काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बिमा पहुँच थप विस्तार गरिनुपर्ने खाँचो आंैल्याएका छन्। कैलालीको धनगढीमा बिमा समितिको सुदूरपश्चिम प्रदेश कार्यालय उद्घाटन गर्दै उनले बिमा दाबी, भुक्तानीलगायतमा धेरै गुनासा तथा असन्तुष्टि रहेको बताए।
अर्थमन्त्री शर्माले भने, ‘अहिले नेपालभर समग्रमा बिमाको पहुँच ४१.२ प्रतिशत छ। सुदूरपश्चिम प्रदेशमा १९.१७ प्रतिशत मात्रै छ। यसलाई वृद्धि गरिनुपर्छ ।’
देशभरि विभिन्न बिमा कम्पनीका ३ हजार ३६६ शाखा सञ्चालन छन् भने सुदूरपश्चिममा ३२७ मात्रै रहेको उनको भनाइ छ। ‘अहिले बिमा संस्थानले दिएको प्रत्यक्ष बिमा सन्दर्भमा रोजगारी १२ हजार ३१ को संख्यामा रहेको तर सुदूरपश्चिम प्रदेशमा ६८७ मात्रै छ। यसबाट के देखाउँछ भने सुदूरपश्चिम प्रदेश बिमाको पहुँचबाट टाढा छ’, मन्त्री शर्माले भने।
अर्थमन्त्री शर्माले लगानी जोखिम न्यूनीकरण गर्ने मुख्य काम बिमाको भएको स्पष्ट पार्दै बिमाद्वारा ठूला विपत्तिको जोखिम पनि न्यूनीकरण गर्न सकिने सुनाए। लगानीकर्ता, प्रयोगकर्ता र उत्पादकलाई ढुक्क भएर आफ्नो क्षेत्रमा काम गर्ने वातावरण बनाउनु बिमाको मुख्य उद्देश्य रहेको उनको भनाइ छ।
कार्यक्रममा प्रदेश सरकार आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले विभिन्न जोखिम व्यवस्थापनमा बिमाले ठूलो सहयोग गरेको बताए। उनले भने, ‘सबै क्षेत्रमा बिमा जानु जरुरी छ।’ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले जोखिम अन्त्य गर्न बिमालाई व्यापक रूपमा लैजान प्रदेश सरकार तयार रहेको जानकारी दिइन्।
बिमा समिति अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिम न्यूनीकरण गर्ने संयन्त्रका रूपमा बिमालाई लिनुपर्ने धारणा व्यक्त गरे। उनले भने, ‘यो काम प्रदेश सरकारबाट सुरु गर्नुपर्दछ।’