गौर- रौतहटको गौर नगरपालिका-४ स्थित टिकुलिया घाटमा डुंगा पल्टिँदा बेपत्ता भएकामध्ये अाइतबार बिहानसम्ममा २१ जनाको जीवितै उद्धार गरिएको छ।
डुंगामा सवार करिब १९ जनाको अवस्था भने अझै अज्ञात छ। करिब ४० जना सवार रहेको डुंगा शनिबार साँझ लालबकैया नदीमा पल्टिएको थियो।
बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको जिल्ला प्रहरी रौतहटका प्रहरी प्रमुख एसपी केदार ढकालले जानकारी दिए। शनिबार राति २ बजेसम्ममा २१ जनाको उद्धार गर्न सफल भएको भएको र अाज बिहान ५ बजेबाट पुनः उद्धारका लागि टोली खटिसकेको उनले जानकारी दिए।
बेपत्ता भएकाहरू बगेर भारतीय क्षेत्रमा पुगेको हुनसक्ने आशंकाले भारतीय पक्षसमेत खोजीका लागि प्रहरीले सहयोग मागेको छ। एसपी ढकालका अनुसार भारतीय पक्षले पनि बिहानैबाट खोजीलाई तीव्रता दिएको छ।
हराइरहेकाहरूको खोजीका लागि पौडीबाज सुरक्षाकर्मीसहित विपद व्यवस्थापन टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। डुंगामा महिला पनि सवार रहेको आशंका गरिए पनि कति महिला र कति पुरुष थिए भन्ने यकिन हुन नसकेको उनले बताए।
पप्पु कन्ट्रक्सनले निर्माण गरिरहेको पुलको पिल्लरमा ठोकिएर डुंगा पल्टिएको एसपी ढकालले नेपाल समयलाई जानकारी दिए। उनका अनुसार पुलका लागि बनाइएको पिल्लर आधामै छाड्दा पिल्लर बाढीले डुबाएको र डुंगा चालकले साँझको समयमा ठम्याउन नसक्दा दुर्घटना भएको हो।
पप्पु कन्ट्रक्सनले चार वर्ष अघिदेखि शुरु गरेको काम बीचमै अलपत्र छाड्दा दुर्घटना भएको स्थानीय बासिन्दाको आरोप छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४