको सूची तयार गरेको छ।
अध्यक्ष केपी ओलीका आलोचक घनश्याम भुसाल र भीम रावलले टिकट पाएनन्। घनश्यामको क्षेत्रमा एमालेले राप्रपाका दीपक बोहोरालाई समर्थन गर्ने भएको छ भने भीम रावलको क्षेत्रमा माओवादीबाट एमालेमा प्रवेश गरेका झपट बोहोराले टिकट पाएका छन्।
केपी ओलीले प्रतिनिधिसभा विघटन गर्दा विरोध गरेका अन्य नेताहरूको पनि टिकट काटिएको छ। सिन्धुली–१ बाट गणेश पहाडी, कञ्चनपुर–३ बाट दीपकप्रकाश भट्ट, झापा–२ बाट पवित्रा निरौला खरेल, दैलेख–२ बाट राजबहादुर बुढासहितका निवर्तमान सांसदले टिकट पाएनन्। उनीहरू आआफ्नो निर्वाचन क्षेत्रबाट सिफारिस भएर आएका थिए।
एमालेले उम्मेदवार तय गरिसक्दा सत्ता गठबन्धनमा भने सिट बाँडफाँटकै अन्तिम टुंगो लागेको छैन। शुक्रबार राति प्रतिनिधिसभातर्फका १६५ सिटको सूची सार्वजनिक भएको त छ तर त्यो पूर्ण छैन। भनेजति सिट नपाएको भन्दै गठबन्धनबाट जसपा बाहिरिएको छ र एमालेसँग मिल्न पुगेको छ। केही सिट दिएर लोसपालाई गठबन्धनमा भित्र्याउने निर्णय भइसकेको छ।
प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये कांग्रेसलाई ८४, माओवादीलाई ४७, नेकपा एकीकृत समाजवादीलाई १९ र जनमोर्चालाई २ सिट दिने सहमति गठबन्धनमा भएको छ। बाँकी १३ सिटमा लोसपासँग छलफल गरी टुंग्याउने जिम्मा कांग्रेसलाई नै दिइएको छ। यसमध्ये १० वटा लोसपालाई दिएर बाँकी आफैंले लिने कांग्रेसको रणनीति छ। प्रदेशसभातर्फ लोसपाले १९ सिट पाउनेछ। उसले भने संघमा १५ र प्रदेशमा ३० सिट मागेको छ।
सप्तरी १ र २, सिरहा ४, धनुषा २ र ३, महोत्तरी ३ र ४, सर्लाही १, बारा २ र ३, पर्सा १ र ३ तथा बाँके १ को सिट बाँडफाँट गरिएको छैन। सत्ता गठबन्धनले दुई महिनाको प्रयासपछि प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका हुन्।
प्रदेशसभातर्फ प्रदेश १ मा कांग्रेसले २८, माओवादीले १६ र एकीकृत समाजवादीले ११ सिट लिने सहमति बनेको छ। मधेसमा २४ सिटको बाँडफाँट भएको छैन भने कांग्रेसले १७, माओवादीले १२ र एकीकृत समाजवादीले ११ सिटमा उम्मेदवारी दिने सहमति भएको छ। बागमतीमा कांग्रेसले ३५, माओवादीले २० र एकीकृत समाजवादीले ९ सिटमा उम्मेदवारी दिने तयारी छ।
गण्डकीमा कांग्रेसले २३, माओवादीले ११ र एकीकृत समाजवादीले २ सिटमा उम्मेदवारी दिने भएका छन्। लुम्बिनीमा कांग्रेसले २८, माओवादीले १८, कर्णालीमा कांग्रेसले ११, माओवादीले ९ र एकीकृत समाजवादीले ३ तथा सुदूरपश्चिममा कांग्रेसले १३ र माओवादीले १३ सिटमा उम्मेदवारी दिने सहमति बनेको छ।
नेकपा एसले उम्मेदवार टुंग्यायो
पाँच दलीय गठबन्धनको एउटा घटक नेकपा एकीकृत समाजवादीले गठबन्धनका बीचमा सिट बाँडफाँट टुंगो लागेसँगै आफ्नो भागमा परेको प्रतिनिधिसभाका १९ सिटमा उम्मेदवार तय गरेको छ।
प्रदेश १ बाट एकीकृत समाजवादीको भागमा परेको इलाम १ मा झलनाथ खनाल, उदयपुर २ मा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
मधेश प्रदेशमा रौतहट १ मा पार्टी अध्यक्ष माधवकुमार नेपाल, बारा ४ मा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानलाई उम्मेदवार बनाउने भएको छ।
बागमती प्रदेशबाट काठमाडौं ८ मा जीवनराम श्रेष्ठ, ललितपुर २ मा कृष्णलाल महर्जन, धादिङ १ मा राजेन्द्रप्रसाद पाण्डे, मकवानपुर २ मा विरोध खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीले जनाएको छ।
गण्डकी प्रदेशमा कास्की २ बाट श्रीनाथ बराललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। लुम्बिनी प्रदेशमा गुल्मी २ मा रामकुमारी झाँक्री, पाल्पा २ मा सोमप्रसाद पाण्डे, रुपन्देही २ मा राजु गुरुङ, दाङ १ मा मेटमणि चौधरीलाई उम्मेदवार बनाउने निर्णय नेकपा एसले गरेको छ।
कर्णाली प्रदेशबाट सल्यानमा प्रकाश ज्वाला, डोल्पामा धनबहादुर बुढा र दैलेख १ मा अम्बरबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
त्यस्तै सुदूरपश्चिमबाट अछाम १ मा शेरबहादुर कुँवर, बझाङमा भानुभक्त जोशी र डोटीमा प्रेम आलेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
यस्तो छ निर्वाचन कार्यतालिका
मंसिर ४ गते आइतबार हुने निर्वाचनका लागि असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने कार्यतालिका छ। उक्त दिन बिहान १० देखि बेलुका ५ बजेसम्म सम्बन्धित क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक कागजातसहित गएर मनोनयनपत्र दर्ता गराउन सकिने आयोगले जनाएको छ।
सोही दिन बेलुका ५ देखि ७ बजेसम्म मनोनयनपत्र दर्ता गरिएको उम्मेदवारको सूची प्रकाशन गरिने कार्यतालिका छ। यस्तै, असोज २४ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय निर्धारण गरिएको छ।
विभिन्न प्रक्रिया पूरा गरी असोज २६ गते दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका छ। आयोगका अनुसार सोही दिन अपराह्न ४ देखि बेलुका ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। मंसिर ४ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ।