काठमाडौं– नेपाल स्टक एक्सचेन्स (नेप्से)ले डाटा बेच्न पाउने भएको छ। करिब दुई वर्षदेखि थन्किएर रहेको नेप्सेको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेसँगै नेप्सेले तथ्यांक बेच्न पाउने भएको हो।
तर सो कार्यविधि कार्यान्वयनका लागि नेप्से सञ्चालक समितिले पास गर्नुपर्ने प्रावधान छ। सो कार्यविधि दुई वर्ष अगाडि नै बोर्डले स्वीकृत गरेको थियो। तर नेप्सेले शुल्क निर्धारण गरी सूचना जारी गरेपछि शुल्कका लागि स्वीकृति नलिएको भन्दै रकम लिएर तथ्यांक बेच्न बोर्डले रोकेको थियो।
सहमतिबिनै आफैंले शुल्क निर्धारण गरेको भन्दै बोर्डले रोकेपछि नेप्सेले पुनः शुल्कसहित कार्यविधि स्वीकृतिका लागि बोर्डमा पठाएको थियो। तर बोर्डले सो कार्यविधि स्वीकृत नगरी राखेको थियो। बोर्ड सञ्चालक समितिले सो कार्यविधि पारित गरेको छ। योसँगै शुल्क लिएर नेप्सेले तथ्यांक बेच्न पाउनेछ। उसले व्यापारीदेखि सर्वसाधारणलाई समेत डाटा बेच्न पाउनेछ।
नेप्सेले सर्वसाधारण, व्यापारी, व्यवसायी र बहुराष्ट्रिय कम्पनीका लागि छुट्टाछुट्टटै शुल्क तोकेर डाटा बेच्नेछ। नेप्सेले सूचना जारी गरिसकेपछि भने कोही, कसैले नेप्सेको डाटा अनधिकृत रूपमा प्रयोग गर्न पाउने छैनन्। अनधिकृत रूपमा प्रयोग गरेको पाइए नेप्सेले कारबाही प्रक्रिया अगाडि बढाउन सक्नेछ।