बिहीबार, असार ३२, २०८३

हाई-प्रोफाइलको गुमनाम हत्या : अनुसन्धान चुनौतीपूर्ण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पूर्वराजदूत केशव झाको हत्याबारे महानगरीय प्रहरी अपराध महाशाखाले सुक्ष्म अनुसन्धान अगाडि बढाएको छ । उनको गत सोमबार बिहान धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

घटना रहस्यमय भएकाले गहिरो अनुसन्धान थालिएको महाशाखाले जनाएको छ । त्यसका लागि महाशाखाका एसएसपी धीरजप्रताप सिंहको नेतृत्वमा प्रहरीले घटनास्थलको पुनः जाँच थालेको हो ।

कसरी भयो हत्या ?

८३ वर्षीय झा फ्रान्सका लागि पूर्वराजदूत हुन् । अमेरिका र जर्मनीमा समेत कूटनीतिज्ञ रहेर काम गरेका थिए । अवकाशको समय उनी विभिन्न सामाजिक गतिविधिमा संलग्न थिए ।

फलफूलका पारखी उनी नियमित फलफूल खान्थे । र, घरमा आउने  पाहुनालाई पनि फलफूलबाटै स्वागत गर्थे । फलफूल काट्न प्रयोग हुने चक्कु निकै धारिलो हुने गरेको उनका सहकर्मी युवराज अधिकारी बताउँछन् । धारिलो चक्कु उनले आफू सुत्ने ओछ्यानको सिरानी मुनि राख्थे ।

अधिकारीले नियमित भेटघाटमा यस्तो धारिलो चक्कु ओछ्यानमै राख्न नहुने बताउँदै झालाई सम्झाउँथे । उनले भने कुनै फरक नपर्ने बताउँदै टार्ने गर्थे । सोही चक्कु उनको हत्यामा प्रयोग भएको छ । र, हत्याराले रगत लतपतिएको चक्कु छातिमा राखेर हिँडेका छन् ।
 

पूर्वराजदूत केशव झाको रहस्यमय हत्याकाण्डमा मिहिन अनुसन्धान गर्दै प्रहरी ।


चारैतिर कम्पाउन्ड रहेको झाको घर दक्षिणपूर्व फर्किएको छ । र, एउटा मात्र गेट छ । सोही गेटमा सुरक्षा गार्ड र घरको सहयोगी रहेका कान्छा तामाङ बस्दै आएका छन् ।

चारैतिरबाट बन्द झाको घरको माथिल्लो तलाको झ्याल काटिएको छ । त्यहींबाट हत्यारा घरभित्र पसेकोजस्तो देखिन्छ । तर, त्यसका लागि उनकी पत्नी ज्ञानुको कोठा हुँदै मात्र झा सुत्ने तल्लो तलामा पुग्न सकिन्छ । अन्यत्रबाट भित्र पस्ने सबै ढोका बन्द थिए । 

झा कुकर पाल्न सोखिन थिए । उनको घरमा भएको जापानिज जातको कुकुर पाहुना आउँदा ठूलो स्वरमा भुक्ने गथ्र्यो । तर, हालसम्म कसैलाई टोकेको छैन ।

झाको हत्या भएको रात कुकुरले कुनै प्रतिक्रिया नदिनु थप रहस्यमय भएकाले प्रहरीले घटनाको अनुसन्धान घर भित्रैबाट शुरु गरेको छ । अपराध महाशाखाले पत्नी ज्ञानु झा, उनका सहयोगी कान्छा तामाङ र मालीको काम गर्ने दुई जनासँग बयान लिइरहेको छ ।

झा ७५ वर्षीया पत्नी ज्ञानु र सहयोगी रहेका काभ्रे बनेपाका ४८ वर्षीय कान्छा तामाङसहित बस्दै आएका थिए ।

श्रीमतीसहित राति १० बजेको समाचार हेरेर भुईं तलामा सुतेका थिए, झा । बिहान रगतले लतपतिएको अवस्थामा मृत फेला परेका थिए । बबरमहलस्थित झाको निवास दुई तलाको छ । लामो समयदेखि श्रीमती पहिलो तलामा र श्रीमान् भुईं तलामा सुत्थे ।

सहयोगी तामाङ गेटसँगैको सानो कोठामा सुत्थे । सधैंझै नियमित खाना खाई टीभी हेरेपछि आ–आफ्नै कोठामा सुतेका उनीहरू यति ठूलो घटना हुँदा पनि अनभिज्ञ हुनुलाई प्रहरीले रहस्यमय मानेको छ । उनीहरू र कुकुरलाई बेहोस बनाएर झाको हत्या भएको हुन सक्ने पाटोमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

शिक्षित परिवारभित्रको गुमनाम हत्या

पूर्वराजदूत झाको परिवार आफैंमा शिक्षित परिवार हो । झा राजनीतिशास्त्रमा स्नातकोत्तर हुन् भने श्रीमतीले स्नातकसम्म गरेकी छन् । एक छोरा र एक छोरी दुवै डाक्टर हुन् ।

काठमाडौंको नरदेवीमा उनीहरूको पुख्र्यौली घर छ । यो परिवार सुरक्षाको विषयमा त्यति अनभिज्ञ पनि थिएन । एउटा हाई–प्रोफाइल परिवारमा भएको गुमनाम हत्याको छानविन प्रहरीका लागि थप चुनौती बनेको छ ।

झा परिवार आर्थिक रूपमा सम्पन्न पनि हो । पूर्वराजदूत झा हत्याको अघिल्लो दिनसम्म पनि सक्रिय जीवनमा थिए । उनका छोरा आयरल्यान्ड र छोरी पूर्वी टिमोरस्थित राष्ट्रसंघीय नियोगमा कार्यरत छन् ।

झा परिवारले केही दिनअघि बुढानीलकण्ठमा रहेको आफ्नो जग्गा बिक्री गरेको थियो । त्यसवापत आएको पैसा लुट्ने उद्देश्यका साथ हत्या भएको शंका पनि प्रहरीको छ । तर, झाको घरबाट कुनै सामान लुटिएको छैन । कम्पाउन्डबाट प्रहरीले बरामद गरेको प्लास्टिकको पञ्जाले घटना निकै योजनाबद्ध भएको देखाएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।