बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ६२ रुपैयाँको तेल बजार पुग्दा बन्छ १११ : कहाँ जान्छ ४९ रुपैयाँ  ?

६२ रुपैयाँको तेल बजार पुग्दा बन्छ १११ : कहाँ जान्छ ४९ रुपैयाँ  ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- रक्सौल र बरौनी नाकाबाट प्रतिलिटर ६२.७० रुपैयाँमा भित्रिने पेट्रोल राजधानीका उपभोक्तासम्म पुग्दा प्रतिलिटर एक सय ११ रुपैयाँ पर्ने गरेको छ ।

पछिल्लो मूल्य समायोजनअनुसार पेट्रोल उपभोक्तासम्म पुग्दा सम्पूर्ण राजश्व र मूल्य अभिवृद्धि करमार्फत् पेट्रोलबाट प्रतिलिटर ३८ रुपैयाँ ६ पैसा सरकारको पोल्टामा जान्छ । आयल निगम र पेट्रोलियम व्यवसायीहरूको हातमा ढुवानी भाडा, बीमा खर्च, प्रशासनिक खर्च, प्राविधिक नोक्सानी, पेट्रोलियम बिक्रेता नाफावापत नौ रुपैयाँ सात पैसा पर्ने गरेको छ ।

निगमको तथ्यांकअनुसार पेट्रोलको प्रतिलिटर मूल्य एक सय ११ हुँदा सरकारले ३४.७७ प्रतिशत तथा निगम र व्यवसायीहरूले ८.७३ प्रतिशत लिने गरेको देखिन्छ । रक्सौल र बरौनीमा पेट्रोलको औसत मूल्य प्रतिलिटर ६२.७० रुपैयाँमा नेपाल सीमासम्म आउँछ । त्यसमा भन्सार शुल्क १५ रुपैयाँ २३ पैसा पर्छ ।

सडक मर्मत सम्भार कर चार रुपैयाँ, पूर्वाधार कर पाँच रुपैयाँ, प्रदुषण शुल्क ५० पैसा, मूल्य स्थिरीकरण कोष एक रुपैयाँ ११ पैसा र मूल्य अभिवृद्धि कर १२ रुपैयाँ ७७ पैसा गरी ३८ रुपैयाँ ६० पैसा राजश्वका रूपमा सरकारी कोषमा जान्छ ।

त्यसपछि ढुवानी भाडामा तीन रुपैयाँ ४० पैसा, बीमा खर्च चार पैसा, निगमको प्रशासनिक एवं बिक्री खर्च ६० पैसा, प्राविधिक नोक्सानी ७८ पैसा, निगमको नाफा ६५ पैसा, पेट्रोलियम बिक्रेता कम्पनी खर्च र नाफा चार रुपैयाँ २३ पैसा प्रतिलिटर पर्ने गर्छ ।

६६ रुपैयाँको डिजेल कसरी बन्छ ९५ रुपैयाँको?

यस्तै, निगमले सोमबारदेखि लागू हुने गरी गरेको पेट्रोलियम पदार्थको मूल्य समायोजनयता रक्सौल र बरौनीबाट डिजेल नेपालमा प्रतिलिटर ६६ रुपैयाँ ८५ पैसामा भित्रिन्छ । उक्त डिजेल उपभोक्तासम्म पुग्दा प्रतिलिटर ९५ रुपैयाँ पर्ने गर्छ ।

जसमा सरकारले राजश्व र मूल्य अभिवृद्धि करवापत २१ रुपैयाँ ४० पैसा लिने गरेको छ । त्यसपछि रक्सौल-बरौनी-काठमाडौं औसत ढुवानी भाडा, बीमा खर्च, प्रशासनिक एवं बिक्री खर्च, नाफालगायत जोड्दा प्रतिलिटर ६ रुपैयाँ ७४ पैसा पर्ने देखिन्छ ।

त्यसका बावजुद आगामी १५ दिनमा प्रतिलिटर डिजेलबाट सात पैसा नोक्सान हुने निगमको भनाइ छ ।

६५ रुपैयाँको हवाई इन्धनको मूल्य १०४

आन्तरिक उडानका लागि रक्सौलबाट प्रतिलिटर ६५ रुपैयाँ २८ पैसामा हवाई इन्धन नेपालमा भित्रिन्छ । 

त्यसमा सरकारले राजश्व र मूल्य अभिवृद्धि करवापत २० रुपैयाँ १९ पैसा र ढुवानी भाडा, बीमा खर्च, निगमको नाफा, बिक्रेता कम्पनीले पाउने रकमवापत १९ रुपैयाँ तीन पैसा लिने गरिएको छ । ती सबैलाई जोडेर अन्त्यमा खुद्रा आन्तरिक हवाई इन्धनको मूल्य एक सय चार रुपैयाँ ५० पैसा पर्ने निगमको भनाइ छ ।

यसैगरी, मट्टितेल प्रतिलिटर ६६ रुपैयाँ ७५ पैसामा नेपाल भित्रिन्छ । त्यसमा विभिन्न सरकारी कर दस्तुरवापत दुई रुपैयाँ ९८ पैसा पर्छ । त्यसबाहेक ढुवानी भाडा, बीमा खर्च, निगमको नाफालगायत गरेर प्रतिलिटर २५ रुपैयाँ २८ पैसा निगम र व्यवसायीहरूले लिने गरेका छन् ।
 

प्रतिलिटर पेट्रोलमा ४०, डिजेलमा २९, मट्टितेलमा २८, हवाई इन्धनमा ३९ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २४० रुपैयाँ बढी तिर्नुपर्छ उपभोक्ताले ।


ग्यास सिलिन्डरमा थपिन्छ २४० रुपैयाँ

खाना पकाउने एलपी ग्यास नेपालमा बरौनी, हल्दिया, मथुरा, पारद्विप र कर्णालबाट भित्रिन्छ । प्रतिसिलिन्डर नेपालमा ११ सय ३५ रुपैयाँ ३८ पैसा पर्छ । एलपी ग्यासको खुद्रा मूल्य १३ सय ७५ रुपैयाँ पर्ने गरेको छ ।

ग्यासमा सरकारले भन्सार शुल्क, मूल्य स्थिरीकरण कोष र मूल्य अभिवृद्धि कर गरेर दुई सय २९ रुपैयाँ ३९ पैसा लिने गरेको छ । त्यसबाहेक ग्यासको बीमा खर्च एक रुपैयाँ ३१ पैसा र निगमको प्रशासनिक एवं बिक्री खर्चवापत आठ रुपैयाँ ५२ पैसा थपिन्छ ।

प्रतिसिलिन्डर ग्यासको नाफा कम्पनीहरूले दुई सय ८१ रुपैयाँ पाँच पैसा राखेका छन् । भन्सार, निगम र व्यवसायीले प्राप्त गर्ने सम्पूर्ण रकमलाई आधार बनाउँदा दुई सय ८० रुपैयाँ ६४ पैसा अपुग देखिन्छ । त्यसअनुसार निगमले पाक्षिक प्रतिसिलिन्डर दुई सय ८० रुपैयाँ ६४ पैसा घाटा हुने बताउँदै आएको छ ।

निगमको पाक्षिक घाटा सवा ७ करोड

सोमबारदेखि लागू हुने गरी स्वचालित मूल्य विधिद्वारा गरिएको  मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिक समग्र पेट्रोलियम पदार्थबाट सात करोड २१ लाख रुपैयाँ घाटा हुने बताएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली रुपैयाँभन्दा डलर बलियो भएकाले पेट्रोलियम खरिद र बिक्रीमा घाटा बेहोर्नुपरेको निगमको भनाइ छ ।

यस्तै, निगमले छिमेकी देश भारतमा दैनिक रूपमा अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप पेट्रोलियम पदार्थको मूल्य समायोजन हँुदै आएका कारण नेपाल (वीरगञ्ज)तर्फ भारत (रक्सौल) भन्दा पेट्रोल प्रतिलिटर २३ रुपैयाँ ९७ पैसा र डिजेल २५ रुपैयाँ ३३ पैसा सस्तो रहेको दाबी गरेको छ । निगमले भनेको छ, ‘बोर्डरमा देखिएको यस किसिमको अन्तरले निगममाथि आपूर्ति सहज गर्ने चुनौती बढ्दै गएको छ ।’

स्थापित स्वतः सञ्चालित पेट्रोलियम मूल्य संरचनाबमोजिम निगमले पेट्रोल, डिजेल र मट्टितेलको हरेक १५ दिनमा मूल्य घटबढ र यथावत हुने गरी समायोजन गरिरहेको छ । एलपी ग्यासको हकमा पनि पनि अन्तर्राष्ट्रिय बजार मूल्य मुताविक समायोजन गर्दै जाने नीति निगमकाे छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।