काठमाडौं- केही समयदेखि नेकपाभित्र शान्त देखिएका माधवकुमार नेपाल फेरि तातिएका छन्।
आफू निकटका नेताहरू समेत टाढा हुन थालेपछि उनी यसरी तातिएको बताइएको छ। पार्टी अध्यक्ष केपी ओलीसँग मिलेर नेपालले आफूहरूलाई बेवास्ता गरेको भन्दै नेपालपक्षीय नेताहरू असन्तुष्ट हुन थालेका थिए।
तर, नेकपा एकीकरणको अन्तिम समयमा आएर आफ्नो पक्षलाई संस्थापन पक्षले माइनस गर्न खोजेको भन्दै वरिष्ठ नेता नेपालले आपत्ति जनाएका छन्। उनले जिल्लाको र प्रदेशको नेतृत्वमा आफ्नो पक्षलाई समेट्न नेतृत्वलाई चेतावनी दिएका छन्।
नेपालले जिल्लाका साथै आफ्नो पक्षलाई दुुई प्रदेश प्रमुख दिनुपर्ने अडान राखेको स्रोतले बतायो। प्रदेश-१ मा नेपाल पक्षका जगन्नाथ खतिवडा नरेश खरेलको प्रमुखमा दाबी छ। त्यस्तै, संस्थापन पक्षबाट देवराज घिमिरे र घनेन्द्र बस्नेतले प्रदेश प्रमुखमा दाबी गरेका छन्।
प्रदेश-२ मा नेपाल पक्षका नागेन्द्र चौधरी र शत्रुधन महतोले दाबी गरेका छन् भने संस्थापन पक्षबाट सत्यनारायण मण्डलको दाबी छ। प्रदेश-३ मा भने नेपाल पक्षका पशुपति चौलागाईं र शेरबहादुर तामाङले दाबी गरेका छन् भने संस्थापन पक्षबाट काशीनाथ अधिकारीको दाबेदारी छ।
प्रदेश-४ मा भने संस्थापन पक्षका किरण गुरुङ र तुलबहादुर गुरुङको मात्र दाबी छ। प्रदेश-५ मा भने तत्कालीन एमालेका दलबहादुर राना र तत्कालीन माओवादीका गणेशमान पुनको दाबी छ।
प्रदेश-६ मा भने तत्कालीन एमालेका यामलाल कँडेल र तत्कालीन माओवादीका मायानाथ अधिकारीको दाबी छ। प्रदेश-७ मा संस्थापन पक्षका कर्ण थापाको नाम सर्वसम्मत भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४