काठमाडौं- अहिलेको समयमा मोबाइल फोन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ। हरेक समय हामी फोन प्रयोग गरिरहेका हुन्छौं।
मोबाइलसँग यति जोडिएका छौं, राति सुत्नु अघिसम्म मोबाइल स्क्रिनमै हराउने हामी बिहान उठ्नासाथै फोन मात्र देख्छौं। ब्युँझने बित्तिकै फोन चलाउने हाम्रो बानी भइसकेको छ। तर अध्ययनहरुले यसरी बिहान उठ्नासाथ मोबाइल चलाउँदा विभिन्न प्रकारका असर निम्तन सक्ने देखाएका छन्।
पछिल्लो समय बेलायतमा करीब दुई हजार व्यक्तिमा गरिएको सर्वेक्षणबाट बिहान उठे लगत्तै मोबाइल फोन प्रयोग गर्ने व्यक्तिहरुको दिनको शुरुआत तनावबाट हुने पाइएको छ। जसका कारण उनीहरुलाई आफ्नो नियमित काम गर्न असहज हुन्छ।
विज्ञहरुका अनुसार, उठ्ने बित्तिकै जब हामी मोबाइलको नोटिफिकेशन देख्छौं, मस्तिष्कले त्यही विषयमा सोच्न थाल्छ। जसको कारण हाम्रो ध्यान दोस्रो काममा जाँदैन। त्यसले हाम्रो कार्यक्षमतामा असर पुर्याउँछ।
बिहान उठ्नासाथ जब हामी कुनै विषयमा सोच्छौं, लगातार त्यसबारे सोच्दा हामीलाई तनाव र व्याकुलता हुन थाल्छ। बिहान कतिपय व्यक्तिको रक्तचाप बढेको अवस्थामा हुन्छ, यस्तोमा धेरै तनाव लिंदा रक्तचाप थप बढ्न सक्छ। जसका कारण विभिन्न स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन सक्छ।
बिहान मोबाइल चलाउँदा हामी सामान्यतया इमेल वा सोसल मिडियाको नोटिफिकेशनमै आँखा लगाइरहेका हुन्छौं, त्यस क्रममा हामी बितेका समयका कुरा पढिरहेका हुन्छौं। हामी आफ्नो वर्तमान बिर्सेर अतीतमा हराउन थाल्छौं। जसले गर्दा तपाईंको दिनको शुरुआत राम्रो हुँदैन।
विज्ञहरु बिहान उठे लगत्तै मोबाइल फोन नचलाउन सुझाव दिन्छन्। तपाईं दिनको शुरुआत योग वा ध्यानबाट गर्न सक्नुहुन्छ। त्यसले मन र मस्तिष्कमा शान्ति र ऊर्जा भर्छ र तपाईं आफ्नो दैनिक काम प्रभावकारी ढंगले गर्न सक्नुहुन्छ।
रातिको समय मोबाइलमा लगातार हेर्ने लतले युवाहरूको स्वास्थ्य बिगारिरहेको अध्ययनले देखाएको छ। सामाजिक सञ्जालमा भएका गतिविधिसँग अपडेट रहन युवाहरू दिनभरको काम सकेर सुत्नुअघि मोबाइल स्क्रोल गर्छन्।
तर, यो स्क्रोलिङ केही मिनेट भन्दा पनि धेरै घण्टासम्म चल्छ। यसले निद्रामा असर गर्छ र उनीहरु अन्य रोगको सिकार हुन्छन्।
रातको समयमा फोन चलाउने यो बानिलाई रिभेन्ज बेड टाइम प्रोक्रस्टिनेसन भनिन्छ। केही अध्ययनहरूले पत्ता लगाएका छन् कि निकै राती सम्म मोबाईल हेरेर ढिलो सुत्दा उच्च रक्तचाप, मधुमेह, हृदय समस्या, साथै तौल बढ्ने र डिप्रेसन हुन सक्छ।
सबै कुरा थाहा हुँदाहुँदै पनि युवाहरू सुत्नुको सट्टा मोबाइल चलाउनाले यो अवस्था चिन्ताजनक रहेको एक अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले बताएका छन्। यस समस्याबाट छुटकारा पाउनको लागि स्क्रिन समय कम गर्न जरुरी छ।
वैज्ञानिकहरूले स्क्रिनको लतबाट टाढा रहनको लागि राती आफ्नो मनपर्ने कार्यक्रमहरू नहेर्न सुझाव दिन्छन्।
यदि तपाईं सुत्नु अघि सोसल मिडिया चलाउन चाहनुहुन्छ भने फोनमा टाइमर राखेर चलाउनुपर्छ। केही घण्टाको लागि एपका नोटिफिकेसनहरू ब्लक गर्न सक्नुहुन्छ। सुत्नुअघि पढ्ने, स्केच गर्ने, चित्र बनाउने, ध्यान गर्ने वा जानकारी मुलक कुराहरू खोज्ने प्रयास गर्नुहोस्। यसले स्क्रिन समय कम गर्न सहयोग हुन्छ।