मंगलबार, असोज ६, २०८३

कृषि मन्त्रालयले दियो भारतबाट दूध आयात अनुमति

चाडपर्वमा दुग्धजन्य पदार्थ अभाव भएपछि कृषि मन्त्रालयले असोज मसान्तसम्मका लागि भारतबाट प्रतिदिन १ लाख २० हजार लिटर दूध आयात अनुमति दिएको हो।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट कच्चा दूध ल्याउन डेरी उद्योगलाई अनुमति दिएको छ ।

चाडपर्वको समय दूध अभाव भएपछि डेरी उद्योग संघले दूध आयात अनुमति मागेपछि मन्त्रालयले स्वीकृति दिएको हो।

कृषि मन्त्रालयले गत आइतबार अनुमति दिएको संघले बताएको छ । असोज मसान्तसम्मका लागि अनुमति दिइएको डेरी उद्योग संघ अध्यक्ष राजकुमार दाहालले बताए। 

भारतबाट प्रतिदिन १ लाख २० हजार लिटर दूध आयात गर्न अनुमति दिइएको छ। त्यसमध्ये सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्था (डीडीसी)लाई ४० हजार र निजी क्षेत्रका डेरीले  ८० हजार लिटर दैनिक रूपमा भारतबाट दूध ल्याउन सक्नेछन्।  

कोरोना महामारीका कारण डीडीसीलगायत निजी दुग्ध उद्योगलाई दूध अभाव भएको दाबी गरिएको छ। दूध संकलन कम भएका कारण अहिले बजारमा दूध र दुग्धजन्य पदार्थ बिक्री ४० प्रतिशत कटौती भएको ती उद्योगले बताएका छन्।

मुलुकभर दैनिक डेढ लाख लिटर दूध अभाव रहेको डेरी उद्योग संघले जनाएको छ। डीडीसीलाई मात्रै दैनिक ४०–५० हजार लिटर दूध अभाव रहेको छ। 

डीडीसीका महाप्रबन्धक सञ्जीव झाले अहिले दूध अभाव हुँदा घिउ तथा बटर उत्पादन पूर्ण रूपमा बन्द रहको जानकारी दिए। कोभिड महामारीका कारण पशु दाना, चोकर र आहार आदि अभाव हुँदा दूध उत्पादन घटेको बताइएको छ। कच्चा दूध अभावका कारण बजारमा मागअनुसार दूध तथा दुग्धजन्य पदार्थको माग पूरा गर्न नसकेको भन्दै संघले केही समयका लागि भारतबाट कच्चा दूध आयात खुलाउन माग गरेको थियो। 

कृषि मन्त्रालयले दूध आयात अनुमति दिएपछि केन्द्रीय दुग्ध सहकारी संघ नेपाल, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघलगायत संघ–संस्थाले विरोध गरेका छन्। 

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले पत्रकार सम्मेलन र केन्द्रीय दुग्ध सहकारी संघले प्रेस विज्ञप्ति जारी गरेर भारतबाट दूध आयात अनुमति दिएकामा विरोध गरेका छन्। 


प्रकाशित: Sep 22, 2022| 11:36 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्