काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयामका लागि ३६५ मेगावाटसम्म विद्युत खरिद गर्न टेन्डर खुलाएको छ। प्रतिस्पर्धामार्फत विद्युत खरिद गर्न प्राधिकरणले बोलपत्र आह्वान गरेको हो।
प्राधिकरणले आगामी १५ मंसिरदेखि १६ जेठ २०८० सम्म भारतबाट विद्युत् आयात गर्न टेन्डर खुलाएको हो। भारतबाट विद्युत बिक्री गर्ने एजेन्सीले प्रतिस्पर्धामा भाग लिन सक्नेछन्। हिउँदयाममा नेपालमा मागअनुसार बिजुली उत्पादन नहुने भएकाले प्रतिस्पर्धाबाटै बिजुली किन्न टेन्डर आह्वान गरिएको प्राधिकरणले बताएको छ।
अहिले ३६४ मेगावाट बिजुली भारत निर्यात गरिरहेको प्राधिकरणले डिसेम्बर २०२२ देखि मे २०२३ सम्म यो परिमाणमा विद्युत् खरिद गर्न टेन्डर खुलाएको हो। ६ महिना भारतबाट करिब ४ सय मेगावाट बराबरको बिजुली किन्नुपर्नेछ।
गत वर्ष प्रतिस्पर्धामार्फत विद्युत् खरिद नगरी भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट खरिद गर्दा प्राधिकरणले महँगोमा बिजुली किन्नुपरेको थियो। प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरिसकेको छ।