बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • बैंक खातामा उच्चपदस्थको तीनपुस्ते विवरण खोज्दैछ एपीजी!

बैंक खातामा उच्चपदस्थको तीनपुस्ते विवरण खोज्दैछ एपीजी!

उच्चपदस्थले शुद्धीकरण गर्ने जोखिम उच्च रहने भएकाले उनीहरुको आर्थिक कारोबारलाई सुक्ष्म रूपमा निगरानी गर्नुपर्ने सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी प्रावधान छ।
 |  मंगलबार, भदौ २८, २०७९

किशोर दाहाल

किशोर दाहाल

मंगलबार, भदौ २८, २०७९

काठमाडौं- नेपालका बैंक तथा वित्तीय संस्थाहरु उच्चपदस्थ व्यक्तिको पहिचान गर्ने सवालमा लचक छन्। यसले सम्पत्ति शुद्धीकरणसम्बन्धी पारस्परिक मूल्यांकनमा नेपाल नकारात्मक सूचीमा पर्ने सम्भावना बढाएको छ। नेपाल भ्रमणमा रहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी वित्तीय कारबाही कार्यदल (एफएटीएफ) अन्तर्गत एसिया प्रशान्त क्षेत्र समूह (एपीजी)को टोलीले सम्पत्ति शुद्धीकरणसम्बन्धी सम्पूर्ण विवरणको अध्ययन/मूल्यांकन गरिरहेको छ। 

triton college

उच्चपदस्थ व्यक्तिले अख्तियारको दुरुपयोग गरी अवैध धन आर्जन गर्ने र त्यसलाई शुद्धीकरण गर्ने जोखिम उच्च रहने भएकाले उनीहरुको आर्थिक कारोबारलाई सुक्ष्म रूपमा निगरानी गर्नुपर्ने सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी प्रावधान छ। 

नियामकीय निकाय नेपाल राष्ट्र बैंक र राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था उच्चपदस्थको विवरणका विषयमा गम्भीर नभएको विश्लेषण भइरहेका बेला एपीजीले यसै विषयमा प्रश्न खडा गर्न सक्ने देखिएको हो। वित्तीय कारबाही कार्यदल (एफएटीएफ)ले उच्चपदस्थ व्यक्तिको पहिचान खुल्ने गरी विवरण तयार पार्न वित्तीय संस्थाहरुलाई सिफारिस गरिसकेको थियो। तर यो विषय कार्यान्वयनमा भने नेपालका नियामकदेखि वित्तीय संस्था तथा बैंकले बेवास्ता गर्दै आएका छन्। 

एफएटीफ प्लेनरी सेसन। तस्बिर: टाइम्स नाउ

corrent noodles
Metro Mart

सम्पत्ति शुद्धीकरण (मनि ल्याउन्डरिङ) निवारण ऐन २०६४ को दफा ७ (क देखि ञ सम्म) ले सूचक संस्था (बैंक तथा वित्तीय)ले ग्राहकको पहिचान गर्नुपर्ने प्रष्ट व्यवस्था गरेको छ। ऐनको दफा ७ ख (१) ले बैंक तथा वित्तीय संस्थामा ग्राहक बन्न आएका व्यक्ति उच्चपदस्थ भए/नभएको यकिन गर्न जोखिम प्रणालीको व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ। 'सूचक संस्थाहरुले आफ्नो ग्राहक वा वास्तविक धनी वा ग्राहक बन्न खोज्ने व्यक्ति उच्चपदस्थ व्यक्ति भए वा नभएको यकिन गर्न जोखिम प्रणालीको व्यवस्था गर्नुपर्नेछ,' उक्त दफामा भनिएको छ।  

यसका लागि बैंक तथा वित्तीय संस्थाहरुले स्वदेशी उच्चपदस्थ व्यक्तिहरुसँग पनि व्यावसायिक सम्बन्ध स्थापना गर्दा व्यवस्थापन हेर्ने उच्च अधिकारीको स्वीकृति लिनुपर्ने, यस्ता व्यक्तिको तत्काल छुट्टै ग्राहक पहिचान विवरण तयार गर्नुपर्ने, यस्ता ग्राहकको कोष तथा सम्पत्तिको पहिचान गर्न पर्याप्त उपाय अवलम्बन गर्नुपर्ने, निजसँगको व्यावसायिक तथा कारोबार सम्बन्धको निरन्तर अनुगमन गर्नुपर्ने र दफा ७ (ङ) बमोजिम बृहत् ग्राहक पहिचानसम्बन्धी उपाय अवलम्बन गर्नुपर्नेलगायत ५ वटा व्यवस्था छन्। स्वदेशी उच्चपदस्थ व्यक्तिको अतिरिक्त विदेशी तथा अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ र राष्ट्रिय समन्वय समितिले राजपत्रमा सूचना प्रकाशित गरेका व्यक्तिको पहिचान राख्नुपर्ने ऐनमा व्यवस्था छ। 

उच्चपदस्थ व्यक्तिले भ्रष्टाचार, कर छली, हुन्डी, बैंकिङ ठगीलगायत वित्तीय अपराधमार्फत अवैध सम्पत्ति आर्जन गर्ने र त्यसलाई घरजग्गा, सेयर बजार, बिमा, बहुमूल्य धातुलगायत वस्तुहरुमा लगानी गरी शुद्धीकरणको प्रयास गर्छन्। यसले अनौपचारिक अर्थतन्त्रको हिस्सालाई बढाउँछ। यसरी शुद्धीकरण गर्दा मुलुकको मात्र नभएर समग्र विश्व व्यवस्थालाई नै चुनौती पुग्ने एफएटीएफको मान्यता छ। 

000

अवैध स्रोतबाट आर्जित धन मानव बेचविखन, लागुऔषध कारोबार, अवैध हातहतियार खरिद तथा आतंकवादी क्रियाकलापमा समेत लगानी हुन सक्नेतर्फ सचेत बन्नुपर्ने भन्दै एफएटीएफले सदस्य राष्ट्रहरूलाई सचेत गराउँदै आएको छ। 

उच्चपदस्थ व्यक्तिबाटै अवैध सम्पत्तिलाई शुद्ध बनाउन सक्ने भएकाले बैंक तथा वित्तीय संस्थाले त्यसलाई रोक्नुपर्नेमा त्यस्तो गर्न नसकेको सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागका पूर्व महानिर्देशक रुपनारायण भट्टराई बताउँछन्। 'एफएटीएफको मापदण्डमा खाता खोल्ने ग्राहकको पहिचान राम्रोसँग राख्नुपर्ने र समय समयमा अपडेट गर्नुपर्ने भनेर लेखिएको छ। मूल्यांकनका क्रममा एपीजीका प्रतिनिधि कुनै बैंक गएर कुनै राजनीतिक रुपमा उच्चपदस्थ व्यक्तिको विवरण माग गर्न सक्छन्,' उनले भने, 'उक्त राजनीतिक व्यक्तिको सम्पूर्ण विवरण, उसको सम्पत्ति विवरण, कारोबारको विवरण सीसीटी इन्टेलिजेन्स मार्फत राखेको छ वा छैन र शंकास्पद देखियो भने रिपोर्टिङ गरेको छ वा छैन भनेर हेर्न सक्छ।'

प्रकाशित: Sep 13, 2022| 12:11 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्