सोमबार, असोज ५, २०८३

बिजुलीमा लगाइएको भ्याट हटाउने तयारी

 |  सोमबार, असोज ५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०८३

काठमाडौं। सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत विद्युत् महसुलमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने तयारी गरेको छ। 

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्तबीच आइतबार भएको छलफलमा बिजुलीमा लगाइएको भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति जुटेको हो। 

सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको चालू आवको बजेटमार्फत अन्तिम उपभोक्तालाई विक्री गरिने मासिक ५० युनिटभन्दा बढी विद्युत् खपतमा सहुलियत दरमा भ्याट लगाउने व्यवस्था गरेको थियो। 

त्यस अनुसार साउन १ गतेदेखि घरायसी ग्राहकले ५० युनिटभन्दा बढी विद्युत् खपत गरेमा ५ प्रतिशत र घरायसीबाहेकका व्यावसायिक तथा अन्य ग्राहकले १३ प्रतिशत भ्याट तिर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएको थियो।

आन्तरिक राजस्व विभागले विद्युत् सेवामा भ्याट असुल गर्ने निर्देशिका नै जारी गरेर साउनदेखि व्यवस्था लागू गरेको थियो। तर, बिजुलीमा कर थपिँदा उपभोक्ता तथा उद्योग–व्यवसायको लागत बढ्ने भन्दै यसको विरोध हुँदै आएको थियो। 

यही पृष्ठभूमिमा ऊर्जा र अर्थ मन्त्रालयबीच भ्याट हटाउने विषयमा सहमति बनेको हो। अब बस्ने मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णय गरेपछि बिजुलीमा भ्याट लगाउने व्यवस्था खारेज हुनेछ।

प्रकाशित: Sep 21, 2026| 15:51 सोमबार, असोज ५, २०८३
प्रतिक्रिया दिनुहोस्