बिहीबार, असार ३२, २०८३

धार्मिक आस्थाको केन्द्र बडिमालिकामा पूजा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- मागेको वरदान पूरा हुन्छ भन्ने विश्वासले देशका बिभिन्न ठाउँहरुबाट बडीमालिका माताको दर्शन गर्न जानेहरु यति बेला बाजुरा जिल्लाको समुद्रीसतह बाट ४ हजार २ सय १६ मिटर उचाईमा रहेका बडीमालिका पुगिसकेका छन् । 

धार्मिक आस्थाको केन्द्र बिन्दु बडीमालिकामा प्रत्येक बर्ष जनैपूर्णिमाका दिन बिषेश पुजा हुने गर्दछ । आजको दिन सबै तिर्थालुहरु बडिमालीकाको टुप्पोमा पुगिसकेका हुन्छन् । बडीमालिका जानेहरुको लस्करले एकसाता अछाम र बाजुरका पहाडका बाटोहरु रङ्गी विरङ्गी देखिए । 

सात दिनको पैदल यात्रामा हजारौ भक्तालुहरु यात्रामा निस्किएका छन् । झरी होस् कि जाडो तीर्थालुहरु मौसमको खासै परवाह गर्दैनन् । १४ हजार फीट उचाईमा बडिमालिकाको यात्रालाई दुष्कर मानिन्छ । तर, माथि पुगिसकेपछि यात्राका सबै कष्ट भुलिने पुग्नेहरु बताउँछन् ।

स्कन्दपुराणमा उल्लेख भएअनुसार दक्षप्रजापतिको यज्ञमा महादेवकी अर्धाङ्गीनि सत्यदेवी होमिएर देह त्याग गरिसकेपछि महादेवले सत्यदेवीको मृत शरिरलाई बोकेर हिँड्दा मल्लागीरी पर्वतमा सत्यदेवीको एक अंग पतन भएर मालिकादेवि उत्पत्ति भएको र पछि मालिकादेवि शक्ति पीठ बडीमालिकाका रुपमा स्थापित भएको पाईन्छ । 

बादलभन्दा माथि बडीमालिका मन्दिर ४ हजार ७ सय मिटरको उचाइमा रहेको बडीमालिका अरू समयमा प्रायः सुनसान हुन्छ । ठाडो हेर्दैमा टोपी खस्ने भीर छ । त्यही भीरमा भारी बोकेर उकालो लाग्दै गरेका मान्छेहरुको लस्कर रहरलाग्दो देखिन्छ । सिमसिमे झरी होस या मुसलधारे पानी ! त्यसैमा कठ्याग्रिदो जाडो, केही प्रवाह छैन त्यहाँ पुगेकाहरुलाई । 

एकातिर धार्मिक आस्थाले प्रफुल्ल हृदय, अर्कोतिर त्यहाँको प्राकृतिक सौन्दर्यताले मुग्ध गरेपछि त्यस्ता झरी र वर्षाले के कुँड्याउथ्यो र मन ! धार्मिक आस्था र प्राकृतिक सुन्दरताको वयान गरी नसक्नु छ बडीमालिकाको । बडीमालिका पुग्ने भीर यस्तो थियो कि, बाटोमा एउटा मात्र पाइला राम्ररी अटाउँथ्यो । अर्को खुट्टाको समन्वय नमिले चिप्लेर गुल्टिने ! भीरमा हराइने, जंगलमा चिप्ला बाटामा पछारिँदै हिंड्नुपर्ने । 

ओरालो झर्ने बेलामा पनि बाटो पत्ता लगाउनै मुस्किल । ’सडक नभए पनि केबलकार बनाइदिए जोखिमले भरिएको उकालो र ओरालो हिंड्नुपर्दैन थियो,’ दार्चुलाका ज्ञानेन्द्र सिंहले भने । स्थानीयबासी भने यो बाटो सजिलै हिँडिरहेका थिए, सायद अभ्यस्त भएर होला । 

पहिलोपटक पुग्नेलाई भने मुटुमा ढ्यांग्रो ठोक्ने । बडीमालिका दर्शन र पूजाका लागि पहिले राजा त्यसपछि प्रधानसेनापति जेठ महिनामै पुग्ने गर्थे । अहिले पृतनापति जेठमै पुग्छन्, तर हेलिकप्टरमा । ‘उनीहरू पनि पैदल पुग्ने भइदिएको भए सडक सुविधा सहज बन्थ्यो कि,’ सिंहको भनाई छ । 

बडीमालिका माईको दर्शनका लागि देश विदेश बाट पनि तिर्थालु पुग्ने गर्दछन । विशेष गरी बाजुरा ,बझाङ्ग, अछाम, डोटी, डडेल्धुरा, बैतडी, हुम्लाबाट अत्यधिक तिथार्लु पुग्ने गर्दछन् । काठमाडौं, भारतको गडवाल लगायतका ठाउँबाट पनि दर्शनार्थी आउने गरेको मेला समितिले जनाएको छ । 

कसरी पुगिन्छ बडीमालिका ? 

बडीमालीकाको सौन्दर्य नियाल्न त्यति सजिलो भने छैन । धनगढीबाट बसको यात्रा गर्नुपर्छ । दोस्रो दिन सिलगढीदेखि बाजुराको तिपाडासम्म ५ घण्टाको जीप यात्रापछि जरङ्गामा बास बस्नु पर्दछ । र तेस्रो दिन करालीचौर हुँदै चौथो दिन बडीमालिकाको त्रिवेणी पुगिन्छ । र पाँचौं दिन बडीमालिका मन्दिर आफनो आरोहण गर्न सकिन्छ । 

बडीमालिका जान धेरै हिमालहरु ठुला ठुला पहाडमा चढेर जानु पर्दछ । उचाइमा भएका कारणले तिर्थयात्रुलाई र पर्यटकको यात्रा कठिन हुने गर्छ । कठिन यात्रा भएपनि रोमाञ्चक बन्ने गर्छ । जनै पूर्णिमा मेलामा अस्थायी पसलहरु हुन्छ । 

त्रिवेणी मन्दिरमा रहेको गंगा जमुना मन्दिरमा नुहाएर बडीमालिकाको दर्शन गर्ने परम्परा छ । मन्दिर दर्शन गरेर आठ घण्टाको ओरालो झरेर नाट्यश्वरी मन्दिरमा पूजा अर्चना गरेपछि भाकल पूरा हुने जनविश्वास छ ।

बडिमालिकामाइको दर्शन गर्नाले मनले मागेको कुरा पुरा हुने र जीवनको हरेक पाइलामा साथ पाइने धार्मीक विश्वास रहेको छ । जनैपूर्णिको अधिल्लो दिन चतुर्दशीका दिन बडिमालिका लगायत बाजुरा जिल्लाका बढालेक, बुढीनन्दा, दुनालेक, शाहिमाण्डौ, भवानीमाण्डौ लगाएतका क्षेत्रमा रहेका भगवतीका मन्दिरमा एकै साथ पुजा गरिन्छ । 

तीर्थालुहरुले चोखो तेलमा मात्र पाकेका खानेकुरा खाई यात्रा अवधिभर आधा दिन ब्रत बस्ने र भगवती कै ध्यान गर्ने गर्दछन् । यो गर्दा ‘दुखिलाई सुख, निसन्तानीलाई सन्तान, अनि गरीबलाई धन’ लाभ हुने धार्मिक विश्वास छ । यहि विशेषता र आस्थाका कारण बडीमालिका भगवितको दर्शनका लागि बाजुराका मात्र नभई अन्य जिल्लाका भक्तजनहरुले आ आफ्नै विश्वास र आशा बोकेर आउने पुजारी भानुझक्त पाध्यायले बताए ।

यो क्षेत्रको धार्मिक महत्वमात्र नभई एक सय ४० भन्दा बढी जातका फूल, एक सय ३० जातका जडीबुटी, ७० भन्दा बढी प्रकारका चरा, छ महिना चराचराउनका लागि उपयुक्त रहेका २२ वटा घाँसे मैदान, तीन वटा नदिको संगम रहेको पवित्र धाम त्रिवेणी र देशका दर्जैनौ जिल्लाहरुलाई नियाल्न सकिने अग्ला अग्ला हिमश्रृखलाहरु बडीमालिकाका मन लोभ्याउने प्रमुख बिषेशता रहेका छन् ।

धार्मिक, ऐतिहासिक र पर्यटकिय महत्वको गहना बडिमालिका क्षेत्रको विकासका लागि सरकारी पहल भने अझै भएको पाइदैन् । तीन वर्ष पहिले वन संरक्षित क्षेत्रको रुपमा घोषणा गरेपछि त्यसको कार्यान्वन भएको छैन् । सुख र खुसी प्राप्तीका लागि भन्दै दर्शनार्थीहरुले सुन चाँदी र अन्य बहुमुल्य गरगहना चढाउने गर्दछन, तर पनि ति समानको सरकारी ढुकुटीमा भने गएको देखिदैन । 

१४ हजार फिटभन्दा माथि रहेको बडीमालिका भगवतिको मन्दिरमा दर्शनार्थीहरुलाई बर्षा बाहेक अरु केही समस्या हालसम्म भएको छैन् । यहाँ बैशाख पूर्णिमा अर्थात गंगादशहराका बेला पनि पुजा लाग्ने र त्यस अवरमा नेपाली सेनाको विशिष्ठ अर्थात सरकारी अधिकारीबाट पुजा गर्ने गरिन्छ । उच्च लेकाली भेग भएकाले धेरैलाई लेक लाग्ने र बर्षेनी थुप्रैको लेक लागेर तथा चिफ्लिएर ज्यान जाने गर्दछ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।