मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शुक्रबार पनि दिनभर वर्षा हुने, यी क्षेत्रमा बाढीको जोखिम

शुक्रबार पनि दिनभर वर्षा हुने, यी क्षेत्रमा बाढीको जोखिम

देशका विभिन्न भागमा आज शुक्रबार पनि वर्षा भइरहेको छ। पछिल्ला चार दिनदेखि वर्षा जारी छ।
 |  शुक्रबार, असोज २१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २१, २०७९

काठमाडौं- देशका विभिन्न भागमा आज शुक्रबार पनि वर्षा भइरहेको छ। पछिल्ला चार दिनदेखि वर्षा जारी छ।

आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै  र लुम्बिनी तथा गण्डकी प्रदेशका एकदुई स्थानमा भारी देखी धेरै भारी वर्षाको सम्भावना रहेको छ।

विभागले आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै, लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखी धेरै भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने साथै कृषि, पर्यटन, पर्वतारोहणलगायत  दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ।

हाल नेपालमा मध्यपश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसका कारण मनसुनी प्रणाली सक्रिय छ।

यी क्षेत्रमा बाढीको जोखिम
केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण बाढी-पहिरोको जोखिम हुने क्षेत्रमा मानिसलाई सुरक्षित र सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी सूचना केन्द्रले वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी-पहिरो गइरहेको भन्दै सबैलाई सुरक्षित र सतर्क हुन आग्रह गरेको हो।

शुक्रबार बिहान ४ बजे गोरखा, धादिङ, लमजुङ, तनहुँ, पाल्पा, स्याङ्जा, नवलपरासी, कपिलवस्तु, दाङ, प्यूठान, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपास केही स्थानमा भारी वर्षा भएको र थप हुने भन्दै केन्द्रले उक्त जिल्लाका साना खोलामा आकस्मिक बाढी आउनुका साथै पहिरो जान सक्ने भउकाले दिउँसोसम्म सतर्क रहन आग्रह गरेको छ।

त्यस्तै बिहान साढे ४ बजे भेरी जलाधारका विभिन्न स्थानमा भारी वर्षा भई जलसतह सतर्कता/खतरा तह आसपास पुगेको केन्द्रले जनाएको छ। भेरी जलाधार पर्ने क्षेत्रमा थप वर्षा हुने देखिएकाले भेरी नदीको रिम्नादेखि कर्णाली दोभानसम्म अर्को ६ घण्टासम्म उच्च सतर्कता अपनाउन केन्द्रले अनुरोध गरेको छ।

यसैगरी बिहान ५ बजे पछिल्लो ३ घण्टा कञ्चनपुर, कैलालीको धेरै स्थानमा भारी वर्षा भएको र थप हुने, खुटीया, कान्द्रा, मोहना, सुहेली, चौधरलगायत क्षेत्रका साना खोलाहरूमा एक्कासी बाढी आउन सक्ने भएकाले होचा डुबान हुने स्थानमा दिउँसो १२ बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ।

प्रकाशित: Oct 07, 2022| 07:00 शुक्रबार, असोज २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।