काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारकै लगानीमा बनाउन सकिने बताएका छन्। महानिर्देशक अधिकारीले विमानस्थल बनाउनका लागि कुनै पनि विदेशी लगानी नआएपनि नेपाली लगानी र नेपाली प्राविधिकबाट नै बनाइने बताएका हुन्।
‘नेपालले निजगढ विमानस्थल बनाउन सक्दैन भनेर बाहिर धेरै प्रचारप्रसार गरिएको छ। तर, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नेपाली प्राविधिकहरूले नसक्ने विषय होइन। अन्य ठूलाठूला आयोजनाहरूमा लगेर जोडेजस्तै जोड्ने होइन। अहिले हामी के खोज्छौँ भने निजी सार्वजनिक साझेदारी बनाउनुपर्छ। नेपालीले बनाउन सक्दैनन् भन्ने विषय नै होइन,' उनले भने, 'यो नेपालले गर्न नसक्ने आयोजना होइन। यो विमानस्थल आफैँ बनाउन सक्छौँ।'
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा मुआब्जा समेत गरेर करिव ३० अर्ब खर्च भएको बताएका उनले अझै अर्को ३० अर्ब खर्च हुने बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खर्बौँ खर्च गरेका उल्लेख गर्दै उनले निजगढ विमानस्थल एक खर्ब २० अर्ब लाग्ने भएकाले लागतका हिसाबले धेरै ठूलो आयोजना नभएको उनको भनाइ छ।
‘निजगढ विमानस्थलका लागि विज्ञ समूहले पनि स्पष्ट मोडालिटी दिएको छ। जसमा ६० प्रतिशत नेपाल सरकारले र ४० प्रतिशत नेपाल नागरिक उड्डयन प्राधिकरण लगानी गर्नेछ। लागतका हिसाबले विमानस्थल बनाउन जङ्गल कटानदेखि अन्य निर्माणको लागि ७ वर्षको समय राख्दा पनि १ खर्ब २० अर्ब भनेको वार्षिक १७ अर्ब रुपैयाँ वार्षिक जम्मा गर्दा भयो। १७ अर्बमा १० अर्ब नेपाल सरकारले हाल्छ,' लगानीका विषयमा उनले थपे, '७ अर्ब प्राधिकरणले हाल्न कुनै विदेशी लगानीकर्ता नखोजी, कसैको भर नपरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सक्छौँ। तर हामीले सोचलाई परिवर्तन गरेर आत्मविश्वास बढाउनुपर्छ। यो योजना नेपाल आफैँले गर्नसक्छौँ। यो नै सरकारको प्रतिवद्धता हुनुपर्छ, हुने पनि छ।'
महानिर्देशक अधिकारीले नेपालमा विकास निर्माणसम्बन्धी ऐनलाई नै संशोधन गर्नुपर्ने पनि बताए। उनले नेपालका सबै विमानस्थलको क्षमता १ करोड यात्रुको लागि पनि नभएको उल्लेख गरे।