काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कञ्चनपुर घटनामा संलग्न दोषी तत्काल पत्ता लगाइ कडा कारवाही गर्न निर्देशन दिएको छ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुटारमा बसेको नेकपाको सचिवालय बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो।
महासचिव विष्णु पौडेलका अनुसार शंकाको घेरामा रहेकालाई छानविनको दायरामा ल्याउन सरकारलाई निर्देशन दिइएको हो। बैठकले छानविनको दायरामा ल्याई दोषी ठहर भएकालाई कडाभन्दा कडा कारवाही गर्न सरकारलाई निर्देशन दिएको उनले बताए।
गत १२ साउनमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। भीमदत्त नगरपालिका-१८ निम्बुखेडास्थित उखुबारीमा हत्या गरी फालिएको अवस्थामा निर्मलाको शव भेटिएको थियो।
उनको बलात्कारपछि हत्या गरेको भन्दै सोमबार जिल्ला प्रहरी कञ्चनपुरले भीमदत्त-१९ बागफाँटाका ४१ वर्षीय दिलिपसिंह बिष्टलाई सार्वजनिक गरेको थियो। विष्ट मानसिक अवस्था ठीक नभएको व्यक्ति रहेको जनाउँदै स्थानीय बासिन्दाले प्रहरीले निर्मलाको वास्तविक हत्यारा पत्ता लगाउन नसकेको आरोप लगाएका छन्।
स्थानीय बासिन्दाले दोषी पत्ता लगाउन प्रहरीले तदारुकता नदेखाएको भन्दै निरन्तर प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनकै क्रममा प्रहरीले शुक्रबार गोली चलाउँदा एक १७ वर्षीय किशोर सन्नी खुनाको मृत्यु भएको छ। अन्य नौ जना घाइते भएका छन्। प्रहरी दुर्इ दिनअघि पनि गोली चलाएको थियो। गोली लागी एक जना घाइते भएका थिए।
आक्रोशित स्थानीय बासिन्दाले हत्यारा पत्ता नलागेसम्म निरन्तर प्रदर्शन गर्ने बताउँदै आएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि दोषी पत्ता लगार्इ कडा कारवाही गर्न जोडदार माग गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४