शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दसैंका लागि मुस्ताङबाट पोखरा ल्याइँदै १२ हजार भेडाच्यांग्रा

दसैंका लागि मुस्ताङबाट पोखरा ल्याइँदै १२ हजार भेडाच्यांग्रा

दसैंमा मार हान्न मुस्ताङबाट पोखरासम्म चार दिन हिँडाएर ल्याइँदै भेडाच्यांग्रा।
 |  शनिबार, असोज ८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज ८, २०७९

पोखरा– दसैंका लागि मुस्ताङबाट १२ हजार भेडाच्यांग्रा पोखरा ल्याइने भएको छ। पोखरामा दसैंका बेला भेडाच्यांग्रा बढी खरिद बिक्री हुने गरेको छ। पोखरा र आसपास क्षेत्रमा विशेषगरी च्यांग्रा माग बढ्दो छ। पोखरामा मुस्ताङका साथै छिमेकी चीनबाट पनि भेडाच्यांग्रा ल्याइने गरेकामा यस वर्ष कोराला नाका नखुल्दा नआउने भएको छ।

National life

च्यांग्राको बढ्दो मागसँगै मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, ल्होघेकर दामोदर कुण्ड र ल्होमन्थाङ गाउँपालिकामा च्यांग्राको व्यावसायिक पालन बढ्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मुस्ताङका सूचना अधिकारी ऋषिराम पोखरेलले बताए।

उनका अनुसार मुस्ताङको ल्होघेकर दामोदरकुण्ड गाउँपालिकामा स्थानीयवासीले करीब २० हजार भेडाच्यांग्रा पालेका छन्। त्यस्तै, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा १६ हजार भेडाच्यांग्रा पालन गरिएको छ। उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिकामा करिब १० हजार भेडाच्यांग्रा पालन गरिएको सूचना अधिकारी पोखरेलले जानकारी दिए।

पछिल्ला वर्षमा ऊनको व्यापार कम हुँदै गएपछि किसानहरू भेडाभन्दा पनि च्यांग्रातिर आकर्षित बनेका छन्। ल्होघेकर दामोदरकुण्ड, बारागुङ मुक्ति क्षेत्र र ल्होमन्थाङ गाउँपालिकामा अधिकांश च्यांग्रा पालन भइरहे पनि मुस्ताङका थासाङ र घरपझोङ गाउँपालिकामा भने बढी संख्यामा भेडापालन भइरहेको छ।

सामान्यतया च्यांग्रा जन्मेको चार वर्षपछि बेच्नयोग्य हुने गर्छ। पोखरामा घटस्थापनापछि भेडाच्यांग्राको व्यापार हुने गरेको छ। मुस्ताङबाट पोखरासम्म हिँडाएर भेडाच्यांग्रा ल्याउन करीब चार दिन लाग्ने भेडाच्यांग्रा व्यापारी सन्दीप गुरुङले बताए।

Shivam cement

‘हिमाली भेगबाट पहाडी भेगमा गाडीमा ल्याउँदा भेडाच्यांग्रामा श्वासप्रश्वासमा समस्या आउने गर्छ। त्यसैले हिँडाएर ल्याउँदा सुरक्षित पुर्‍याउन सकिन्छ,’ उनले भने, ‘हिँडाउँदै, चराउँदै ल्याउँदा बाटोमा हराउने समस्या भने छ।’

मुस्ताङबाट झर्ने भेडाच्यांग्राको जोमसोममा स्वास्थ्य परीक्षण गरेर पठाउने गरिएको पोखरेलले जानकारी दिए। विगतमा मुस्ताङसहित मुगु, डोल्पा, चीनबाट ल्याइने गरिए पनि यस वर्ष चीनबाट आउने सम्भावना नभएपछि बजारमा माग पुर्‍याउन गाह्रो हुने देखिएको छ।

हिमाली क्षेत्रमा जडीबुटी खाएर हुर्केका भेडाच्यांग्राको मासु स्वादिष्ट र स्वस्थकर हुने भएकाले पोखरामा वर्षेनि यसको माग बढ्दै गएको गुरुङले बताए। अघिल्लो वर्ष पोखरामा दसैंका बेला ६४ करोडको भेडाच्यांग्राको कारोबार भएको पोखरा महानगरपालिका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले बताए।–रासस

प्रकाशित: Sep 24, 2022| 14:49 शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्