शनिबार, जेठ ३०, २०८३

भैँसीपालनमा अनुकरणीय बन्दै नरनारायण

कृषिप्रति अनिच्छा र उपेक्षा बढिरहेको अवस्थामा सबैका लागि अहिले अनुकरणीय बनेका छन्, पाल्पा रामपुरका नरनारायण अर्याल।
 |  बुधबार, असोज १९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १९, २०७९

पाल्पा- कृषि व्यवसाय भनेपछि अझै पनि गाउँघरमा राम्रो दृष्टिले हेरिन्न। त्यसैमाथि पशुपालन गर्नेलाई समाजले झट्ट राम्रो काम भन्न सक्दैन। कृषिप्रति अनिच्छा र उपेक्षा बढिरहेको अवस्थामा सबैका लागि अहिले अनुकरणीय बनेका छन्, पाल्पा रामपुरका नरनारायण अर्याल। 

National life

रामपुर नगरपालिका–८ स्थित एक्लेटारमा सञ्चालित नागिनी एग्रो एण्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक अर्यालले पाल्पामा ठूलो भैँसीपालन व्यवसाय गरेका छन्। अहिले उनको व्यवसाय आयआर्जन गर्ने मात्रै नभई अन्यका लागि पशुपालन सिकाइ गर्ने थलो बनेको छ। यहाँ अवलोकन गर्न आउने जोकोहीले केही न केही नयाँ कुरा सिकेर फर्कने गर्दछन्।

तीनवर्षदेखि व्यवसाय सुरु गरेका अर्यालको फार्ममा हाल ७० बढी भैँसी छन्। फार्मका २४ दुहुना भैँसीबाट तीन सय ३० लिटर दूध दैनिक प्रतिलिटर १ सय ३० रुपेयाँका दरले बजारमा बिक्री गर्छन्। हाल उनले मासिक खर्च कटाएर १ लाख ५० हजार आम्दानी गर्छन्।

'बिगतका भैँसीपालनको अनुभवले यस व्यवसायमा राम्रो आर्थिक उपार्जन गर्ने सम्भावना मैले देखेको छु, जस्तोसुकै सङ्कट आइपरे पनि समाधान गर्न सकिने रहेछ', उनले भने 'बजारीकरणमा सहज भएपछि दुध बिक्री गर्ने पिरलो भएन, अर्कोतर्फ निश्चित समयमा पशु सङ्ख्या थपघट गर्न सकिने रहेछ।' 

कालीगण्डकी करिडोर सडक आडैमा रहेको यस भैँसी फार्म व्यवस्थित संरचना भित्र सञ्चालित छ। स्नातक तहसम्म अर्थशास्त्र विषय लिएर अध्ययन गर्नुभएका अर्यालको पढेर जीवनमा ज्ञान, सीप लिने, समाजमा प्रतिष्ठा र आयस्रोतका लागि जागिरभन्दा व्यवसाय नै गर्ने इच्छाअनुसार भैँसीपालन व्यवसाय रोजाइमा पर्‍यो।

Shivam cement

अहिले भैँसीपालनबाट आफूले आत्मसन्तुष्टि पाएको उनी बताउँछन्। सडक नजिकै रहेको यहाँको फार्ममा विभिन्न क्षेत्रका व्यक्ति भैँसीपालनको अवस्था बुझ्न आउँछन्। फार्ममा एक सय ५० माउ भैँसी पाल्ने लक्ष्य लिएका अर्यालले भैँसी रेखदेखका निम्ति हाल पाँच जनालाई रोजगार दिएका छन्। जग्गा प्रशस्त रहेकाले घाँसपातको समस्या छैन। तर दानाको महँगी बढ्दा खरिदमा साना तथा ठूला किसान मारमा परिरहेको गुनासो छ।

भारत  र मुलुकका विभिन्न स्थानमा पुगेर उन्नत जातका भैँसी खरिद गरी उनले व्यवसाय सुरु गरेका हुन्। फार्ममा सबैजसो भैँसी उन्नत जातका छन्। अर्यालले एक भैँसीको मूल्य १ लाख ३० हजारदेखि २ लाख ५० हजारसम्ममा खरिद गरेर ल्याएका हुन्। भैँसी खरिद र गोठ निर्माणमा हालसम्म करिब ३ करोड ५० लाख बराबरको लगानी परेको छ। उनले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण झिकेर व्यवसाय चलाएका छन्।

अहिले ठूलो क्षमताको चारैतिर फराकिलो एउटा गोठमा दुई लाइनमा भैँसी बाँधेर पालिएको छ। सङ्ख्या थप्ने तयारीमा रहेका अर्यालले गोठको संरचना निर्माण गरिरहेका छन्। हाल दुध मात्रै उत्पादन गरी बिक्री गरेका उनले दैनिक पाँच सय लिटर बढी दुध उत्पादन गरी पनिर, घ्यूलगायत दुग्धजन्य पदार्थ उत्पादन गर्ने सोच बनाएका छन्।

सामाजिक कामसँगै घरमै बसेर व्यवसाय गर्ने सोचका साथ ठूलो लगानीमा उनले भैँसीपालन गरेका हुन्। ब्रोइलर कुखुरापालन गरेका उनले दीर्घकालीन रुपमा आफ्ना लागि कमाइ गर्ने मात्र नभई अरुलाई पनि सिकाइयोग्य हुने उद्देश्यका साथ संरचना तयार पारेर भैँसीपालन व्यावसाय सुरुवात गरेको बताउँछन्।

'फार्ममा बसेर कामदारसँगै काममा खटिरहेको हुन्छु, दैनिकजसो भैँसीफार्म अवलोकन गर्न आइरहनुहुन्छ, कतिपय कृषक व्यवसाय चलाउन सल्लाह सुझाव लिन आउनुहुन्छ, स्वतन्त्र रुपमा आफ्नै व्यवसायमा जीवन चलाउन पाउँदा खुसी भएको छु', उनले भने ।      

विभिन्न सङ्घ संस्थाको जिम्मेवारी पदमा रहेका अर्याल फुर्सदका समय आफैँ फार्ममा बसेर काम गर्छन्। यहाँबाट ज्ञान सीप लिएर हिजोआज यस क्षेत्रमा भैँसीपालन गर्ने युवा बढ्दै गएका छन्।   -रासस

प्रकाशित: Oct 05, 2022| 17:05 बुधबार, असोज १९, २०७९
प्रतिक्रिया दिनुहोस्