शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशियाको निक्षेप तान्ने नयाँ 'फन्डा'! पछ्याउँदै अरु पनि, २० वर्षमा कसरी हुन्छ १० गुणा?

एनआईसी एशियाको निक्षेप तान्ने नयाँ 'फन्डा'! पछ्याउँदै अरु पनि, २० वर्षमा कसरी हुन्छ १० गुणा?

कर्जा विस्तारमा आक्रामक एनआईसी एशिया बैंकले ऋणीसँग कर्जा सम्झौता गर्दा एक प्रकारको ब्याजदर निर्धारण गर्ने तर सम्झौता अवधिको बीचैमा गएर ब्याजदर बढाइदिने गरेको ऋणीहरूको गुनासो छ।
 |  शुक्रबार, भदौ १०, २०७९

किशोर दाहाल

किशोर दाहाल

शुक्रबार, भदौ १०, २०७९

काठमाडौं– नेपालका वाणिज्य बैंकमध्ये सबैभन्दा आक्रामक र विवादमा परिरहनेमध्ये एनआईसी एशिया बैंक पर्छ। एनआईसी एशियाले निक्षेप संकलनमा ल्याएका आक्रामक नीति अनुशरण गर्न अन्य बैंकहरू पनि बाध्य हुने र नियामकीय हस्तक्षेपले दुःख पाउने गरेका उदाहरण प्रशस्तै छन्।

triton college

राष्ट्र बैंकले बैंकिङ क्षेत्रलाई एउटै डालोभित्र राखेर नीति परिवर्तन गर्दा अन्य बैंकहरू पनि पीडित हुने गरेका छन्। गत वर्ष तरलता अभाव सुरु भएपछि बैंकहरूले धमाधम निक्षेपको ब्याजदर बढाउन थाले। सानिमा बैंक, हिमालयन बैंक र एनआईसी एशिया बैंकबीच संस्थागत निक्षेप खोसाखोसको प्रतिस्पर्धा नै चल्यो। असोजमा संस्थागततर्फको निक्षेपको ब्याजदर ९ प्रतिशत पुर्‍याएको सानिमा बैंकलाई टक्कर दिन एनआईसी एशियाले कात्तिकका लागि संस्थागत निक्षेपको ब्याजदर बढाएर ११.६७ प्रतिशत निर्धारण गरिदियो।

राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षण विभागले  २ कात्तिकमा बैंकहरूले ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा गरेको र एकअर्काको निक्षेप खोसाखोसमा लागेको भन्दै ब्याजदरमा हस्तक्षेप गर्‍यो। राष्ट्र बैंकले ब्याजदर वृद्धिमा १० प्रतिशतको क्याप लगाइदियो भने संस्थागत मुद्दती निक्षेपको ब्याजदर साधारण निक्षेपको भन्दा १ प्रतिशत बिन्दु मात्र फरक हुनुपर्ने व्यवस्था गर्‍यो। 

त्यति मात्रै होइन, राष्ट्र बैंकले उक्त सीमाभित्र रहेर ब्याजदर घटाउन निर्देशन दियो। यसले सबै बैंकहरू ब्याजदर घटाउन बाध्य भए। चालू आर्थिक वर्षको मौद्रिक नीतिले सोही व्यवस्थालाई निरन्तरता दिँदै साधारण निक्षेपको ब्याजदरभन्दा संस्थागत निक्षेपको ब्याजदर २ प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था गरेको छ। बढी फाइदा हुने र निक्षेप संकलन हुने क्षेत्रमा राष्ट्र बैंकको नियामकीय परिधिभन्दा बाहिर गएर एनआईसी एशियाले बैंकिङ गतिविधि गर्दै आएको छ। 

कोभिड महामारीका कारण सरकारले लकडाउन घोषणा गरेको समय बैंकिङ प्रणालीभित्र अधिक तरलताको भयो। लकडाउनका कारण मानिसको आउजाउ र व्यावसायिक गतिविधि ठप्प भएकाले लगानी प्रभावित हुँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रियो। यही मौका छोपेर एनआईसी एशियाले साधारण बचतकर्तालाई दिने ब्याजदर घटाएर १.५ प्रतिशतमा झार्‍यो।

corrent noodles
Metro Mart
बढी फाइदा देखिने र निक्षेप संकलन हुने क्षेत्रमा राष्ट्र बैंकको नियामकीय परिधिभन्दा बाहिर गएर एनआईसी एशियाले बैंकिङ गतिविधि गर्दै आएको छ। 

एनआईसी एशियाले ब्याजदर घटाएपछि अन्य बैंकहरू पनि उसैको पदचापमा हिँडे र ब्याजदर घटाउने प्रतिस्पर्धा नै चल्यो। यस समय निमायकीय निकाय राष्ट्र बैंक पनि लगानीको माग र आपूर्तिले ब्याजदर निर्धारण हुने भन्दै चुप बस्यो। फलस्वरुप निक्षेपकर्ता उचित प्रतिफल पाउनबाट वञ्चित भए। जब निक्षेपको ब्याजदर बढ्दै थियो, राष्ट्र बैंकले कोभिडका कारण सुधारोन्मुख अर्थतन्त्रमा लगानी प्रभावित हुने भन्दै ब्याजदरमा हस्तक्षेप गर्‍यो। 

राष्ट्र बैंकको हस्तक्षेपपछि बैंक तथा वित्तीय संस्थाहरूले जम्मा दुई पटक मात्रै ब्याजदर बढाएका छन्। अहिले सबै वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको ब्याजदर समान छ। उनीहरूले संस्थागत मुद्दती निक्षेपमा ९.०३ प्रतिशत, साधारण निक्षेपमा ११.०३ र रेमिट्यान्समार्फत प्राप्त हुने निक्षेपमा १२.०३ प्रतिशत ब्याज दिँदै आएका छन्।

फागुनयता राष्ट्र बैंकको अप्रत्यक्ष हस्तक्षेपका कारण बैंकहरूले ब्याजदरमा भद्र सहमति गरेका छन्। वाणिज्य बैंक मात्रै होइन, विकास बैंक र फाइनान्स कम्पनीहरूले पनि समान दरको ब्याजदर कार्यान्वयनमा ल्याएका छन्। विकास बैंकहरूले १२ प्रतिशत र फाइनान्स कम्पनीले १२.१५ प्रतिशत ब्याजदर कायम गरेका छन्। 

कर्जा विस्तारमा निकै आक्रामक एनआईसी एशिया बैंकले ऋणीसँग भएको सम्झौता विपरीत जथभावी ब्याजदर बढाउने गरेका घटना सार्वजनिक हुने गरेका छन्। कर्जामा सम्झौता गर्दा एक प्रकारको ब्याजदर निर्धारण गर्ने तर सम्झौता अवधिको बीचैमा गएर ब्याजदर बढाइदिने गरेको गुनासो ऋणीहरूको छ।

सम्झौता भइसकेको कर्जामा ब्याजदर बढाउन नपाउने व्यवस्था भए पनि यस बैंकले प्रिमियम बढाएरै भए पनि कर्जा दिने गरेको छ। यस बैंकले धितोको अधिक मूल्यांकन गरी कर्जा दिने र राष्ट्र बैंकले तोकेको ‘लोन टु भ्यालु’ अनुपातभन्दा गर्ने कर्जा दिने गरेका थुप्रै घटना सार्वजनिक भइरहेका छन्। 

राष्ट्र बैंकको हस्तक्षेपपछि बैंक तथा वित्तीय संस्थाहरूले जम्मा दुई पटक मात्रै ब्याजदर बढाएका छन्। अहिले सबै वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको ब्याजदर समान छ। उनीहरूले संस्थागत मुद्दती निक्षेपमा ९.०३ प्रतिशत, साधारण निक्षेपमा ११.०३ र रेमिट्यान्समार्फत प्राप्त हुने निक्षेपमा १२.०३ प्रतिशत ब्याज दिँदै आएका छन्।

राष्ट्र बैंकका अधिकारीहरू पनि एनआईसी एशियाका कारण आजित छन्। एनआईसी एशिया बैंकले बैंकिङ क्षेत्रमा अन्य बैंकहरूलाई प्रतिस्पर्धी हुन र स्रोत–साधनको उच्चतम प्रयोग गरी अधिकतम नाफा कमाउन सिकाए पनि कतिपय गतिविधि शंकास्पद हुने राष्ट्र बैंकका अधिकारीहरू नै बताउँछन्। ‘एनआईसी एशिया बैंकले बैंकिङ क्षेत्रमा नयाँ अभ्यास गर्दै आएको छ। यस बैंकका कतिपय कुराले बैंकहरूलाई प्रतिस्पर्धी हुन र स्रोतको उचित सदुपयोग गरी नाफा कमाउन सिकाएको छ। तर यस बैंकको कतिपय आक्रामक नीतिमा राष्ट्र बैंक सचेत हुनुपर्ने, सूक्ष्म निगरानी राख्नुपर्ने र कहिलेकाहीँ हस्तक्षेप गर्नुपर्ने अवस्था आउँछ’, राष्ट्र बैंकका एक अधिकारीले भने। 

अघिल्लो आर्थिक वर्ष ८.५ प्रतिशत न्यूनतम पुँजीकोष अनुपात कायम नगरेपछि राष्ट्र बैंकले लाभांश वितरणमा यस बैंकलाई रोक लगाएको थियो। 

विवादित गतिविधि गरेर कहिल्यै नथाक्ने र अर्थतन्त्रमा चमत्कार गर्ने सोचबाट अगाडि बढेको यस बैंकले यस पटक मुद्दती निक्षेपसम्बन्धी नयाँ प्रोडक्ट ल्याएको छ। यसको नाम हो–सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना। यस योजनाअन्तर्गत व्यक्तिगत मुद्दती बचतकर्ता, संस्थागत निक्षेपकर्ता र रेमिट्यान्स निक्षेपकर्तालाई हाल चलनचल्तीमा रहेको ब्याजदरका आधारमा २३ वर्षसम्मको मुद्दती योजना सार्वजनिक गरिएको छ।

कम्तीमा १० हजार रुपैयाँमा खाता खोली उक्त योजनामा सहभागिता जनाउन सकिने बैंकले उल्लेख गरेको छ। व्यक्तिगत निक्षेपकर्ताले कम्तीमा १ लाख रुपैयाँ यस मुद्दती योजनामा जम्मा गराए आगामी २० वर्ष १० महिनामा १२ दिनमा १० गुणा अर्थात् १० लाख रुपैयाँ प्राप्त गर्न सकिनेछ। १० लाख यस्तो मुद्दतीमा लगानी गरे आगामी १० वर्षमा १ करोड हुनेछ। 

प्रकाशित: Aug 26, 2022| 15:15 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्