शुक्रबार, साउन १, २०८३

लुभुको लाइफ लाइनमा किन लापरवाही ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
ललितपुर- महालक्ष्मी नगरपालिकाको गोदावरी खोलाको पुल सडक विस्तारका लागि भन्दै ६ महिनाअघि भत्काइयो। हालसम्म नयाँ पुल निर्माण नहुँदा लुभु क्षेत्रको दैनिक जीवनमै समस्या आएको छ।

नयाँ निर्माण थाल्ने सुरसारसम्म देखिँदैन। शान्ति निर्माण कम्पनीले नयाँ पुल बनाउने ठेक्का पाएको छ। 'ठेकेदारको चरम लापरवाहीका कारण अझै पुल बन्न नसकेको हो,' महालक्ष्मी-८ का वडाध्यक्ष विश्वराज श्रेष्ठ भन्छन्।

स्थानीय बासिन्दाका अनुसार ०२३ सालतिर उक्त पुल निर्माण भएको थियो। पुरानो भएकाले सवारी साधन आउजाउ गर्दा हल्लिन भने थालेको थियो। महालक्ष्मी नगरपालिकाका ५, ६, ७ र ८ गरी चार वटा वडाको केन्द्रमा पथ्र्यो।

स्थानीयवासीका गुनासै गुनासा

पुल नहुँदा खोलाबाटै आउजाउ गर्नुपर्छ, अहिले। २० साउन रातिको बाढीमा परी एउटा कार नै बगेको थियो। चालकको ज्यान मुस्किलले बच्यो। 

२१ साउनमा वैकल्पिक बाटो हुँदै लगनखेलबाट लुभुतर्फ जाँदै गरेको बस खेतमा पल्टियो। सोही बसमा यात्रारत रुक्मणि गौतमलाई त्यो दुर्घटनाले अहिले पनि झस्काइरहन्छ। उनी भन्छिन्, 'सरकारी निकायलाई हाम्रो समस्याप्रति वास्ता नै छैन।'

सडक फराकिलो हुने कुराले स्थानीय बासिन्दा थोरै दिनको समस्या बेहोर्न तयार पनि नभएका होइनन्। तर, 'लाइफ लाइन' मानिएको पुल निर्माणको सुरसार नै नहुँदा उनीहरू हैरान छन्। उनीहरू भन्छन्, 'समयमा बनाउन सकिँदैनथ्यो भने पुल भत्काउन किन हतार भएको ?'

डीएभी कलेजमा कक्षा-११ का विद्यार्थी हुन्, निरज साउद र मल्लिका ऐर। उनीहरू दिनहुँ बस कुर्छन् तर आउने-नआउने ठेगान हुँदैन। खोला बढ्यो भने बस पारिपट्टि नै रोकिन्छ। पानी कम भए मात्र बस चढेर विद्यालय जान पाउँछन्। बस नआए समयमा विद्यालय पुग्न पाउँदैनन्।
 
पुरानो पुल भत्काएर नयाँ नबनाउँदा लुभु क्षेत्रका बासिन्दाले समयमा अस्पताल पुग्न नपाई अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ।

स्थानीय डन बस्को स्कुल २१-२२ साउनमा बाढीका कारण पठनपाठन नै बन्द गर्‍यो। विद्यार्थी खोला तर्नै समस्या भएपछि विद्यालय बन्द गर्नुको विकल्प थिएन।

स्थानीय बालकृष्ण श्रेष्ठ झिसमिसेमै कालीमाटी पुगेर तरकारी ल्याउँछन्। सीधै खोलामा पसेर आउजाउ गर्न कठिनाइ भएको उनी बताउँछन्। पुलकै कारण तरकारी व्यवसायमा घाटा सहनुपरिरहेको छ, उनले। खासगरी, दिनभर कमाएर साँझबिहानको गर्जो टार्नुपर्ने वर्गका परिवार बढी समस्यामा छन्। 

अहिले लुभुका बासिन्दाले विष्णुडोल, चाँगाथली, टीकाथली र ग्वार्को या बालकोट हुँदै भक्तपुरको दुई वटा घुमाउरा वैकल्पिक बाटो प्रयोग गरिरहेका छन्। १५÷२० मिनटमा पुगिने गन्तव्यमा अहिले कम्तिमा एक घण्टा लाग्छ।

विन्दु साउद पेशाले व्यापारी हुन् र गृहिणी पनि। पुल नभएका कारण छोराछोरीलाई समयमा स्कुल पठाउन समस्या भएको उनी बताउँछिन्। स्थानीय धनबहादुर महर्जनलाई स्वास्थ्य जाँचका लागि हरेक महिना अस्पताल पुग्नुपर्छ। पुल नहुँदा उनले सास्ती बेहोर्नु परिरहेको छ। खोलामा गाडी फस्ने समस्या लुभुका सबैजसोले भोगिसकेका छन्।

गोदावरी पुल लुभु क्षेत्रका बासिन्दाको दिनचर्याको एक अभिन्न अंग थियो। सयौं स्थानीय बासिन्दा सोही पुलबाट शहरतिर आउजाउ गर्थे। त्यस क्षेत्रका बासिन्दाका लागि दैनिक उपभोग्य सामग्री ओसारपसारमा पनि सोही पुलले सहज बनाएको थियो।


टेलिकमलाई दोष

पारिवारिक समस्याका कारण लामो समय सम्पर्कविहीन भएका ठेकेदार अहिले काममा फर्किने क्रममा छन्। तर, नेपाल टेलिकमले टेलिफोन तार र अप्टिकल फाइबर असरल्ल छाडेका कारण काम थाल्न समस्या भएको बताउँदै आएका छन्।

टेलिकमले सडक विस्तारका क्रममा व्यवधान हुन सक्ने आफ्ना पोलहरू हटायो। तर, तार अलपत्र छाडिदियो। पुल निर्माणस्थल नजिक थुपारिएको अप्टिकल फाइबर हटाएको छैन अझै। 

डिभिजन सडक कार्यालयका इन्जिनियर ज्ञानेन्द्र कलौनीका अनुसार वर्षा सकिनासाथ पुल निर्माण थाल्न गत असारमा सहमति भएको छ। तर, टेलिकमकै कारण काम थाल्न समस्या हुन सक्ने उनी बताउँछन्। पटक-पटक लिखित ताकेता गर्दा पनि टेलिकमले निर्माणस्थलबाट तार हटाउन चासो नदिएको कलौनीको भनाइ छ।

टेलिकमको जावलाखेलस्थित कार्यालयका प्रमुख सुरतबहादुर मल्लका अनुसार 'अन्डरग्राउन्ड अप्टिकल फाइबर'को व्यवस्थापन सहज छैन। १२ सय पेयरका दुई वटा केबल र लुभुसम्मको फाइबर लिंक सोही ठाउँबाट लगिएको छ। फाइबर व्यवस्थापनका लागि अझै करिब एक महिना लाग्ने उनी बताउँछन्।

जनश्रुतीअनुसार लुभु भन्नाले सुनको थाल बुझिन्छ। नेपाल संवत ६७२ तिर तत्कालीन गंगा महारानीले त्यस क्षेत्रका बासिन्दाको रोग हटाउन सुनको थाल बिक्री गरेर खर्च जोहो गरेको विश्वास रहिआएको छ। पुरानो पुल भत्काएर नयाँ नबनाउँदा त्यस क्षेत्रका बासिन्दाले फेरि अस्पताल पुग्न नपाई अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आएको छ।

२५ मिटर लामो चार लेनको पुल निर्माणपछि सबै समस्याबाट पार पाउने स्थानीय बासिन्दाको आशा भने अन्योलमै परेको छ। २८ असार ०७४ मा भएको सम्झौताअनुसार ११ साउन ०७६ सम्ममा उक्त पुल निर्माण भइसक्नुपर्छ। १० करोड ६२ लाख रुपैयाँको सम्झौता कहिले पूरा होला ? स्थानीय बासिन्दाको ओठमै झुण्डिएको जिज्ञासा हो यो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।