मंगलबार, वैशाख २५, २०८१

कोरानापछिको दसैं मनाउन गाउँ फर्किंदैछन् यी गायक-कलाकार

काठमाडौंलाई कार्यथलो बनाएर नाम अनि दाम कमाएकाहरू र यही घरजम गरिरहेका गायक÷कलाकारहरू पनि कोरोनाका कारण दुई वर्ष दसैं मनाउन नपाएकामा यसपालि पुख्र्यौली थलो गाउँ फर्किंदैछन्।
 |  सोमबार, असोज १७, २०७९

राज सरगम

राज सरगम

सोमबार, असोज १७, २०७९

काठमाडौं- अघिल्लो दुई वर्ष कोराना महाव्याधीले धेरै नेपाली विदेशबाट स्वदेश फर्किन पाएनन्। सहर पसेकाहरू गाउँ फर्किन पाएनन्। जहाँ थिए, त्यही जसोतसो सम्झनामा चाड मनाए। यस पालिको दसैंमा पनि डेंगुुका कारण धेरै मानिस अस्पतालको बेडमा छन्। कोरोनाजस्तै जहाँको त्यही रोकिएर बस्नुपर्ने अवस्था भने छैन। त्यसैले धेरै मानिस दसैंमा गाउँ फर्किन सक्छन्। फर्किरहेका पनि छन्।

triton college

यो त भयो, सर्वसाधारणका कुरा। काठमाडौंलाई कार्यथलो बनाएर नाम अनि दाम कमाएकाहरू र काठमाडौंमै घरजम गरिरहेकाहरू पनि दसैं मनाउन आफ्नो पुख्र्यौली थलो गाउँ फर्किन्छन्। यस्तैमा कोरोनाकै कारण दुई वर्ष दसैं मनाउन नपाएका गायक÷कलाकारहरू पनि गाउँ फर्किंदैछन्। 

छक्कापञ्जा ४ को छायांकन चलिरहेका बेला दसैंले छोयो, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई। छक्कापञ्जा ४ का अभिनेता दीपकराज गिरी डेंगु संक्रमित भएपछि छायांकन रोकिएको थियो। त्यसो हुँदा पनि उनी दसैं मनाउन आफ्नो गृहजिल्ला गाउँ फर्किने तयारीमा छन्। 

‘मेरो मामाघर नै विराटनगर भएकाले त्यही जाने हो’, उनले भनिन्, ‘गत वर्ष कोरोनाका कारण दसैं मनाउन पाइएन। तर यसपालिको दसैं भव्य हुन्छजस्तो लाग्छ। धेरै वर्षदेखि नेपालीले मन खोलेर दसैं मनाउन पाएका छैनन्। यसपालि सबैले मनाउने हुँदा म पनि त्यसकै तयारीमा छु।’

अभिनेत्री तथा राप्रपा नेतृ रेखा थापाका लागि यो वर्ष दसैं विशेष रहने भएको छ। उनले भनिन्, ‘यो वर्षको दसैं मेरो चुनावमय हुनेछ।’ 

corrent noodles
Metro Mart

दसैंको वहानामा घर फर्किन पाइने र चुनावका लागि गाउँघर चहार्न सकिने हुँदा उनका लागि दसैं विशेष हुने भएको छ। उनी भन्छिन्, ‘अघिपछि म दर्शकमाझमा हुन्थें। हल–हलमा हुन्थें। अबदेखि हलमा होइन, गाउँघरका दिदीबहिनी, दाजुभाइमाझमै हुन्छु। घर–घरमा हुन्छु। यो अवसर मेरा लागि दसैंलाई जुटाइदिएको छ।’ 

उनी घोषणापत्र बनाएर मोरङ फर्किने तयारीमा छन्। 

चाडभरिमा दसैं प्रिय लाग्छ, गायिका रचना रिमाललाई। बाल्यकालको सम्झना गर्दै दसैं मनाउन उनी घर जाँदैछिन्। यसपालि गायिका रचनाले आफ्नै परिश्रमले निर्माण गरेको झापा चन्द्रगढीमा नयाँ घर बनाएकी छन्। पहिलो दसैं नयाँ घरमा बुबाआमाको हातबाट टीका थाप्ने, मामा घर जाने योजना छ। उनी भन्छिन्, ‘पहिले–पहिले नयाँ लुगा भएकाले हामी फुरुंग हुन्थ्यौं। नयाँ जामा लगाएर अरूका घर–घरमा पुगेर आफ्नो लुगा देखाइन्थ्यो। सबैले फुर्काउँथे, ‘आहा! कस्तो राम्री देखिएकी’, भन्थे। अहिले त्यस्तो नभए पनि दसैं मनाउन गाउँ गइन्छ।’

दर्जनौं गीतका गायक हेमन्त शर्मा पनि यसपालिको दसैं मनाउन गाउँ फर्किनेछन्। दसैं खर्च भनेर ५० हजार छुट्याएका शर्मा गृहजिल्ला रूपन्देहीको भैरहवा जाने तयारीमा छन्। उनी भन्छन्, ‘यसपालि टीका छ। घरमै मनाउने सोच बनाएको छु।’ 

काठमाडौंलाई कार्यथलो बनाएर नाम अनि दाम कमाएकाहरू र यही  घरजम गरिरहेका गायक÷कलाकारहरू पनि कोरोनाका कारण दुई वर्ष दसैं मनाउन नपाएकामा यसपालि पुख्र्यौली थलो गाउँ फर्किंदैछन्। 

आफ्नै गाडीमा भैरहवा जाने योजना बनाएका शर्माले ५० हजार खर्च गाडीमा लाग्ने तेलसहित  जोड रहेको बताउँछन्। हाल काठमाडौं बस्ने शर्माले भैरहवा पुग्दाको पेट्रोल मूल्यसहित ५० हजार खर्च जोहो गरेका छन्। बजारमा देखिएको रकम अभाव, सुस्ताएको व्यापार सबै कुरालाई हेरेर दसैंमा सकेसम्म कम खर्च गर्ने सोच रहेको शर्माले बताए।

सुर्खेत घर भएकी टीका पुन दसैं मनाउन गृहजिल्ला जाने तयारीमा छन्। दसैंका लागि भनेर ३ लाख रुपैया हाराहारी खर्च अनुमान गरेकी छन्। उनका छोराछोरी सानै छन्। 

आफ्नो बाल्यकाल थुप्रै रहर मारेर बिताएकाले पनि टीका छोराछोरीका हरेक रहर पूरा गर्ने कोसिसका कारण खर्च हुने देख्छिन्। टीकाको जिम्मेवारी भदाभदैको पनि छ। सँगै बस्दै आएका उनका दाइका छोराछोरीलाई टीका आफ्ना छोराछोरीसरह दसैं सपिङ गरिदिन्छन्। उनको काठमाडौं, दाङ र सुर्खेत ३ ठाउँ दसैंको समय बित्नेछ। 

रंगकर्मी पवित्रा खड्का पनि दसैं मनाउन गाउँ जाँदैछिन्। 

काठमाडौंमै दसैं मनाउने गायक-कलाकार 

दसैं अवसर पारेर कोही गाउँ फर्किन्छन् त कोही काठमाडौंमै दसैं मनाउँछन्। तर केही गायक, कलाकारले काठमाडौंमै घर बनाएपछि सहरकेन्द्रित दसैं मनाउँदै छन्। 

अहिलेका चर्चित गायक÷कलाकार गायक प्रकाश सपुत विगत दुई वर्षयता दसैं मनाउन गाउँ गएका छैनन्। अब उनको दसैं यतै काठमाडौंमा हुनेछ किनकि उनले काठमाडौंमा घर किनिसके। बाआमा काठमाडौं ल्याइसकेकाले उनको दसैं पनि राजधानीमै हुनेछ। 

धादिङ घर भएकी नायिका सोभिता सिम्खडाले पनि दसैं काठमाडौंमै मनाउनेछिन्। उनले भनिन्, ‘आधा दसैं ओशो तपोवनमा बित्नेछ। फूलपातीसम्म तपोवनमा हुने शिविरमा सामेल हुने सोविता अष्टमीका दिन घर जानेछिन्।’

केही वर्षअघिसम्म हरेक वर्ष दसैंताका तपोवनमा हुने शिविरका लागि केही रकम छुट्याउने सोभिताले अहिले त्यो खर्च गर्नुपर्दैन। उनी केही वर्षयता तपोवनमै स्थायी रूपमा बस्दै आएकी छन्। भन्छिन्, ‘पहिला–पहिला आफ्ना लागि सामान किन्दा रमाइलो लाग्थ्यो। अहिले अरूलाई किनिदिएर उनीहरूको अनुहारमा देखिएको खुसी देख्दा रमाइलो लाग्छ।’ 

दसैंका बेला घरमै बस्न रुचाउने अभिनेत्री करिष्मा मानन्धरको खासै ठूलो योजना छैन, दसैंमा। उनका अनुसार यो दसैंमा नातेदार भेट्ने, देश–विदेशमा रहेका साथीभाइलाई भेट्ने योजना बनाएकी छन्, उनले। भन्छिन्, ‘दसैंको वहानामा सकेसम्म धेरैभन्दा धेरै आफन्त र छुटेका साथीहरूलाई भेट्न पाइयोस्।’

अभिनेत्री गौरी मल्ल पनि तामझामका साथ दसैं मनाउने सोचमा छैनन्। बालापनको दसैं खास हुन्छ तर उमेर बढ्दै गएपछि फरक लाग्न थालेको अनुभव सुनाउँछिन्, उनी। भन्छिन्, ‘दसैं खासमा केटाकेटीका लागि रमाइलो हो। दसैं हाम्रो पारम्परिक चाड हो। म तामझाम गर्दिनँ। शाकाहारी भएका कारण दसैंमा मासु खाने भन्ने पनि हुँदैन। अरूको घरमा जस्तो माहोल मेरो घरमा हुँदैन। टीका, जमराको महत्त्व छुट्टै छ। हाम्रो हिन्दु संस्कृतिमा त्यहीअनुसार परिवारसँग बसेर दसैं मनाउँछु’, उनले भनिन्। 

दसैं मनाउन प्रायः झापा पुग्ने हास्य कलाकार मनोज गजुरेल यसपालि काठमाडौंमै मनाउँदै छन्। सबै परिवार काठमाडौंमै भएकाले उनी कार्यक्रमका लागि मात्रै ताप्लेजुङ र झापा पुग्नेछन्। तर टीकाका दिन उनी काठमाडौंमै हुनेछन्। उनले भने, ‘आमाको हातको टीका थाप्छु अनि आफन्तसँग खानपान र गफगाफमा दसैं मनाउँछु।’ 

गायक प्रमोद खरेल अघिल्ला वर्षमा दसैं मनाउन झापा जाने गर्थे तर अहिले उनी काठमाडौंमै दसैं मनाउने सोचमा छन्। चितवनमा हुने कन्सर्ट, फूलपातिका दिन झापामा हुने शो, नवरात्रिका दिन सिन्धुपाल्चोकमा गरिने कार्यक्रममा उनी व्यस्त हुनेछन्। दसैंका दिन बाआमाको हातको टीका लगाएर दसैं मनाउनेछन्। भन्छन्, ‘टीकाको दिनमा अहिलेसम्म काठमाडौंमा थिइनँ। प्हिला–पहिला झापामै दसैं मनाउँथे। यसपालि काठमाडौंमा दसैं मनाउनेछु।’ 


प्रकाशित: Oct 03, 2022| 09:32 सोमबार, असोज १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।