काठमाडौं- कोही पनि व्यक्तिले रगत अभावका कारण ज्यान गुमाउनु नपरोस् भन्ने ध्येयका साथ एक युवाले रक्तदानलाई सरलीकरण गर्ने एप बनाएका छन्। जसको नाम हो ‘नेपाली ब्लड डोनर’ एप।
एप डेभलपर गिरिजाप्रसाद भट्टराईले उक्त एप सन् २०२० मा गुगल प्लेस्टोरमा सार्वजनिक गरेका थिए। एप निर्माण गर्न ६ महिनाको समय लागेको उनले बताए।
नेपालमा पनि कोरोनाको संक्रमण उच्च भइरहेका बेला तत्कालीन अवस्थामा रक्तदानमा हुने समस्या समाधान गर्न सकिन्छ कि भनेर उनले यो एप निर्माण गरिएको बताए। भट्टराई हाल झापाको मेची बहुमुखी क्याम्पसमा बीसीए अन्तर्गत आठौं सेमेस्टरमा अध्ययनरत छन्।
अध्ययनको क्रममा भट्टराईले मोबाइल प्रोग्रामिङका लागि एप बनाउने योजना बनाएका थिए। तर तत्कालीन अवस्था र कोभिडको महामारीलाई मध्यनजर गर्दै उनले ‘नेपाली ब्लड डोनर’ प्ले स्टोरमा राख्ने गरी सर्भर किनेर काम गर्न थाले। झापाको रेडक्रसले रक्तदाताको सूची उपलब्ध गराएको थियो। उनले पहिलो भर्सनमा त्यही डेटा अपलोड गरे। उनी अध्ययन सँगै फ्रिल्यान्सिङ काम पनि गरिरहेका हुन्छन्।
पुरानो भर्सनमा प्रयोगकर्ता बढ्न थालेसँगै एपमा अन्य फिचरको माग पनि बढ्न थाल्यो। फलस्वरूप उनले जनवरी ३१ मा परिमार्जित भर्सन सार्वजनिक गरे। पुरानो भर्सनमा समस्याहरू देखिएपछि ब्लड डोनरको नयाँ भर्सन ल्याइएको डेभलपर भट्टराईले बताए। उनी भन्छन्, ‘अझैपनि सुधार गर्नुपर्ने केही कामहरू छन्, जसलाई बिस्तारै अपडेट गर्दै लैजानेछु।’
अहिले ब्लड डोनरको पोष्ट अन्य सामाजिक सञ्जाल एपमा पनि शेयर गर्न सकिन्छ। एपबाट सोझै अन्य प्ले र्टफर्ममा पोष्ट गर्न सकिने फिचर समेत ल्याउने योजना रहेको उनले सुनाए। यो एप उनले व्यक्तिगत लाभका लागि नभई समाज सेवाका लागि निर्माण गरेका हुन्। कोरोनाको पहिलो चरणमा यो एप निर्माण गरेर उनले प्ले स्टोर कन्सोलमा राखेका थिए।
कहीँकतै रगत नपाएर कसैले समस्यामा पर्नु नपरोस् भन्ने उद्देश्यले विकास गरिएको यो एपलाई सकेसम्म प्रयोगकर्तामैत्री बनाउने उनको सोच छ। व्यक्ति व्यक्तिमार्फत रक्तदाता खोज्दा धेरै दिन बित्छ।
चाहिएको बेलामा रगत भेटिँदैन। प्रयोगकर्ताको अनुभव बटुलेर एउटै प्लेटफर्ममार्फत धेरै दातासँग जोडिनका लागि यो प्लेर्टफर्म उपयोगी हुने निष्कर्षमा उनी पुगेका हुन्। आगामी दिनमा नेपाली ब्लड डोनरको एप्लिकेसनको नाम परिवर्तन गरेर अन्तर्राष्ट्रिय रुपमा प्रयोग गर्न मिल्ने गरी डेभलप गर्ने उनको सपना छ। जसमा अन्य सामाजिक सञ्जालमा जस्तै दातासँग सोझै च्याट गर्न मिल्ने फिचर ल्याउने योजनामा समेत उनी छन्।
यसो हुँदा डोनरलाई कल गरिराख्नु पर्ने छैन। एपका लागि प्रयोगकर्ताले दिएको प्रतिक्रियाबाट उनी निकै उत्साहित छन्। जसका कारण यो एपलाई दिगो रुपमा लैजान हौसला गिरिजाले पाएका छन्।
एपबाट आम्दानीको आश नराखेको बताउने भट्टराईले यसलाई समाज सेवाको रुपमा लिएका छन्। वर्ष दिनमा सर्भर चार्ज गर्नका लागि लाग्ने रकम आफैँले व्यहोर्ने गरेको उनको भनाई छ। अहिले एन्ड्रोइड प्रयोगकर्ताका लागि मात्रै उपलब्ध यो एप चाँडै आईओएसका लागि पनि उपलब्ध गराउने तयारी भइरहेको छ। अहिले भने आईओएस प्रयोगकर्ताले वेब प्लेर्टफर्म प्रयोग गर्न सक्छन्।