इटहरी- तराईमा हपहप गर्मी छ । मान्छेहरू शीतल र रमणीय स्थान खोजिरहेका छन् । खासगरी, गर्मी छल्न सकिने र मन मज्जाले भुलाउन सकिने स्थानकै रूपमा चर्चामा छ, धनकुटाको भेडेटार ।
पूर्वी तराई र सीमावर्ती भारतीय राज्यहरू विहार र पश्चिम बंगालका पर्यटकहरूले पनि गर्मी छल्ने गन्तव्य भेडेटार बनाउन थालेका आजकाल । तराईमा हुस्सु लाग्दा घाम ताप्न र प्रचण्ड गर्मी हुँदा शीतल ताप्न भेडेटार चर्चित छ ।
धरानबाट १७ किलोमिटरमाथिको नागबेली बाटो हुँदै ३० मिनटमा पुगिने यो 'हिल स्टेसन' समुद्री सतहबाट १४ सय २० मिटरदेखि १७ सय पाँच मिटरको उचाइमा भेडेटार फैलिएको छ । तराईका बासिन्दालाई पहाडमा उब्जेका तरकारी तथा फलफूलहरू खरिद गर्न पनि भेडेटार चर्चित बन्दैछ ।
छिनमै हावा चल्ने, छिनमै बादल कुद्ने अनि हिमाल, पहाड, तराई हुँदै भारतको विहारसम्म देख्न सकिने सुन्दर हिल स्टेसन हो यो । पछिल्ला वर्षमा आसपासका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरूको 'ट्रान्जिट' पनि बनेको छ । खान, बस्न, सेमिनार र गोष्ठीका लागि सुविधासम्पन्न ४५ वटा होटेल छन् । त्यसबाहेक, भेडेटार आसपास अन्य आकर्षक पर्यटकीय गन्तव्य पनि छन् । यी हुन भेडेटार आपसपासका पुग्नैपर्ने विभिन्न नौ स्थानहरू :
१) पाथीभरा मन्दिर
भेडेटार बजारदेखि पश्चिमतर्फ आधा घण्टाको पैदल दूरीमा छ, पाथीभरा मन्दिर । ताप्लेजुङमा पर्ने प्रसिद्ध पाथीभरा देवीको शाखाका रूपमा स्थापना गरिएको यस मन्दिरमा दिनहुँ सयौं भक्तजन पुग्छन् । भारतीय भक्तजनहरूको पनि भीड लाग्न थालेको छ ।
मंगलबार र शनिबार यस मन्दिरमा दर्शनार्थीहरूको विशेष भीड हुन्छ । यस मन्दिरमा पुगेर भाकल र पूजापाठ गरेमा चिताएको पूरा हुने जनविश्वास रहिआएको छ ।
२) नाम्जे गाउँ
समुद्री सतहबाट १७ सय ७० मिटर उचाइमा रहेको यो गाउँ भेडेटार बजारबाट मात्र अढाइ किमि माथि पर्छ । ९७ प्रतिशत मगर जातिको बसोवास रहेको यहाँका छुट्टै भाषा, संस्कृति र परम्परा पाइन्छ ।
नेपालभरिकै मगरहरूको मौलिक संस्कृति हुर्रा नाचिन्छ यहाँ । उत्तरमा मकालु, कञ्चनजंघा, कुम्भकर्ण, सगरमाथालगायत हिमालहरूको दृश्यसँगै दक्षिणमा तराईका धरान, इटहरी अनि सप्तकोशीका साथ क्षितिजमा सूर्यास्तको दृश्य हेर्न सकिन्छ ।
डाँडैभरि एफएम, रेडियो नेपाल, टेलिभिजन तथा टेलिकम सेवा प्रदायक कम्पनीका टावरका लस्करहरूले सुन्दर बनाएका छन् । अनि प्रसिद्ध अमेरिकी आर्किटेक्ट त्राभिस प्राइसको टोलीले १२ दिन लगाएर विश्वको सत्रौं अचम्मको घर तयार पारेका छन् । त्यस घरमा मगर जातिका पुर्खाहरूको लास गाडिएका दुई सय १३ वटा चिहानमा भएको ढुंगालाई संकलन गरी सामूहिक चिहान बनाइएको छ । यसलाई आत्मा बस्ने घर नामाकरण गरिएको छ ।
केही वर्षअघि अमेरिकी समाचार संस्था सीएनएनले नाम्जेलाई विश्वको बाह्रौं गन्तव्यको सूचीमा समेत राखेको थियो । अहिले यस गाउँमा होम स्टेको सुविधा पनि थपिएको छ ।
३) सायोक यक अर्थात् साँगुरी गढी
आठ अपुंगी लिम्बू राजा अर्थात् ऐतहाङ शासनको अन्त्यपछि थिवोङहाङ अर्थात् १० लिम्बूवान विजयपछि सायोक हाङले आफ्नो यक अर्थात् गढी राखेको स्थान नै सायोक यक अर्थात् साँगुरी गढी हो । यस कारण यो स्थान लिम्बू जातिको सामरिक महत्वको स्थल हो ।
यहाँ ढुंगाका कोठा भएका १० वटा किल्ला छन्, जहाँ त्यतिबेलाका यक तुम्बा अर्थात् गढीका नाइकेहरू बस्थे । अहिले पनि ती किल्लाका अवशेषहरू छँदैछन् । ती ढुंगा त्यहाँका नभई धरान फुस्रेछेउ तामाखाम खोलाबाट लगिएका हुन् । यस डाँडाबाट धरानसहित पूर्वी तराईका अधिकांश स्थान देख्न सकिन्छ ।
४) सिङसिवा (नमस्ते) झरना
भेडेटार बजारबाट आठ किमि धरान-धनकुटा सडकको उत्तरपूर्वमा बग्ने सिङसिवा खोलाको शीर अर्थात् नमस्ते झरना पछिल्ला दिनमा यस क्षेत्रका बासिन्दाको आकर्षणको केन्द्र बनेको छ । करिब ८० मिटर माथिबाट खस्छ, यो झरना ।
भेडेटार बजारबाट १५ मिनटमा पुग्न सकिन्छ । भारतीय पर्यटकमाझ पनि लोकप्रिय बनेको छ । तर, केही समयअघिको एक दुर्घटनाका कारण पुनर्निर्माण गर्नु परेकाले अहिले आगन्तुकहरूलाई निषेध गरिएको छ ।
५) भेडेटार भ्यू टावर (शैलुङ डाँडा)
भेडेटार बजारको पश्चिमपट्टीको थुम्कोलाई शैलुङ डाँडा अर्थात् चाल्र्स पोइन्ट भनिन्छ । ०३८ सालमा बेलायतका युवराज चाल्र्सले यो थुम्को चढेर बस्ने ठाउँ 'प्याराफिट'समेत निर्माण गरिदिएका थिए ।
यस भ्यू टावरबाट धरान बजार, इटहरी, विराटनगर, कोशी ब्यारेज, कुम्भकर्ण, मकालु, कञ्चनजंघा र सगरमाथा हिमालका साथैै सूर्यास्त पनि देख्न सकिन्छ । दृश्यावलोकनका लागि यो टावरलाई अति उपयुक्त स्थान मानिन्छ । बाइनाकुलर वा दूरबिनबाट प्रदेश-१ का सबैजसो जिल्ला देख्न सकिन्छ । १२ वैशाख ०७२ को भूकम्पले क्षति पुर्याएका कारण अहिले यसको पुनर्निर्माण भइरहेको छ ।
६) ध्वजेडाँडा

साँगुरीगढी गाउँपालिका-६ मा पर्छ, ध्वजेडाँडा । यस डाँडाको उचाइ सात हजार फिट छ । डाँडाबजारको दृश्यका साथै तमोर नदीको नागबेली आकार र एसियाको ठूलो बरको रुख पनि यहाँबाट देख्न सकिन्छ । तराईका फाँटहरूको दृश्यावलोकन पनि गर्न सकिन्छ ।
यहाँबाट पनि कुम्भकर्ण, मकालु, कञ्चनजंघा र सगरमाथा हिमालका साथै प्रदेश-१ का सबै जिल्ला देख्न सकिन्छ । डाँडाबजारबाट सिँढी चढ्दै एक घण्टामा चुचुरोमा पुग्न सकिन्छ । यहाँ केही होटेल र होमस्टेको सुविधा पनि उपलब्ध छ । गाडीको सुविधाका साथै भेडेटारबाट तीन घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ ।
७) ओख्रे भ्यू टावर
ओख्रे भ्यू टावर साँगुरीगढी-५ मा पर्छ । भेडेटारबाट राजारानी हुँदै पूर्वतर्फ ६ किमि दूरी पार गरेर यहाँ पुग्न सकिन्छ । हिमाल, पहाड र तराई एकनास देख्न सकिने यो टावरमा पुग्दा तुफानसहित हावाले सबैमा रोमाञ्चक बनाउँछ ।
८) राजारानी ताल
यो ताल समुद्री सतहबाट करिब १५ सय मिटर उचाइमा छ । प्रदेश-१ को एक आकर्षक ताल हो यो । जमिनभित्रबाट उम्रिएको पानी नै यस तालको स्रोत हो । तालको बीचमा कमल फुलेको देख्न सकिन्छ । रानीताल र राजातालको नाम लिम्बू भाषाबाट मावावरक र पावावरक भन्ने गरिन्छ । मावावरकको अर्थ रानीधाप र पावावरकको अर्थ राजाधाप वा पोखरी हुन्छ ।
अहिले रानीधापलाई रानीताल बनाइएको छ भने राजाधापलाई खेतको रूपमा मात्र प्रयोग गरिएको छ । यस तालको केही तल डुडे दह र काली दह पनि हेर्न लायक छन् । यो तालबाट निकास हुने पानीबाट बनेको झरना पनि आकर्षक छ ।
यहाँ पुग्ने पर्यटकले बोटिङ र फिसिङको मनोरञ्जन लिन सक्छन् । भेडेटारबाट पाँच घण्टा पैदल र मोटरबाट एक घण्टामा पुग्न सकिन्छ, यहाँ । केही होटेल र होमस्टेको व्यवस्था पनि छ ।
९) विश्रान्ति मन्दिर
विश्रान्ति मन्दिर धार्मिक स्थल तथा वृद्धाश्रम हो । यहाँको वृद्धाश्रममा ५० भन्दा बढी वृद्धवृद्धा बसिरहेका छन् । उनीहरूको स्वास्थ्योपचार र स्याहार-सुसारका लागि विशेष व्यवस्था गरिएको छ ।
तमोर नदीको किनार र आकर्षक पुलको दृश्यले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई यो स्थानमा एकैछिन नभुलाई छाड्दैन ।
तमोर नदी ताप्लेजुङको ओलाङचुङगोलाबाट नागबेली स्वरूपमा बग्दै आएको छ । धरान-धनकुटा सडकछेउमा पर्छ, विश्रान्ती मन्दिर । हाल तमोर पुल नजिकबाट बराहक्षेत्र र चतरासम्म र्याफ्टिङ सञ्चालनमा ल्याइएको छ ।