बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्राधिकरणले भदौमा भारतलाई बेच्यो २ अर्ब ४२ करोडको बिजुली

प्राधिकरणले भदौमा भारतलाई बेच्यो २ अर्ब ४२ करोडको बिजुली

४ महिनामा ७ अर्ब २० करोडको बिजुली भारत निर्यात गरेको प्राधिकरणको तथ्यांक।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

काठमाडौं– सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०७९/८० को दोस्रो महिनामा २ अर्ब  ४२ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ। 

National life

देशभित्र खपत गरी बचत रहेको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् प्राधिकरणले भदौमा निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ कमाएको छ।

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो। 

सुरुमा दुईवटा विद्युत्गृहको ३९ मेगावाट उत्पादित विद्युत्लाई स्रोत मानी  दैनिक आईएक्समा बिक्री गरिएको थियो। त्यसपछि २७ जेठबाट दैनिक ६ वटा जलविद्युत्गृहबाट उत्पादित बिजुलीलाई स्रोत मानी दैनिक ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ।

प्राधिकरणले जेठ, असार, साउन र भदौसम्म ७८ करोड ७८ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ।

Shivam cement

भारतसँगको विद्युत् व्यापार भारुमा हुने भएकाले ४ महिने अवधिमा विद्युत् बिक्रीबाट ४ अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको छ। प्राधिकरणलाई भदौमा मात्रै विद्युत् बिक्रीबाट १ अर्ब ५१ करोड ५ लाख रुपैयाँ भारु आम्दानी भएको छ। 

हरेक महिना विद्युत् निर्यात बढ्दा यसबाट प्राप्त हुने रकमबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटा कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। 

‘चालू आवमा विद्युत् निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छौं। मंसिरको पहिलो सातासम्म विद्युत् निर्यात गर्न सकिन्छ भने जेठपछि फेरि निर्यात सुरु हुँदा लक्ष्य पूरा हुने अनुमान गरेका छौं’, कार्यकारी निर्देशक घिसिङले भने।

अब चाडवाड सुरु भएकाले उद्योग, कलकारखाना बन्द हुँदा आन्तरिक खपत केही कम हुने उनले बताए। तर उत्पादन भने पूर्ण क्षमतामा हुने हुँदा करिब २ सय मेगावाट थप विद्युत् निर्यातको सहमतिका लागि भारतमा प्रस्ताव पठाइएको उनले जानकारी दिए। 

र्आइएक्समा २४ घन्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत् कारोबार हुने गरेको छ। त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ।

प्राधिकरणले भदौमा निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट  ९ रुपैयाँ ८० पैसा रहेको छ। चार महिनाको औसत दर प्रतियुनिट ९ रुपैयाँ २३ पैसा छ।

थप १०० मेगावाट निर्यात प्रस्ताव

विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री प्रस्ताव गरेको छ। 

प्राधिकरणले केही दिनअघि ४ जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी आईएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेस गरेको हो।

यसअघि प्राधिकरणले ४ जलविद्युत् आयोजनाबाट उत्पादित १११ मेगावाट विद्युत् निर्यात अनुमतिका लागि प्रस्ताव पेस गरेको थियो। थप ४ जलविद्युत् आयोजनाको प्रस्तावसँगै प्राधिकरणले ८ जलविद्युत् आयोजनाबाट उत्पादित २१२.७ मेगावाट विद्युत् निर्यातका लागि प्रस्ताव पेस गरेको हो। 

निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखुखोला ‘ए’, २५ मेगावाटको काबेली ‘बी’ १, २२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ‘ए’ र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत्गृहबाट उत्पादित १००.९ मेगावाट विद्युत् निर्यातको प्रस्ताव गरिएको छ। 

यसअघि ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखूखोला ‘ए’, २३.५ मेगावाटको सोलुखोला, २२.१ मेगावाटको चिलिमे विद्युत्गृहबाट उत्पादित १११.८ मेगावाट विद्युत् निर्यात प्रस्ताव स्वीकृतिका लागि पेस गरिएको थियो। 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले थप विद्युत् निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति प्राप्त हुने विश्वास व्यक्त गरे।

प्रकाशित: Sep 20, 2022| 11:54 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्