काठमाडौं- राजधानीबाट प्रकाशित शनिबारका अधिकांश राष्ट्रिय दैनिक अखबारहरुले कञ्चनपुरमा भएको प्रदर्शनमा प्रहरीले गोली हान्दा एक जनाको मृत्यु भएको विषयलाई मुख्य समाचार बनाएका छन् ।
आजको कान्तिपुरले 'बलात्कारपछि हत्या प्रकरण : प्रहरीको गोलीले किशोरको मृत्यु' शीर्षकमा मुख्य समाचार छापेको छ भने अन्नपूर्णले 'कञ्चनपुरमा फेरि हिंसा : एक किशोरकोे मृत्यु' शीर्षकमा खबर लेखेको छ । नयाँ पत्रिका दैनिकले भने पनि प्रहरीको गोलीबाट किशोरको मृत्यु भएको खबरलाई नै प्राथमिकतामा पारेको छ । उसले फास्ट ट्रयाकमा काम गर्न भन्दै प्रधानमन्त्रीले ठाडो निर्देशनमा दिएको खबर पनि प्राथमिकता साथ छापेको छ।
किशोरीको बलात्कार पछि हत्या भएको घटनामा प्रहरी अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा एकजनाको मृत्यु भएको छ । महेन्द्रनगर भगतपुरका १४ वर्षीय सन्नी खुन्नाको मृत्यु भएको हो ।
प्रहरीको लागोली लाठी चार्जबाट २४ जना घाइते भएका छन् भने ७ जनालाई गोली लागेको आजका पत्रपत्रिकाले लेखेका छन् । गोलीकान्डपछि प्रहरीले शुक्रबार रातीबाट अनिश्चित कालकालागि कफ्यु लगाएको छ ।
घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयको उच्चस्तरीय छानविन समिति महेन्द्र नगर पुगेको खबर आजको कान्तिपुरले लेखेको छ । उसका अनुसार समितिले शुक्रबारदेखि नै विभिन्न सरोकारवाला निकायसंग छलफल सुरु गरेको छ ।
आजको अन्नपूर्णले भने प्रहरीको गोली लागेर किशोरको मृत्यु भएको विषयसंगै प्रतिनिधिसभाले महिला हिंसा अन्त्यको संकल्प प्रस्ताव पारित गरेको विषयलाई प्राथमिकताका साथ छापेको छ । प्रतिनिधि सभाले महिला माथिका बलात्कार, हत्या, हिंसा र शोषणका घटनालाई अन्त्य गर्न सकल्प गरेको हो ।
अन्नपूर्णले अब कर्मचारीले हातपात गरे सिधै बर्खास्त हुने गरि नियम बन्न लागेको खबर लेखेको छ । बन्दै गरेको संघीय निजामती विद्येयकमा यस्तो प्रावधान राखेको समाचारमा जनाइएको छ ।
विद्येयकमा अब कर्मचारीको उमेर हद ६० वर्ष हुने, अधिकृतमाथि खुल्ला प्रतिस्पर्धा नहुने, समावेशीमा नयाँ व्यवस्था गर्ने, ट्रेड युनियन रहनेसहितका प्रावधान राखिएको समाचारमा उल्लेख छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४